झापा–५ को चुनावी धड्कन — ‘केपीको टावर’देखि परिवर्तनको चाहना सम्म

फाष्ट मिडिया नेपाल संवाददाता

झापा । पूर्व–पश्चिम राजमार्ग पार गरेपछि उर्लाबारी कटेर बायाँतिर मोडिँदा देखिने फराकिलो कालोपत्रे सडक अहिले परिवर्तनको प्रतीकजस्तै देखिन्छ । सोही बाटो हुँदै पुगिन्छ चर्चित ‘भ्यु टावर’सम्म, जसलाई स्थानीयले ‘केपी टावर’ भनेर चिन्छन् । केही महिना अघि यहाँका सिसा फुटाइँदै टावर विवादमा आएको थियो । त्यही भवनछेउका सुरक्षाकर्मी स्वर्ण र भूपेन्द्र धिमालले घटनाको दिन सम्झिँदै भन्छन्, “टावर हाम्रो गर्व थियो, जसले रोजगारी दियो । जसले बनाए पनि यो त राज्यको सम्पत्ति हो ।”

टावर वरपर अहिले पनि घर र पसल बन्ने क्रम जारी छ । एक समय सुनसान रहेको ठाउँ आज व्यस्त बन्दै गएको छ । स्थानीय नारायणप्रसाद बराल भन्छन्, “यो भ्यु टावरले हाम्रो सहरको मुहार फेरिदिएको छ । अब पक्की घरहरू बढ्दै छन्, दमक बिस्तारै शहर बन्दैछ ।”

तर, राजनीतिक रूपमा झापा–५ अहिले टावरभन्दा पनि ‘केपी शर्मा ओली र बालेन्द्र शाह’ बीचको प्रतिस्पर्धाले तातिएको छ । पूर्वशिक्षक पुजन दाहाल भन्छन्, “यो आन्दोलन होइन, विध्वंस थियो । जसले गरे पनि कठघरामा उभ्याइनुपर्छ ।” अर्का स्थानीय नारायण रेग्मीको धारणा छ, “ओलीले त्यति ठूलो घटना भएपछि पनि क्षमा मागेनन् । अब नयाँ नेताको समय आएको छ ।”

दमक चोकमा ट्याक्सी चलाउने केशव राउत पनि नेताप्रति आक्रोशित छन् । “नागरिक मारिँदा प्रधानमन्त्री मौन रहनु दुखद हो । फेरि त्यहीँलाई किन भोट दिने रु” उनी प्रश्न गर्छन् । यता, युवा विद्यार्थी करण बस्नेत भन्छन्, “सरकार फेरिँदैमा केही हुँदैन, राजनीतिक स्थायित्व चाहिएको हो ।”

पाडाजुँगी, लखनपुर र गौरादह हुँदै फैलिएको राजनीतिक चर्चा अहिले गाउँ–गाउँमा पसिसकेको छ । लखनपुरका राजेन्द्र संग्रौला भन्छन्, “हाम्रो गाउँमा रोजगारी छैन । सबै विदेश छन् । स्थिर सरकार भयो भने मात्र देश टिक्छ ।” उनले ओलीको ‘रेलको सपना’लाई व्यङ्ग्य गर्दै थपे, “रेलको नाममा घर बनाउन रोक लगाइयो, अहिलेसम्म केही भएन ।”

त्यही गाउँका गोपाल बुढाथोकीले भने यो चुनावलाई ‘परिवर्तनकारी र यथास्थितिवादीबीचको लडाइँ’ बताए । “नयाँ शक्तिहरूले जिते देश फेरि अस्थिर हुने सम्भावना पनि छ, तर जनता अब पुरानाबाट दिक्क छन् ।”

हर्कबहादुर राया र तिलक अधिकारी जस्ता युवाहरूको स्वर समान छ — परिवर्तन, रोजगारी र इमानदार नेतृत्व । गौरादहका बालकृष्ण सिवाकोटीले भने नयाँ मान्छे होइन, नयाँ विचार चाहिएको तर्क गरे । “टेक्नोलोजी र सोचमा सुधार नगरी देश चल्दैन,” उनले भने ।

गौरीगञ्जका पवनकुमार दास र किशोर साहले पनि गाउँमा ‘परिवर्तनको हावा’ चलिरहेको बताए । प्रविन दास भन्छन्, “अब युवापुस्ताले देश फेर्ने हो । चुनाव नै अन्तिम विकल्पजस्तो छ ।”

दमक पब्लिक लाइब्रेरीका संस्थापक भेषराज न्यौपानेका अनुसार झापा–५ अहिले राष्ट्रिय राजनीतिको ‘इपी सेन्टर’ बनेको छ । “केपी शर्मा ओली र बालेन्द्र शाह दुबै प्रधानमन्त्रीका दाबेदार हुन् । त्यसैले यहाँको प्रतिस्पर्धा असाधारण छ,” उनी भन्छन् । उनका अनुसार उम्मेदवारहरूले स्थानीय मुद्दा, भ्रष्टाचार र परराष्ट्र नीतिबारे स्पष्ट दृष्टिकोण राख्न जरुरी छ ।

झापा–५ मा अहिले १ लाख ६३ हजारभन्दा बढी मतदाता छन् । १४ दल र १० स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । मुख्य भिडन्त भने ओली र शाहबीच नै छ — पुरानाको अनुभव र नयाँको जोशबीचको प्रत्यक्ष टक्कर ।

यसरी हेर्दा, ‘केपीको टावर’ भत्किए पनि झापा–५ को राजनीतिक तापमान चुलिँदै छ । स्थानीयले चाहेका छन्— टावर होइन, अब स्थायित्व र विकासका ग्यारेन्टी दिने नेतृत्व उठोस् । silapatra

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया