शान्ति, सुरक्षा र सुशासनका आधारस्तम्भका रूपमा परिचित प्रहरी संगठनप्रतिको जनआस्था पछिल्लो समय गम्भीर ढंगले खस्कँदै गएको छ । जनताको करदाताबाट सञ्चालन हुने र “सत्य सेवा सुरक्षणम्“ को नारासहित क्रियाशील प्रहरी प्रशासनले आज आफैंभित्र विश्वासको संकट भोगिरहेको छ । राजनीतिक हस्तक्षेप, आन्तरिक कमजोरी, भ्रष्टाचार र पेशागत असन्तुष्टिका कारणले संगठनप्रति जनताको भरोसा मात्र होइन, संगठनभित्र कार्यरत सुरक्षाकर्मीको मनोबलसमेत कमजोर बन्दै गएको चिन्ताजनक अवस्था छ ।
एकातर्फ जनताले प्रहरी प्रशासनबाट निष्पक्ष सेवा, अपराध नियन्त्रण र शान्ति सुनिश्चितताको अपेक्षा राखेका छन्, अर्कोतर्फ प्रहरी राजनीतिक दलका नेताहरूको स्वार्थअनुसार सञ्चालन हुने गोटीमा परिणत भइरहेको छ । राजनीतिक दलका नेता मन्त्री वा अन्य पदीय जिम्मेवारीमा पुगिरहँदा तिनीहरुले साँधेका राजनीतिक प्रतिशोधमा सामेल भईदिँदा आम नागरिकले प्रहरीप्रति गरेको विश्वास दिनप्रतिदिन खस्कँदै गईरहेको देखिन्छ । ७ वर्ष अगाडि घटेको घटना निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, चर्चित राजनीतिक व्यक्तित्वमाथि हुने कारबाही प्रक्रिया, र संगठनभित्र मौलाउँदै गएको घुसखोरी, कमिशनतन्त्र, विभेद तथा सेटिङ प्रवृत्तिले प्रहरीप्रतिको विश्वसनीयता गुमाउँदै गएको स्पष्ट देखिन्छ ।
विशेषगरी तल्लो तहमा कार्यरत प्रहरीहरू अत्यधिक कार्यदबाब, न्यूनतम सेवासुविधा र नेतृत्वद्वारा गरिने अवहेलना भोगिरहेका छन् । पोशाक, आवास, रासनदेखि प्रवद्र्धनसम्मको विषयमा देखिएको असमानताले संगठनभित्रै निराशा बढाइरहेको छ । यही कारणले गर्दा पछिल्लो वर्षमा मात्र करिब २,४०० जनाले राजीनामा दिएको तथ्यले संगठनभित्रको आन्तरिक असन्तुष्टिको गहिरो संकेत गर्छ।
यसका अलावा, वैदेशिक रोजगारीतर्फ युवाशक्ति आकृष्ट हुनु, छिटो आर्थिक उपलब्धि हासिल गर्ने लालसा, र प्रहरी सेवाको घट्दो सामाजिक प्रतिष्ठाले समेत प्रहरी सेवा विरुद्धको मनोवृत्ति बढाएको छ। विडम्बना त के भने, संगठनले गरेका सयौं सफल अनुसन्धान र सेवाभन्दा पनि थोरै कमजोरीहरूले संस्थाको समग्र छविमा धक्का पु¥याइरहेका छन् ।
नेपाल प्रहरीले विपद् व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय शान्ति मिसनसम्मका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरे पनि आन्तरिक सुधारका प्रयास भने कमजोर देखिएका छन् । “सुडान घोटाला“ जस्ता घटनाहरूले अझैसम्म संगठनको साखमाथि कालो धब्बा बनिरहेका छन् ।
यो अवस्था केवल प्रहरी संगठनको असफलता नभई राज्य व्यवस्थाको नीतिगत कमजोरी पनि हो । प्रहरीलाई केवल आदेश पालक होइन, नागरिक सुरक्षाका संवेदनशील र गरिमायुक्त अंगका रूपमा व्यवहार नगरेसम्म सुधारको अपेक्षा गर्नु व्यर्थ हुनेछ । तल्लो तहका सुरक्षाकर्मीहरूका लागि आधारभूत सेवासुविधाको सुनिश्चितता, पारदर्शी पदोन्नति प्रक्रिया, भ्रष्टाचारको अन्त्य, र राजनीतिक हस्तक्षेपविहीन वातावरण अपरिहार्य बनेको छ ।
समस्या गहिरिँदै जाँदा यसलाई सुधारको अवसरका रूपमा लिन सक्नु सकारात्मक पहल हुनेछ । यसले संगठनलाई आत्ममूल्यांकन गर्न, संरचना पुनर्संरचना गर्न र सेवा भावको पुनस्र्थापना गर्न उत्प्रेरित गर्न सक्छ । प्रहरी सेवामा पुनः जनविश्वास कायम गर्नका लागि आवश्यक छ—सिस्टमलाई सुधार गरियोस्, नेतृत्व सक्षम बनाइयोस् र प्रहरी सेवामा काम गर्न चाहने युवाशक्तिलाई प्रेरित गर्ने वातावरण बनाइयोस्।
देशको सुरक्षात्मक संरचना बलियो बनाउन प्रहरीमाथिको भरोसा कायम राख्नु आजको अपरिहार्य राष्ट्रिय आवश्यकता हो। प्रहरीको शीर फेरि गर्वका साथ उठोस्, जनताले प्रहरीलाई सम्मानका साथ हेर्न सकून्, यही नै सम्पूर्ण प्रहरी संगठन र राष्ट्रका लागि सुभसंकेत हुनेछ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो