देशको प्रतिष्ठा र समृद्धिका लागि खेलकुदलाई प्राथमिकता दिऔं

cVSedOCloS

पलेशा गोबर्धन, एरिका गुरुङ, महिला र पुरुष खो खो टिमले नेपाललाई ठूलो उपलब्धि दिलाउँदा क्रिकेट टिमले टी२० विश्वकपमा पुनरागमन गर्‍यो, महिला यू१९ टिमले पहिलो पटक यू१९ विश्वकप खेल्यो । वर्ष २०८१ नेपालको लागि विश्वकपकै वर्ष रह्यो । त्यसमा पनि खो खो टिमले प्राप्त गरेको सफलता त नेपाली खेलकुदमै इतिहासको रुपमा रहेको छ । वर्षको अन्तिममा समेत व्यस्त बनिरहेको नेपाली खेलकुद(२०८१ मा निरन्तर छाइरह्यो । विशेषगरी यो वर्ष नेपाली खेलकुदका लागि विश्वकप र ओलम्पिकको वर्ष रह्यो । यसैको निरन्तरता २०८२ पनि अगाडि बढेको देखिन्छ । नेपाली क्रिकेटले हिजोआज विदेशी भूमिमा धुम मच्चाईरहको छ । 

नेपालमा खेलकुदको भविष्य उज्जवल छ भन्नेमा अब कुनै शंका छैन । पछिल्ला वर्षहरूमा क्रिकेटदेखि फुटबल, भलिबल, तेक्वान्दो, एथलेटिक्स लगायतका खेलहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राख्न सफल भएका छन् । खेलकुदले मुलुकको पहिचान, युवा सशक्तीकरण, राष्ट्रिय एकता र समृद्धि निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। तर, यति सब सफलताका बीच पनि खेलकुद क्षेत्रमा गम्भीर चुनौतीहरू विद्यमान छन्, जसले यसको गति सुस्त पारेको छ ।

नेपालमा खेलकुदको लोकप्रियता बढ्दै गएपनि यसको नेतृत्व, संरचना र व्यवस्थापनमा स्वच्छता देखिँदैन। खेलकुदका नाममा राजनीति हावी भएको अवस्था अझै अन्त्य हुन सकेको छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप)देखि खेल संघसंस्था र स्थानीय क्लबसम्ममा राजनीतिक हस्तक्षेपले खेलाडीसँगभन्दा पदाधिकारीसँगै बढी महत्त्व पाएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि कहिलेकाहीँ योग्य खेलाडीभन्दा बढी पदाधिकारी र तिनका परिवारका सदस्य सहभागी हुने प्रवृत्तिले खेलकुदको मर्यादामा प्रश्न उठाएको छ ।

स्थानीय स्तरमा त स्थिति झन् कमजोर छ। गाउँगाउँका प्रतिभावान् खेलाडीहरूलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित पार्ने प्रवृत्ति मौलाएको छ। वर्षमा एक–दुई पटक क्लबहरू भेला भएर औपचारिक खेलकुद कार्यक्रम आयोजना गरी बजेट खर्च गर्ने परिपाटी चल्दो छ, तर त्यसले खेल विकासमा दीर्घकालीन प्रभाव पारेको छैन। खेलकुद एकेडेमी, आधारभूत पूर्वाधार, प्रशिक्षक, उपकरण र लगानीको अभावले खेलाडीहरू संघर्षरत छन् ।

तर यति समस्याबीच पनि नेपाली खेलकुदले केही क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको छ। विशेषगरी क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ। हालै सम्पन्न आइसीसी पुरुष टी–२० एसिया क्वालिफायरको सुपर सिक्स चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै ४ अंक जोड्नु नेपाली क्रिकेटको स्थायित्व र क्षमताको प्रमाण हो। यसअघि पनि नेपाली टोलीले विश्वकप छनोट, एसीसी प्रतियोगिता र विभिन्न फ्रेन्चाइज लिगहरूमा उल्लेखनीय प्रदर्शन गर्दै विश्वको ध्यान आकर्षित गरेको छ । यो एउटा प्रतिनिधिमूलक विजय मात्र हो यस्ता धेरै विधामा नेपाली खेलकुदले धमका देखाइसकेको छ । 

यसका अतिरिक्त, महिला खेलकुदमा पनि उत्साहजनक प्रगति देखिएको छ । फुटबल, भलिबल, तेक्वान्दो र एथलेटिक्समा महिलाहरूले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर देशको मान बढाएका छन् । त्यस्तै, अपांगता भएका खेलाडीहरूले पनि ‘प्यारालिम्पिक’ खेलहरूमा सहभागिता जनाएर आफ्नो क्षमता देखाइरहेका छन् ।

तर, यो सब उपलब्धि पनि पर्याप्त होइन । खेलाडीहरूलाई सुरक्षित भविष्य, जीवन निर्वाहका आधार, पारिश्रमिक र सामाजिक सम्मान अझै अपुरो छ। खेलकुदमा संलग्न युवाहरूलाई पेशागत रूपमा टिक्न सक्ने वातावरण नबन्दा धेरै प्रतिभा अलपत्र परिरहेका छन् । खेलाडीहरूलाई विवादमा तान्ने, अनावश्यक ह्यारेस्मेन्ट गर्ने वा उनीहरूको चरित्र हत्या गर्ने प्रवृत्तिले खेल क्षेत्रको विश्वास घटाएको छ । सन्दीप लामिछानेको यस्ता घटनाको ज्वलन्त उदाहरण हुन । यस्तो धेरै खेलाडीमाथि भएको छ । राजनीतिक दिएर विचारको आधारमा धेरै खेलाडीलाई पाखा लगाइएका छन् । जसले हामी अझै पनि खेलकुद र खेलाडीसँग भन्दा बढी विवादसँग खेलिरहेका छौं भन्ने स्पष्ट पारेको छ ।

खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र स्थानीय निकायहरूले खेलकुदलाई केवल औपचारिकता होइन, राष्ट्रिय विकासको मेरुदण्डको रूपमा लिने। खेलकुद र खेलाडीमा लगानी गर्नु भनेको राष्ट्रको भविष्यमा लगानी गर्नु हो। खेलाडीहरूको पारिश्रमिक, प्रशिक्षण, बीमा, पुरस्कार र सम्मानमा पारदर्शी नीति ल्याउन जरुरी छ । गाउँगाउँमा खेलकुद एकेडेमी, विद्यालयस्तरका प्रतियोगिता, महिला र अपांगता भएका खेलाडीका लागि विशेष कार्यक्रम सञ्चालन गरिए मात्र खेलकुद संस्कृतिको बिस्तार सम्भव हुन्छ ।

खेलकुद केवल मनोरञ्जन होइन । यो राष्ट्रिय गौरव र समृद्धिको माध्यम हो। यदि राज्यले खेलकुदलाई प्राथमिकता दिएर खेलाडीलाई राष्ट्रनिर्माणको मुख्य अंगका रूपमा स्वीकार गर्न सक्यो भने, नेपाल केवल ‘हिमालको देश’ मात्र होइन, ‘खेलकुदको शक्ति’का रूपमा पनि विश्व नक्सामा चिनिन सक्नेछ ।


cVSedOCloS
प्रतिक्रिया