युवा नेतृत्व स्वचालित बन्ने कि दल र नेताको फेर समाएरै रमाइरहने ?

खगेन्द्र कार्की

भनिन्छ युवा देशको कर्णधार हुन् । देश निर्माणमा युवाको भूमिका नै अग्रभागमा हुन्छ । तर पछिल्लो समयमा युवाहरुमा उत्साह भन्दा सकस बढी देखिन्छ । उनीहरु मन नमान्दा नमान्दै पनि प्रोढहरुको औंला समाएर हिड्न बाध्य छन् । तर अब युवा नेतृत्वपंक्तिमा उभिन आवश्यक छ । स्वचालित रुपमा देशका लागि कुनै भेदभाव नगरी, तेरोमेरो नभनी राष्ट्र निर्माणमा जुट्न आवश्यक छ । 

पछिल्लो समयमा स्थानीय तह तथा अन्य जिम्मेवार निकायमा बसेर युवाहरुले गरेको प्रगति हेर्न पनि उनीहरु इच्छुक हुँदैनन । राम्रैो गरेको चर्चा भयो भने त्यसलाई उडाइदिने र त्यसलाई कसरी हुन्छ पाखा लगाउने प्रपञ्च रच्ने परम्परा नेपाली राजनीतिमा देखिन्छ ।

नेपाली राजनीतिमा युवा सहभागिता न्यून हुँदा दलका भ्रातृ संगठनमा युवा बाहुल्य बढी देखिन्छ । नेतृत्व तहमा पुग्ने आधार भनेको केन्द्रीय कमिटी नै हो तर त्यहाँसम्म पुग्ने ल्याकत राख्ने युवाहरुको परिकल्पना नेपाली समाजमा भएकै छैन । केटाकेटीपनका युवाले गर्न सक्दैनन भन्ने प्रोढ नेताहरुको दिमागबाट अझै जान सकेको छैन । पछिल्लो समयमा स्थानीय तह तथा अन्य जिम्मेवार निकायमा बसेर युवाहरुले गरेको प्रगति हेर्न पनि उनीहरु इच्छुक हुँदैनन । राम्रैो गरेको चर्चा भयो भने त्यसलाई उडाइदिने र त्यसलाई कसरी हुन्छ पाखा लगाउने प्रपञ्च रच्ने परम्परा नेपाली राजनीतिमा देखिन्छ । प्रोढ नेतृत्व भएका स्थानमा युवाहरुले दिएका सुझाव पनि अपाच्छ बन्छ । नेता, नेतृत्व, दल र राष्ट्रका निम्त दिएका सुझाव सकेसम्म नसुन्ने सुन्नै पनि एक कानले सुनेर अर्को कानले उडाइदिने प्रचलन नेपाली राजनीतिमा देखिन्छ । त्यसै कारणले तेरो र मेरो अनि गुलामी र चाकडीले भरिएको नेपाली राजनीति माथि उठ्न सकेको छैन । विवाद र आलोचनाबाट मुक्त हुन पनि सकेको छैन । 

युवालाई नेतृत्व तहसम्म पुग्न रोक्ने बाधक तत्वहरु छन् । इतिहासदेखि नै हाम्रो समाज र राजनीतिले नेतृत्वमा युवाको कल्पनै गरेको छैन। समाजले स्विकार्न सक्ने ‘आइडियल’ युवा हामीले देख्न पाएका छैनौं। युवाले मुलुकको नीति निर्माणमा सशक्त भूमिका खेलेको, राज्य सञ्चालन गरेको नदेखेकै कारण समाजले उनीहरूलाई पत्याउँदैन। यस्तै युवा उमेरमै निर्वाह गर्नुपर्ने थुप्रै भूमिका हुन्छन्। पढार्इ, व्यक्तित्व विकास, आर्थिक जोहो, पारिवारिक तथा सामाजिक जिम्मेवारीसम्मको भार हुन्छ। ऊर्जाशील उमेर भएकैले हरेक आन्दोलन र परिवर्तनका अजेन्डामा युवा अगाडि देखिन्छन्।

तर, राजनीतिमा पूर्ण रूपमा समर्पित हुँदा माथि उल्लिखित जिम्मेवारी पूरा गर्न नसकिने भएकाले निरन्तरता टुट्न पुग्छ। राजनीतिमै लागिरहँदा व्यक्तिगत र पारिवारिक जीवनको आर्थिक व्यवस्थापन सम्भव हुँद्रैन। विद्यार्थी संगठनमा रहेकाहरूले केही समयमै राजनीति छाड्नुको कारण पनि यही हो।

देशको नेतृत्व गर्ने दायित्वबाट युवा उम्कन मिल्दैन। उनीहरूले परम्परागत राजनीतिमा हस्तक्षेपकारी भूमिका खेलेर राजनीतिको परिभाषा बदल्न सक्नुपर्छ। यसका लागि सबै दलका युवा नेताले साझ धारणा बनाउन पनि आवश्यक देखिन्छ ।

युवालाई सीमित दायराभित्र राखेर हजारौं युवाको दिमाग भुटेर गुलामीमै सीमित बनाउने प्रथा अझै कायम छ । युवाका विषयमा बोल्नेहरुको कमी छैन । तल्लो तहको सामान्य कार्यकर्तादेखि माथिल्लो ओहदाधारी नेता गणहरु सबैले धेरै कुरा बोले र बोल्छन । तर तिनीहरुको बोलाईबाट युवाले आशा गर्ने ठाउँ त होला तर भरोसा ठाउँ देखिँदैन । नेपालमा यस्तै परिस्थिति भईरहेको छ । काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर भने झै गर्नुपर्ने एकातिर छ नेतृत्व अर्कोतिर बहकिन्छ र बाटो बिराउँछ अनि आलोचना, गालीगलौज गर्ने ठाउँ दिन्छ । परिवर्तनको नाममा आफुलाई अब्बल बनाएर वा देखाएर जनता झुक्याउने प्रपञ्च बाहेक उनीहरुको अर्को कुनै काम भएन । युवालाई देशभित्रै राख्ने र उत्पादनमूलक काम अनि देश बनाउने अभियानमा जोड्ने कुनै भिजन, लक्ष्य, उद्देश्य नै छैन । परिवर्तनका लागि १० वर्ष जंगलमा बसेर जनताका लागि गर्न आएका बाबुराम भट्टराईदेखि माओवादीको टाउकाको मूल्य तोकेर ७ पटक प्रधानमन्त्री हुने सपना देखेका शेरबहादुरसम्मका व्यक्तिहरुको शासकीय पद्दति, संस्कार, बोलीबचन, जिम्मेवारी र उत्तरदायित्व हेर्दा कुनै युवाका सन्दर्भमा सबैतिर फेल । तर पनि, तिनीहरुनै जनताको अभिमतलाई धरौटीमा राखेर बाँडीचुडी राज्यसत्ता हत्याइरहेका छन् र तिनै कुर्सीका लागि प्रधानमन्त्रीको लिगलिगे दौडमा सहभागी भईरहेका छन् । दलभित्र होनाहार देश बनाउने भिजन र लक्ष्य बोकेर युवा जोश जाँगरका साथ पार्टीमा लागेका व्यक्तिहरु छन तर तिनीहरुले कुनै मौका नै पाउँदैनन् । राजनीतिक तानाबाना बुनेर उनीहरुलाई सँधै पाखा लगाउने र आफ्नै दाई चलाइरहने नियत उनीहरुमा देखिन्छ । बाबुराम भट्टराईले आफु एक पटक प्रधानमन्त्री भए पनि त्यो पद भारी भएर हो वा अन्य कारणले उनले बाहिर बसेरै राजनीतिमा नेतृत्व लिने प्रयास गरे । बाहेकका नेतृत्वका नेताहरु दल र सरकारमा लिसो टाँसिए झै टाँसिएर बसेका छन् जसलाई उखेल्न जति विद्रोह भए पनि सकिरहेका छैनन यस्तै पात्र हुन शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल । यिनैको शेरोफेरोमा राज्य ३ दशक बढी समयदेखि घुमिरहँदा पनि युवा भने रमिते भएर बस्न विवश छन् ।

युवा दिवसकै अवसरमा पनि धेरै नेता, कार्यकर्ताले ठूला ठूला मञ्चबाट भषण ठोके । युवा लक्षित कार्यक्रमका बारेमा बोले । तर नेपालमा कुन प्रकृतिका कति युवाहरु नेपालमा कति छन ? कति विदेश पलायन भए कति फर्कने अवस्थामा छन् ? त्यसको अनुसन्धान, खोज गरेर तथ्यपरक यथार्थ भिजन र योजना कसैमा देखिँदेन । खाली युरोपियन देशमा गएकाहरु भरिसक्के फर्कदैनन्, खाडीमा गएका सबै फर्कन्छन भन्ने तथ्यविहिन कुरामै अलमलिएका छन् । उनीहरुको हिजोआजको बोलीमा रोजगारसँग युवालाई जोड्नुपर्छ भन्नु सिवाय अर्को सुनिन्दैन । वर्षमा एक दिन दिवस परेको मौकामा यसो मिठासपूर्ण बोलिबाट शब्दहरु बर्षाएपछि युवाप्रतिको दायित्व र जिम्मेवार खत्तम । यो संकीण र अव्यवहारिक सोचकै कारणले देशबाट भएका उद्योग धन्दा माटामा मिलाउने, नयाँ खोल्ने त कुरै नगरौं अनि युवा जति सबै विदेश खेदाउन अनेकौं प्रकारका प्रपञ्च रच्ने र रेमिट्यान्सको राष्ट्रिय अर्थनीतिमा योगदानको चर्चा गर्नु सिवाय अरु कुनै उपलब्धी देखिँदैन ।

युवा दिवसकै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलदेखि सांसद् डा. शेखर कोइराला हुँदै वडाअध्यक्षसम्मले रोजगारीसँग युवालाई जोडेर भाषण छाँटे । यसैलाई महत्व दिए तर रोजगारी कहाँबाट कसरी प्राप्त गर्ने भन्ने कुनै नयाँ कुरा आएन ।

‘युवालाई नेपालमै कसरी आकर्षित बनाउने भन्नेबारे कार्ययोजना बनाउन जरूरी रहेको, ‘नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्दै युवा पलायन रोक्न राज्यले उनीहरूलाई कसरी ‘इन्गेज’ गराउने भन्ने तर्फ ध्यान दिएर स्वदेशमै अवसरको खोजी गर्ने जिम्मेवार अभिभावकको भुमिका खेल्न सरकारलाई आग्रह गरेको उनका भाषणहरु विभिन्न मिडियामा बग्रेल्ती आए । सांसद डा. शेखर कोइराला कोशी प्रदेशको राजधानी भएको ठाउँ विराटनगर निवासी हुन् । राजनीतिक परिवर्तनमा विराटनगरले गरेको योगदान अतुलनीय छ । त्यसमा पनि जुटमिलका मजदुरहरुको योगदानलाई अहिलेका राजनीतिकज्ञहरुले बिर्सने कुरै आएन ।

देशमा एक दर्जन बढी ठूला उद्योगहरु बन्द भएका छन् । ती उद्योगमा लाखौं नेपालीले काम पाउँछन् । विराटनगर जुट मिल, नेपाल औषधी लिमिटेड वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो जस्ता ठुला उद्योगहरु केही सञ्चालन गरे जस्तो पनि भएको छ र अधिकांश अझै धेरै उद्योग बन्दकै अवस्थामा छन् ।

यिनै उद्योगहरु व्यवस्थित ढंगले उत्पादित सामग्री पैठारी, निकासी गर्ने इच्छाशक्तिका साथ सञ्चालन ल्याउने अनेकन निकायमा भ्रष्टाचार नगर्ने हो भने बाहिरएका युवा पनि भित्रिने र यहाँ भएका युवा राकिने अवस्थाको नजरअन्दाज कसैले लगाउँदैन । जनताको दबाब र गालीगलौज खप्न नसकेर अनेकन शिर्षकमा बाहिरबाट सहयोग माग्ने तर यि बन्द भएका र ल्याङ्ल्याङ तरिकाले जनतालाई देखाउन सञ्चालन आएजस्तो पार्ने गरेका छन् । उद्योगको लागि नत सहयोग माग्छन् नत ऋणै लिन्छन् । खाली रकम अपचलन गर्न पाउने स्थान कहाँ छ त्यो शिर्षक खोजी खोजी ऋण र अनुदान दुवै लिने प्रपञ्च शासकहरुमा देखिन्छ अनि युवाले रोजगारी पाउने आधार चाहि के त ? यो गहन र जिम्मेवार अनुत्तरित प्रश्न पनि हो ।

तल्लो वर्गका मजदुर, किसान, बेरोजगार, अशिक्षित, सर्वहारा वर्गलाई आधार बनाएर ३ दशक बढी राज्य सत्ता हातमा लिँदा पनि परिवर्तिन शासन व्यवस्थाको प्रत्याभुत गराउन नसक्नु कसको दोष, नेताहरुको कि युवा वा जनताको ? यसको जस, अपजस कसले लिने ? विश्लेषण र समिक्षा गर्ने कि नगर्ने ? आरोप, विरोध र आलोचना कति सत्य छ भन्ने हेक्का राख्ने र त्यसलाई मनन गरेर परिवर्तनको अनुभूति दिलाउने शाहस, आँट, क्षमता र इच्छाशक्ति जगाउन सक्नुपर्दछ । विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग र गोरखकाली रबर उद्योग निजी साझेदारीमा सञ्चालन गर्न भनेर माओवादीका निवर्तमान अर्थमन्त्री वर्षमान पुनले यहि आर्थिक वर्षका २०८१÷०८२ को बजेटमा व्यवस्था गरेका थिए तर त्यसपछि तुरुन्तै सरकार परिवर्तन भएपछि त्यो पनि अन्योलमा परेको छ ।

सरकारले त्यस्ता उद्योगमा लगानी गर्न, संरक्षण गर्न सक्दैनन् भने समुदायमा आधारित उद्योग सञ्चालनका कार्यक्रम ल्याउन जरुरी छ । एउटा प्राणघातक रोग लागेको व्यक्तिलाई लाखौं रुपैयाँ देश विदेशबाट उठाएर बचाउन सक्ने नेपाली युवा, अपराधिक आरोपमा विदेशमा जेल बसेकाहरुलाई करोडौं उठाएर बचाउन सक्ने नेपालीले आफ् आफ्ना सन्ततिका लागि मातृभूमिको सेवाका लागि उद्योग सञ्चालनका लागि उनीले हात नबढाउने कुरै हुँदैन तर सरकारले यो उद्योग सञ्चालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको भन्दै उनीहरुलाई आब्ह्वान गर्न सरकारले कञ्जुस्याई गर्नुभएन । 

रोजगार बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएपनि ती प्रभावकारी कार्यान्वयनका अभावले अलपत्र परेका छन् । कति कार्यक्रम त सरकारी पहुँचमा नपुगेकाहरुलाई थाहै नहुने परिस्थिति पनि छ । मुलुकमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौं युवा विदेशिनुको विकल्प पनि देखिँदैन । भएकरा कलाकारखाना सबै सिध्याएका छन् । नयाँको परिकल्पना गर्न सक्ने सामथ्र्य नै अहिलेसम्मको नेतृत्वमा देखिएको छैन । अनि तिनै युवाका सन्दर्भमा बोले भने नेपालले जस्तो युवालाई प्राथमिकता विश्वमा कहिँ नरहेको जस्तो भाषण दिन्छन् । यथार्थपरक समस्याहरू खोजिनीति गरी अध्ययन, विश्लेषण र समस्या समाधान गर्ने गतिलो रणनीति राज्यसँग छैन् । बरु आन्दोलन, बन्द–हड्ताल गर्न, भौतिक संरचना तोडफोड गर्न अघि सारिन्छ । युवामा भएभरको क्षमता यस्तै खालका विध्वंसात्मक कार्यमा प्रयोग हुंँदै आएको छ । बौद्धिक तथा सकारात्मक क्रियाकलापहरूमा आप्mनो क्षमता प्रस्तुत गर्ने र ध्यान केन्द्रित गर्ने अवसर पाएका छैनन् । यो अत्यन्त दुखको कुरा हो । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्षा दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया