स्ववियु कि खारेज गरौं कि शैक्षिक क्षेत्रलाई मजबुत बनाउने तर्फ लगाऔं ?

खगेन्द्र कार्की

भोलि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसका विद्यार्थीहरु मिनि इलेक्सनमा जुट्दै छन् । चैत्र ५ अर्थात भोलि हुन गईरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि विद्यार्थीहरु चुनावी रस्साकस्सीमा लागेका छन् । सामान्य ढंगबाट क्याम्पस प्रशासनबाट हुने निर्वाचनलाई महाभारत बनाएर राजनीति अंशियार झै गरिनु दुर्भाग्य भएको छ । विश्वविद्यालय, क्याम्पसको नीति निर्माणसँगै कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न परिकल्पना गरिएको संरचना हो स्वतन्त्र विद्यार्थी युनियन । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन नियममा क्याम्पसमा शैक्षिक वातावरण कायम गर्दै विद्यार्थी हकहितको संरक्षणका लागि युनियन अपरिहार्य गरेको उल्लेख भए पनि राजनीतिक गोटी बन्नु सिवाय अरु केही गर्न सकिरहेको देखिएको छैन । यतिखेर चुनावी माहोल छ । त्यो चुनावी माहोलमा के मुद्दा कुन मुखले लिएर जाँदैछन उनीहरु आफै सर्मित त होलान नै तर पनि लाज पचाएरै भए पनि पार्टीको निम्ति चुनाव लड्नु छ । भोलि हुने निर्वाचन ६२ आंगिक क्याम्पसमध्ये ४५ वटामा हुँदैछ । तर अब भने युनियनको परिभाषा नै बदल्नुपर्ने शैक्षिक विश्लेषण गरिँदैछ । हिजो जुन उद्देश्ले राजनीतिक दलले युनियन खोलेका थिए अब त्यो अवस्था सकिएको छ । अबको उनीहरुको भूमिका फरक हुन आवश्यक देखिन्छ । सकेसम्म युनियन हटाउँदा नै बेस हुने र राख्नै परे शैक्षिक क्षेत्रमा मात्र केन्द्रीत बनाउन उत्तिकै अपरिहार्य देखिन्छ । यस अघि पनि युनियन खारेज नभएको होइन । खारेज गर्दै पुनर्वहाली गर्दै गरिएको संगठनलाई अब सँधैका लागि खारेजै गरिदिए उत्तम हुने भन्नेहरु अत्याधिक देखिन्छन् । विश्वविद्यालय अब कुनै पार्टीको दबाबमा बस्न नहुने भन्दै स्वायत्ततताको खोजि पनि हुन थालेको छ । 

यसअघि २०७९ चैत्र ५ मा सम्पन्न भएको स्ववियु निर्वाचनले २ वर्षे कार्यकाल सकिने र कानुनी जटिलतालाई हेरेर आज देशभरका टियु अन्तर्गतका क्याम्पसहरुमा चुनाव हुँदैछ । प्रत्येक २–२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रूपमा हुन सकेको थिएन । ६ चैत २०६५ मा भएको स्ववियु निर्वाचन एकैपटक १५ चैत २०७३ मा भएको थियो । त्यसपछि ५ चैत २०७९ मा केही क्याम्पसबाहेक देशैभरि निर्वाचन सम्पन्न भएको थियो । त्यतिबेला नौवटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । अहिले त्यो संख्या बढेर १८ पुगेको बताइएको छ ।

स्मरणीय के छ भने नेपालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सबैभन्दा पहिले २०१८ सालमा भएको थियो । त्रिभुवन विश्वविद्यालयमा भएको यो निर्वाचनबाट नवराज सुवेदी सभापतिमा र दमननाथ ढुंगाना उपसभापतिमा निर्वाचित भएका थिए । तर, सभापतिमा निर्वाचित भएका सुवेदी तत्कालीन राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कु’ को समर्थन गर्दै राजाको पक्षमा वकालत गर्न थाले । त्यसपछि उनलाई विद्यार्थी आन्दोलनमा साथ नदिएको र निर्दलीय व्यवस्थामा प्रवेश गरेको भन्दै विशेष साधारणसभाबाट हटाइयो । उपसभापति ढुंगानालाई सभापति बनाइयो । यो विशेष रुपले विद्यार्थीको चरित्रसँग सम्बन्धित छ । तिनै सुवेदी अहिले गणतन्त्र नेपालमा पूर्वराजाको मोर्चाबन्दी सम्हाल्ने अवस्थामा पुगेका छन् । जसले राजसंस्था र हिन्दु अधिराज्य स्थापनाको जिम्मेवारी लिएको छ ।

यि र यस्तै विद्यार्थी राजनीतिलाई हेर्ने हो भने ठूला ठूला परिवर्तन भएका इतिहास छन् । तर विद्यार्थीको क्याम्पसभित्रको राजनीतिक सोच अझै परिवर्तनको भएको देखिँदैन । दलहरुको लगौटी बनेर उनीहरुको फेर समातेर दौडनु सिवाय नेपाली विद्यार्थी राजनीति अर्कोतिर मोडिन सकेको देखिँदैन । के जनहित के जनविरोधी, के राष्ट्रहित र के राष्ट्रविरोधी छुट्याउन उनीहरुको दलको मुख हेर्ने गरेका छन् । राजनीतिक दलको अभिष्ट पुरा गर्न उनीहरु त्यो बेलामा मुद्दा खोजिरहेका हुन्थे जहाँ जनविरोधी काम हुन्थ्यो त्यहाँ आवाज उठाउँथे तर अहिले त्यो लाइन पनि छोडिसकेका छन् । दलहरुले जुन बोली, भाषा, शैली बाहिर ल्याउँछन त्यही बोल्ी, भाषा र शैली उनीहरुको आवाज बन्ने गद्यृछ । हिजो राजतन्त्र भएको बखतमा लोकतन्त्रको लडाईमा दलभन्दा अग्रभागमा रहेर आन्दोलन गरेका विद्यार्थी नेताहरु धेरै यतिखेर संसदभवनभित्र रहेका छन् । तर तिनीहरुको विद्यार्थी आन्दोलनमा के भुमिका निभाए भन्ने कुनै दस्तावेज छैन राजनीति बाहेक ।  हिजोको राजनीति र आजको राजनीतिमा धेरै फरक आइसकेको छ । हिजो लोकतन्त्रका लागि भएको लडाई अब गणतन्त्र नै स्थापना भईसकेपछि विद्यार्थी राजनीतिको खेलो पनि सकिनु पर्ने हो तर त्यस्तो छनक कहिँ कतैबाट नदेखाई पुनः विद्यार्थीलाई नै पार्टीको लगौटी सम्झेर स्ववियुको निर्वाचनमा होमेर खर्च गर्नुलाई जनताले त्यति उचित ठानेका छैनन । अहिलेसम्म स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दर्जनौं नेताहरु उत्पादन भए तर लाखौं विद्यार्थीले त्यसबाट दुःख पाएको दृष्टान्त भुलेर फेरी उहि पेराफेरीमा निर्वाचनमा विद्यार्थीलाई पु¥याउनु त्रिभुवन विश्वविद्यालयको असफलता हो भन्दा फरक नहोला । स्ववियु निर्वाचनको इतिहास, महत्व, उद्देश्य र यसका प्रभावका बारेमा विद्यार्थीले नबुझी, नबुझाई एकै पटक निर्वाचनमा होमिनु किमार्थ उचित छैन र हुँदैन ।

आज देशमा विद्यार्थीको शक्ति कसैले आँकलन गर्न सक्दैन । देश बनाउन र बिगार्न विद्यार्थी लागेभने छिनभरमै तहसनहस पारिदिन्छ भन्ने उदाहरण विगतको नेपालभित्रै भएका इतिहास र गतवर्ष मात्र बंगलादेशमा विद्यार्थी आन्दोलनबाट झण्डै तीन चौथाई सांसदको पकड बोकेर बसेकी सेख हसिनालाई शरणार्थी बनाइदिएको घटना ताजै छ । यस्तो विरासत बोकेका विद्यार्थीको शक्तिलाई नेपालले दलको गोजीभित्र राखेर प्रयोग गर्नु दुखद् रहेको छ । विद्यार्थी र विद्यार्थी राजनीतिको विषयलाई जोडेर संसदमा समेत पटक पटक कुरा नउठेका होइनन् ।  रास्वपाका उपसभापति स्वर्णीम वाग्लेले भने– १९६८ मा पाश्चात्य जगत नै हल्लाउने गरी टोकियोदेखि पेरिस र लण्डनदेखि सानफ्रान्सिसम्म भएका विद्यार्थी आन्दोलनले ठूलो परिवर्तन ल्याएका छन् । दोस्रो विश्वयुद्धपछि जन्मेको पुस्ताले भियतनाम युद्ध, लैंगिक समानतादेखि लिएर अनेकन मुद्दाहरु उठाएर सफल आन्दोलन भए । चीनमा पनि विद्यार्थीहरुले गरेको आन्दोलनबाट नै राजनीतिले कोल्टे फेरेको थियो । नेपालमा पनि २०३६ सालको आन्दोलनलाई हेर्दा जुल्फिकर भुट्टोलाई फासी दिएपछि भड्किएको आन्दोलनले नेपालका नेताहरुलाई कालोमोसो दलेर ठेलागाडामा राखेर घुमाएका इतिहास छन् । ति प्रेरणादायी राजनीतिक परिवर्तननका गौरवान्वित घटनाहरुलाई सबैले सदैव सम्झनुपर्ने हुन्छ । तर त्यस्तो ऐतिहासिकता पृष्ठभूमि बोकेको विद्यार्थीले केही हप्तादेखि कलेजहरुमा ताण्डव देखाउँदैछन । कतै तालबन्दी, बन्दहड्ता, कुटपिट, तोडफोड, चन्दा आतंक देखि दलगत रुपमा गुटगत प्रदर्शनीले माउ पार्टीका कमाण्डरहरु नै तोकेर कणकणमा राजनीतिकरण र दलीयकरण गरिएको छ । विश्वविद्यालय र उच्चस्तरीय पढाईका प्रणालीहरुलाई क्षतविक्षत पारिएको छ ।

चेतनाको थलो हुनुपर्ने क्याम्पसमा आज रणमैदान बनाइएका छन् । विश्वविद्यालय स्वायत्त हुनुपर्नेमा त्यस्तो देखिँदैन । सामान्य तरिकाले निर्वाचन गराउँदा पनि सकिने ठाउँमा प्रतिष्ठाको लडाई लडिराखिएको छ अशोभनीय मात्र छैन निन्दनीय नै छ । प्रतिभाशाली विद्यार्थी र प्रचार्यहरुको पलायन डरलाग्दो देखिन्छ । हजारौं नोअब्जेक्सन लेटरमार्फत यि प्रतिभाशाली व्यक्तित्व पलायन भईरहेका छौं । केही दर्जन नेता उत्पादनका लागि लाखौं युवाहरुको भविष्य अन्धारमय बनाउने तरिका नै गलत देखिन्छ । समाजमा घृणा फैलाउने कारखानाको रुपमा विश्वविद्यालयबाट विद्यार्थी उत्पादन भईरहेको छ । संसदीय अभ्यासमा धेरै नेताहरु पुगेका छन् तिनीहरुले विश्वविद्यालय, कलेज वा विद्यार्थी सुधारमा के भूमिका खेलेर आएका छन् त्यो इतिहासको कठघरामा उहाँहरु उभिनुहुनेछ । भर्ना दर घटेको छ, प्रविधिमा लगानी छैन, अनुसन्धान ठप्प छ । सोच छैन तर पलायनको डरलाग्दो चित्र मात्र देखिन्छ । स्ववियुको संरचना र निर्वाचन प्रक्रियामा सुधारको खाँचो देखिन्छ । पार्टीहरुको दबदबा र हस्तक्षेप नहुने कानुनी प्रबन्ध गर्न पनि उत्तिकै आवश्यक देखिन्छ । स्ववियुको भुमिकामै पुर्नपरिभाषित गर्नुपर्ने पनि देखिन्छ । चन्द असुलीको थलो र आतंकको अखडा होइन विद्यार्थी कल्याणको ज्ञानकुञ्जमा परिमाजर्न गर्न विश्वविद्यालयको स्वायत्तका लागि फरक ढंगले छलफल र बहस गरेर लाखौं विद्यार्थीको भविष्यप्रति चिन्तित हुनेतर्फ अग्रसर हुन उत्तिकै आवश्यक देखिन्छ । विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमूलक, नविन विचारको थलो बनाउने कि पार्टीको थलो बनाएर उच्च शिक्षा प्रणालीलाई ध्वस्त बनाउने यो रोजाई अब समाजका अगुवाहरु वा विचारकप्रति मात्र होइन संसदप्रति पनि तेर्सिएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया