पूर्वी नेपालका पालिकामा पहिलो नागरिक घोषित धिमाल एक विशेषता अनेक

खगेन्द्र कार्की

दमक । पूर्वी तराईका मोरङ, सुनसरी र झापामा औलो रोगसँग युद्ध लडेर जितेकाहरुले घना जङ्गललाई खेतीयोग्य जमिनमा रुपान्तरण गरेर मानवबस्तिमा परिणत गरेका धिमालहरुलाई स्थानीय सरकारले प्रथम नागरिक घोषणा समेत गरेको छ । झापाको दमक, मोरङको पथरीलगायत अन्य पालिकाहरुमा उनीहरुको परापूर्वकालदेखिको योगदानको कदर गर्ने जमर्कोमा जुटेका छन् । स्थानीय सरकारले धिमालहरुको संरक्षण, सम्बद्धन र पहिचानले उत्साहित धिमालहरु हर्षित भएका छन् । पछिल्लो समयमा उनीहरु पालिकाका विभिन्न निकायहरुमा सहभागिता जनाउँदै आएका पनि छन् । छुट्टै विशिष्टता बोकेको यो जातिका भेषभुषा, रहनसहन, भाषा, संस्कृति, र मौलिक जीवनशैलीको मौलिकता बोकेका छन् । प्रकृतिपूजकका रुपमा चिनिएका यो जाति प्राकृतिक धर्ममा आस्था राख्दछ। 

बङ्गाली लेखक डाक्टर हसनको निबन्धमा वि.सं.१८४७ मा कोशी पूर्व र टिष्टा पश्चिम विराट क्षेत्र भनिने बसोबासस्थलको पहाडी क्षेत्र दक्षिणको बीचभागमा धिमाल जाति हौं भन्ने ५ सय १ जना मानिस फेला परेको उल्लेख छ । सो इतिहाससहितका ११ ओटा प्रमाणले मोरङ, झापा र सुनसरीमा सबैभन्दा पहिलो पाइला टेक्ने धिमाल जाति नै भएको तथ्य र तथ्याङ्क पाइन्छ । धिमालहरुले दिएको तथ्याङ्कले  धिमालका ९८ वटा टोलरहेका छन् । परापूर्वकालदेखि मुख्य रुपमा मोरङ र झापामा धिमाल जातिको बसोबास गर्दै आएका उनीहरुको जनसङ्ख्या ३५ हजार बढी छ । मोरङको तात्कालीन भोगटेनी गाविसको राजारानी क्षेत्र उनीहरुको जन्मथलो मानिँदै आएको धिमाल जाति विकास केन्द्रका पूर्व अध्यक्ष रामबहादुर धिमाल बताउँछन् । त्यहाँ ऐतिहासिक २ वटा पोखरी रहेका छन् । त्यहाँ प्रत्येक वर्षको वैशाख २ गते धिमालको महत्वपूर्ण जात्री पर्व मनाउने गरिन्छ । यस्तै  उर्लाबारीको मङ्गलबारेमा धिमाल जाति विकास केन्द्र स्थलमा असार २ मा मेला लाग्दै जात्री पर्व समापन गरिने परम्परा रहि आएको छ ।  त्यहाँ सरकारले धिमाल उत्थानको परियोजना सञ्चालनमा १० विगाहा जग्गा उपलब्ध गराएको छ ।

धिमाल जाति पूर्वी नेपालमा माईखोलाको पूर्व र पश्चिम भागमा विभाजित छन्। पूर्वी धिमाल समुदायमा राजवंशी संस्कृतिको प्रभाव देखिन्छ। उनीहरूको परम्परागत घर माटो, काठ, र ढुङ्गाबाट निर्माण गरिन्छ। धिमाल जातिको ऐतिहासिक बसोबासस्थलमा राजारानी, पोखरी, लेटाङ, धिमाल धुरा, नगराडुवालगायत स्थान छन्। भाषाविद्हरूले धिमाल भाषालाई भोट बर्मेली परिवारको हिमाली समूहमा राखेका छन्।परम्परागत कानुन र सामाजिक संरचना

धिमाल समाजमा न्याय र व्यवस्थापनका लागि माझी वाराङ्ग समिति रहेको छ। यो समितिमा पाँच भलाद्मी रहने चलन छ, जसमा माझी वाराङ्ग, धामी वाराङ्ग, हानुवा, पटवारी, र ओझा पर्दछन्। २००९ सालमा भएको माझी वाराङ्गी सम्मेलनले सामाजिक सुधारका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो। २०४७ सालमा धिमाल जाति विकास केन्द्र स्थापना भई झापा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो।

धिमाल जाति प्रकृति पूजक हुन्। उनीहरू ग्रामथानमा देवता पुज्ने गर्दछन्। सिरिजात वा जातिरी मेला खेतीपाती सुरु गर्नुअघि मनाइने महत्त्वपूर्ण चाड हो। अन्य मुख्य पर्वहरूमा पार्वा अर्गात्, सिरुवा, फागुवा, र माघे सङ्क्रान्ति पर्दछन्।

धिमाल समुदायमा विगतमा सुपारी विवाह चलन थियो, जुन अहिले हराउँदै गएको छ। विवाहका लागि प्रेम वा मगनी विवाह प्रचलित छ। मृत्यु संस्कारमा शव गाड्ने वा जलाउने परम्परा रहेको छ।

धिमाल जातिको आफ्नै भाषा छ। पूर्वीय भाषिका राजवंशी भाषाबाट प्रभावित छ भने पश्चिमी भाषिका थारू बोलीसँग मिल्दछ। परम्परागत वेशभूषामा पुरुषहरूले धारी, लोखोन, र तुप्री लगाउँछन् भने महिलाहरू पेटानी लगाउँछन्।

धिमाल जातिको मौलिक संस्कृति, परम्परा, र पहिचानलाई जोगाउने प्रयासहरू भइरहेका छन्। भाषा, लोकनृत्य, बाजागाजा, र संस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्दै धिमाल समुदायले आफ्नो पहिचानलाई अझ मजबुत बनाउँदै लगेका छन्।

खगेन्द्र कार्की
प्रतिक्रिया