इटहरी । यही माघ १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘द ब्ल्यु लाइट’ को प्रचारप्रसारका क्रममा इटहरीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चलचित्रका सहायक निर्माता भोलानाथ कटुवाल तथा बाल कलाकार गृष्मा कटुवालको उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनमा सहायक निर्माता कटुवालले चलचित्रको कथावस्तु पारिवारिक झगडाका कारण साना बालबालिकामा पर्ने मानसिक र भावनात्मक असरमा केन्द्रित रहेको जानकारी दिए। बाबाआमाको साथ र माया नपाएकी एउटी बालिकाको पीडादायी जीवनकथालाई चलचित्रले मुख्य रूपमा प्रस्तुत गरेको उनले बताए। ‘द ब्ल्यु लाइट’ माघ १६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने कटुवालले जानकारी गराए।
त्यसैगरी बाल कलाकार गृष्मा कटुवालले आफू वास्तविक जीवनमा बाबाआमा र परिवारसँग मेलमिलापपूर्ण वातावरणमा हुर्किएकाले चलचित्रको पीडादायी भूमिकामा अभिनय गर्न चुनौतीपूर्ण भएको बताइन्। तर, त्यस्तै भावनात्मक चलचित्रहरू हेरेर र कथामा डुबेर आफूले भूमिकालाई न्याय दिन सफल भएको उनको भनाइ थियो।
काठमाडौं आसपासका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा अभिनेत्री बेनिसा हमाललगायतका कलाकारहरूको अभिनय रहेको सहायक निर्माता कटुवालले जानकारी गराए। पारिवारिक सम्बन्ध, बाल मनोविज्ञान र सामाजिक यथार्थलाई उजागर गर्ने उद्देश्यका साथ निर्माण गरिएको ‘द ब्ल्यु लाइट’ दर्शकका लागि सन्देशमूलक चलचित्र हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो