अच्युत घिमिरे
०५९ यता सुमित्रा वाड्ङ्गेल ’चेली’ सँग चिनजान भयो । त्यसपछिका दिनहरूमा मैले उहाँलाई मिलनसार साहित्यकारको रूपमा चिनेको छु । इमकमा कहिलेकाहीं साहित्यिक कार्यक्रमहरू हुन्थेः कार्यक्रम सिद्धिएपछि दान खालिङ, चूडामणि रेग्मी, पुण्यप्रसाद खरेल, कृष्ण धरावासी, हिरा आकाश आदि झापामा नाम कमाइसक्नुभएका साहित्यकार बाक्लै चेलीको घरमा जानुहुन्थ्यो । विस्तारै मैले बुझें, चेलीको बोलीचाली र आतिथ्य सत्कारले तानेको रहेछ उहाँहरूलाई । म जाने गर्थे कहिलकाहीं उहाँकोमा, नौनीजस्तो नरम व्यवहार हुन्थ्यो उहाँको । विस्तारै झापाली साहित्यमा चेली चर्चामा आउन थाल्नुभयो । यसपछि त झन उहाँप्रति बढी चासो हुन थाल्यो र बुझै मैले, चेली निरन्तर लेखिरहने र साहित्यिक गतिविधिमा सहभागी हुन मन पराउनुहुँदोरहेछ। उहाँको साहित्यलेखन, सम्पर्क र प्रकाशनमा निरन्तर क्रियाशीलताले गर्दा छोटो अवधिमा चेली झापाली साहित्यमा आफ्नो स्थापित अनुहार देखाउन सफल हुनुभएको छ ।
चेलीलाई देख्दा म सधैं गम्भीर देख्छु। यस्तो लाग्छ मलाई, उहाँको मनभित्र अथाह पीडा लुकेको छ । आगन्तुकहरूसँग कम बोल्ने, चत्ताहिँदो बोल्ने, मनले खाएकालाई अन्धो भएर विश्वास गर्ने, अन्तर्मुखी स्वभावको व्यक्ति देखेको छु चेलीलाई पढिरहँदा मैले । उहाँ सृजनामा चाहिँ खुलेर देखिनुहुन्छ । मैले उहाँका सृजनाहरू पढ्दै जाँदा वेजोड कल्पनाले भरिएकी साहित्यकार देखें चेलीलाई। कल्पनाशील व्यक्तित्व जसले ठाउँ पाए भने केही गर्न सक्छन् । मैले चेलीभित्रको साहित्यिक सृजनाले उर्वरता पाइरहेको भेटेको छु यसवेला ।
वि.सं. २०२४ असोज ९ गते शान्तिडाँडा–५, इलाममा पिता रत्नबहादुर राई र माता रामलक्षी राईकी सुपुत्रीका रूपमा जन्मनुभएकी सुमित्रा बाड्देल राई कालान्तरमा साहित्यिक क्षेत्रमा ’चेली’ उपनामले चिनिन थाल्नुभयो । हाल दमक –११ झापाकी स्थायी बासिन्दाको रूपमा रहनुभएकी चेलीको पहिलो फुटकर रचनाको रूपमा दमकबाट प्रकाशन हुने पत्रिका क्षितिज वर्ष १ अंक ७– २०५८मा प्रकाशित भएको गजल देखिन्छ। कथा, गीत, गजल, नाटक, मुक्तक, लेख आदि विविध साहित्यका विधा÷ उपविधामा कलम चलाउने चेलीको मुख्य लेखनविधा गजल रहेको छ। यसवेला चेली कृतिलेखकका रूपमा समेत झापाली साहित्यमा देखा परिसक्नुभएको छ । ’चेलीभित्रको पहाड’ (खण्डकाव्य) २०५८ र ’गंगाजल’ (गजल सङ्ग्रह) २०६० उहाँका पुस्तकाकार कृति हुन् । यसैगरी उहाँका ’इलामे चेलीका रचनाहरू’ (संयुक्त कविता–संगालो) र ’नानीहरूलाई कोसेली’ (संयुक्त बालकथा (संगालो) भित्र पनि रचना प्रकाशित देखिन्छन् । यसरी अनवरत रूपमा साहित्यक्षेत्रमा लागिरहनुभएकी चेली साहित्यसृजनाको प्रेरणास्रोत आफ्नो फुपालाई मान्नुहुन्छ । साहित्यबारे आफ्नो विचार सोध्दा चेली भन्नुहुन्छ । “साहित्य निरन्तरको अभ्यास हो । अभ्यासद्वारा लेखनमा परिष्कृतता आउँछ । साहित्य श्लिल, सरल, समयसापेक्ष र सन्देशमूलक हुनु जरुरी छ, जसद्वारा समाजका विसङ्गति र विकृतिहरूविरुद्ध आवाज उठाएर एउटा सुसभ्य समाजको परिकल्पना गरिन्छ ।“
सुमित्रा वाढेल ’चेली’लाई पढिरहँदा उहाँको साहित्यिक योगदान, निरन्तरको लगाव र प्राप्तिलाई मूल्यांकन गर्दा मलाई यस्तो लाग्छ, अब झापाली साहित्यमा उहाँको नाम इतिहास बनेको छ । समयले उहाँलाई अबका दिनहरूमा सम्झनु नै पर्छ र नै उहाँलाई साहित्य चौतारी विर्तामोडले २०५८ मा उत्कृष्ट रचनाकारको रूपमा सम्मान गरेको छ भने साहित्य कला सगम दमकले २०५८ मा कदर–पत्र प्रदान गरेर सम्मान गरेको छ । शब्द–शिल्पले पाठकको मनलाई आकर्षण गर्ने, अक्षरमा रमाइरहने, जुझारु लेखिका चेलीको साहित्यलेखनको चुली अझ अग्लिएर जावस्, अन्त्यमा म पनि चेलीलाई यिनै शुभकामनाका शब्द भन्छु ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो