लौकही नाकामा गोली काण्ड ः नियन्त्रण कि संरक्षण

फाष्ट मिडिया नेपाल संवाददाता
सुनसरी । सुनसरी जिल्लाको सीमावर्ती लौकी क्षेत्र वर्षौँदेखि तस्करीका लागि ‘सुरक्षित र सजिलो’ नाकाका रूपमा चिनिँदै आएको स्थानीयको आरोप छ। दैनिक लाखौँको कारोबार हुने गरेको भनिने यो क्षेत्रमा सुरक्षाकर्मी र कारोबारीबीचको मिलेमतोले तस्करी निरन्तर चलिरहेको गुनासो लामो समयदेखि सुनिँदै आएको छ। यस्तै पृष्ठभूमिमा बुधबार राति भएको एक घटनाले सीमाक्षेत्रको सुरक्षा व्यवस्थामाथि मात्रै होइन, राज्यको जवाफदेहिता र पारदर्शितामाथि पनि गम्भीर प्रश्न खडा गरिदिएको छ।

स्थानीयका अनुसार बुधबार राति पनि नियमितझैँ तस्करी भइरहेको थियो। तर सोही समयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पूर्वाञ्चलमै क्षेत्रीय सुरक्षा गोष्ठीका लागि आएको खबर पछि सीमावर्ती क्षेत्रमा अचानक कडाइ गरिएको देखियो। स्थानीयहरू भन्छन्—यो कडाइ वास्तविक नियन्त्रणभन्दा बढी ‘देखाउने नाटक’ थियो। किनकि यसअघि नै लाइन पाएका कारोबारीहरूलाई काम गर्न दिइँदै आएको र सो रात पनि तस्करी रोकिने अवस्था नभएको उनीहरूको दाबी छ।
यही क्रममा राति करिब १ बजेर १० मिनेट जाँदा कोशी गाउँपालिका–१, यादव टोलस्थित चेक प्वाइन्टमा सशस्त्र प्रहरी बलका एक हवल्दार र तस्करीमा संलग्न भनिएका समूहबीच विवाद चर्किएको बताइन्छ। विवादकै बीच सशस्त्र प्रहरीले चलाएको गोली लागेर विजय साह नामका व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। घटनाले पूरै क्षेत्रमा तनाव फैलिएको छ।
मृतक विजय साहबारे स्थानीयहरूले गम्भीर दाबी गरेका छन्। उनी पहिलेदेखि नै सशस्त्र प्रहरीलाई सीमा क्षेत्र र कारोबारीहरूको गतिविधिबारे सूचना दिने नजिकका व्यक्ति भएको भनाइ छ। यदि सूचना दिने व्यक्तिकै मृत्यु सुरक्षाकर्मीको गोलीबाट भएको हो भने यो घटनाले सुरक्षा संयन्त्रभित्रको आन्तरिक द्वन्द्व, अविश्वास र सम्भावित शक्ति दुरुपयोगतर्फ संकेत गर्छ।
अहिले बिओपी लौकहीमा सशस्त्र प्रहरी निरीक्षक मनिष कटुवाल प्रमुखको रूपमा कार्यरत छन्। स्थानीयहरूका अनुसार उनी यहाँ हाजिर भएदेखि नै तस्करीको ‘लाइन’ चलिरहेको थियो। एकातर्फ तस्करी गराइने र अर्कोतर्फ संगठन प्रमुख आएको नाममा नियन्त्रण गरेको देखाउन कठोरता अपनाइने—यसै द्वन्द्वात्मक अभ्यासको चरम रूप बुधबार रातिको गोलीकाण्ड भएको उनीहरूको आरोप छ।
स्थानीय नागरिक समाजका प्रतिनिधिहरू भन्छन्, “यदि वास्तवमै तस्करी रोक्नै थियो भने दीर्घकालीन र निष्पक्ष कदम चालिनुपथ्र्यो। तर यहाँ त नियमित रूपमा चलिरहेको लाइनलाई ढाकछोप गरेर, माथिल्लो तहको भ्रमणका बेला मात्रै कठोरता देखाउने प्रवृत्ति देखियो। त्यसैको परिणाम आज एक निर्दोष नागरिकले ज्यान गुमाउनुप¥यो।”
घटनापछि सशस्त्र प्रहरीतर्फबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। तर सुरक्षा स्रोतहरूका अनुसार घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ। ‘आत्मरक्षाको अवस्था’मा गोली चलेको हुन सक्ने संकेत गरिए पनि त्यसको पुष्टि स्वतन्त्र छानबिनपछि मात्रै हुने उनीहरूको भनाइ छ।
मानव अधिकारकर्मीहरूले भने निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्। उनीहरू भन्छन्, सीमाक्षेत्रमा तस्करी नियन्त्रणको नाममा बारम्बार नागरिकमाथि बल प्रयोग हुने गरेको छ, तर तस्करीका मूल संरक्षकहरू भने सुरक्षित रहँदै आएका छन्। “यदि तस्करी वास्तवमै बन्द गर्न चाहिएको हो भने गोली होइन, प्रणाली सुधार आवश्यक छ,” एक अधिकारकर्मीले भने।
घटनाले सीमाक्षेत्रका बासिन्दामा गहिरो त्रास पैदा गरेको छ। राति सामान्य आवतजावतसमेत जोखिमपूर्ण भएको उनीहरूको गुनासो छ। तस्करीको नाममा हुने गतिविधि, सुरक्षाकर्मीको कडाइ र सम्भावित गोलीकाण्डको डरले आमनागरिक असुरक्षित महसुस गरिरहेका छन्।
उनीहरू भन्छन्, “यो केवल एक व्यक्तिको मृत्युको प्रश्न होइन, सीमाक्षेत्रमा संस्थागत रूपमा चलेको तस्करी र त्यसलाई संरक्षण गर्ने संयन्त्रको प्रश्न हो।”अब मुख्य प्रश्न उठ्छ—के यो घटना तस्करी नियन्त्रणका लागि गरिएको कठोर कदमको ‘दुर्घटनात्मक परिणाम’ हो, कि वर्षौँदेखि संरक्षित रूपमा चलिरहेको तस्करी लाइनभित्रको आन्तरिक टकराव? के माथिल्लो तहका अधिकारीहरूको भ्रमणका बेला मात्रै देखाइने कडाइले वास्तवमै अपराध नियन्त्रण हुन्छ, कि यसले झन् जोखिम बढाउँछ?
सरकार र सम्बन्धित निकायले यदि समयमै निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही नगर्ने हो भने, लौकी क्षेत्रको यो घटना भोलि अन्य सीमावर्ती नाकामा पनि दोहोरिन सक्छ। नागरिकको ज्यानको मूल्यमा गरिएको ‘देखावटी नियन्त्रण’भन्दा राज्यलाई दीर्घकालीन, पारदर्शी र मानवअधिकारमैत्री सुरक्षा रणनीति आवश्यक छ। विजय साहको मृत्युले यही कठोर यथार्थ राज्यसामु राखिदिएको छ। nawajanprahar

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया