इटहरी । लामो समयदेखि वर्षा नभएपछि मिहिनेत गरेर खेतमा लगाएको धान डढ्न थालेपछि धनुषा हंशपुर–३, मलहनियाका ६० वर्षीय असर्फी महरा तनाव थिए । आम्दनीको स्रोत खेतीपाती मात्रै रहेकाले उनी धान जोगाउन स्यालो ट्युबवेलमा मोटर जडान गरे । तर, बिहीबार खेतमा सिँचाइका लागि जडान गरिएको मोटर चलाउने क्रममा असर्फीको मृत्यु भयो । करेन्ट लागेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा स्थानीय क्लिनिकमा मृत्यु भयो ।
बिहीबार नै रौतहटको मौलापुर नगरपालिका–७, पथरा गाउँका मोसाफिर साह तेलीको खेतमा सिँचाइका लागि जडान गरिएको मोटरमा करेन्ट लागेर ४८ वर्षीय किसान चन्देश्वर बैठाको मृत्यु भयो । त्यसको अघिल्लो दिन बुधबार रौतहटकै माधवनारायण नगरपालिका– ४, विसुनपूर्वा मानपुरका रामबाबु मुखियाले डढ्न लागेको धान सिँचाइका लागि खेतमा जडान गरिएको मोटरमा करेन्ट लागेर ज्यान गुमाउन पुगे । मंगलबार राति रौतहत कटहरिया नगरपालिका–२, जमुनियाका ४२ वर्षीया मोक्ता देवानलाई करेन्ट लागेको थियो । सुख्खा रहेको खेतमा धान रोपाइका लागि सिँचाइ गर्न जडान गरिएको मोटरमा करेन्ट लागेर गम्भीर घाइते भएकी देवानलाई उपचारका लागि गरुडामा रहेको ग्रान्डी अस्पतालम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । रौतहट प्रहरी प्रवक्ता एवं डीएसपी दीपककुमार रायका अनुसार, पछिल्लो चार दिनमा रौतहटमा करेन्ट लागेर चार जना किसानले ज्यान गुमाइसकेका छन् ।
३ साउनमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका– ४, टेङ्ग्रीकी ७० वर्षीया उर्मिलादेवी यादवको खेतमै विद्युतीय मोटरमा करेन्ट लागेर मृत्यु भएको थियो । सप्तरी प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार घरभन्दा एक किलोमिटर उत्तरपट्टी आफ्नै खेतमा सिँचाइका लागि जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर घाइते भएकी यादवको उपचारका क्रममा मृत्यु भएको थियो । २४ असारमा राति खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर धनुषाको मिथिला बिहारी नगरपालिका–९ का ४१ वर्षीय दिनेश यादवको मृत्यु भएको थियो । आफ्नै धान खेतमा सिँचाइ गर्ने क्रममा मोटरको तारमा करेन्ट लागेर उनको मृत्यु भएको थियो ।
खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर ज्यान गुमाउने कृषकको संख्या बढ्दै गएको छ । प्रहरीका अनुसार, पछिल्लो १० दिनमा मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर १० जना किसानले ज्यान गुमाइसकेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८१–८२ मा मधेशमा १२५ जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी बारामा २४, रौतहटमा २३, धनुषामा २१ र सर्लाहीमा १८ जनाको करेन्ट लागेर मृत्यु भएको थियो ।
यस्तै, गत वर्ष सिरहामा १४, सप्तरीमा १३, महोत्तरीमा ९ र पर्सामा ३ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार, मृत्यु हुनेमा ८४ जना पुरुष र १८ जना महिला छन् । अन्य भने बालबालिका छन् । आर्थिक वर्ष २०८०–८१ मा ९८ जनाको मात्र करेन्ट लागेर मृत्यु भएको थियो । अर्थात् आर्थिक वर्ष २०८०–८१ को तुलनामा आर्थिक वर्ष २०८१–८२ मा २८ जना बढीको मृत्यु भएको प्रदेश प्रहरीको तथ्यांकले देखाउँछ । तथ्यांकले पनि मधेशमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखाउँछ ।
पछिल्लो समय खेतमा सिँचाइ गर्ने क्रममा मोटरमा जडान भएको विद्युतीय तारमा करेन्ट लागेर मानिसको ज्यान जाने क्रम बढेको छ । करेन्ट लागेर मृत्यु भएका अधिकांश घटना सिँचाइ वा पानी तान्ने क्रममा घटेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी यादवले बताए । ‘विद्युतीय मोटर जडान गरी खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘त्यसबाहेक चापाकलमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा पनि करेन्ट लागेर ज्यान गुमाउनेको संख्या उच्च देखिन्छ ।’
समयमा वर्षा नभएपछि धान रोप्ने र रोपेको धान बचाउन खेतमा गाडिएको बोरिङ, डिप ट्युबवेल, कल, इनारमा जडित मोटरबाट सिँचाइ गर्ने गरिएको छ । त्यसका लागि जडान गरिएको विद्युत्मा करेन्ट लागेर मृत्यु हुने क्रम बढेको छ । रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी दीपक रायले यसरी मृत्यु हुनुमा लापर्बाहीपूर्वक जडान गरिएको तार मुख्य कारण रहेको बताए ।
जंगली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय धरापमा परेर पनि किसानले ज्यान गुमाउने गरेका छन् । आकाशेपानीको भरमा खेतीपाती हुने मधेशमा खेडेरी पर्दा किसानहरूले स्यालो ट्युबवेलसहितमा विद्युतीय मोटर जडान गरेर वैकल्पिक सिँचाइका रूपमा प्रयोग गरिरहेका छन् । महोत्तरी औरही नगरपालिका–३ का किसान सनिचर साह भन्छन्, ‘खडेरीका बेलामा मोटर नलगाएर धान बनाउन सकिन्न । सिँचाइका लागि मोटर प्रयोग गर्नु किसानको बाध्यता हो । तर, यसलाई सचेत भएर प्रयोग गर्नुपर्छ ।’
पछिल्लो समय कृषिज्ञान केन्द्र तथा सिँचाइसँग सम्बन्धित कार्यालयहरूले भूमिगत सिँचाइका लागि स्यालो ट्युबवेलसहितका उपकरण अनुदानमा वितरण गर्ने गरेका छन् । ती कार्यालयले स्यालो ट्युबवेल त वितरण गर्छन् । तर, सिँचाइ मिटर नहुँदा ११ हजार भोल्टको विद्युतीय तारमा सिधै हुकिङ गरेर स्यालो ट्युबवेलमा मोटर जडान गरेर किसानहरूले सिँचाइ गर्छन् । जसले करेन्ट लाग्ने सम्भावनालाई बढाउने जानकारहरू बताउँछन् ।
मापदण्ड विपरीत गाडिएका पोलको विद्युतीय तार खेतमै खस्ने, कम गुणस्तरका तार प्रयोग गर्ने तथा प्राविधिक समस्याका कारण करेन्टका घटना हुने गरेको नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादवले बताए । विद्युत प्राधिकरणको लापर्बाहीले कसैलाई करेन्ट लागेर मृत्यु भएको खण्डमा प्राधिकरणले १० लाख क्षतिपूर्ति दिने गरेको छ । विद्युत हुकिङ गरेर खेतमा सिँचाइ गर्ने किसानले उक्त क्षतिपूर्ति नपाउने उनले बताए । मधेशमा पानी नपर्दा मधेश सरकारले सुक्खा क्षेत्र घोषणा गरेको छ । संघ सरकारले भने ७ साउनमा मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तर, राहत उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारले ध्यान नदिएको किसानहरूको गुनासो छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो