शैक्षिक संस्थाभित्रको गुण्डागर्दीमा प्रशासनको सुरक्षा रणनीति फितलो

खगेन्द्र कार्की

पछिल्लो समय शैक्षिक क्षेत्र अराजक बन्दैछ । शिक्षाका नाममा अर्वौं रकम खर्च भइरहेको छ त्यतिकै रकम बाहिरीइरहेको छ । सभ्यता, ज्ञान र विवेकको भण्डार बनेका शैक्षिक मन्दिरहरु रणमैदानमा परिणत भइरहँदा प्रशासन भने मौन देखिएको छ । प्रशासनिक सुरक्षा व्यवस्था कमजोर देखिएको छ । यस्तै दृश्य देखियो विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा । दिनदहाडै बन्चरो लगायतको हातहतियारसहित विद्यार्थीहरु एकआपसमै भिडिरहेका दृश्यहरु सामाजिक सञ्जालमा छरपष्ट भए । विद्यार्थीहरुमा एक खालको त्रास फैलियो । चिन्ता प्रकट गराए पनि विद्यार्थी संगठन र क्याम्पस प्रशासनको खासै चासो गएन जुन दुर्भाग्य पनि हो । भविष्यका कर्णधार मानिएका, भोली देश बनाउने जिम्मेवारी बोकेका विद्यार्थीहरुबीचमै यसरी शैक्षिक मन्दिरभित्र बन्चरो र लाठी नचाउन थालेपछि अर्को पुस्ताले तिनीहरुबाट के सिक्ने भन्ने मूल प्रश्न खडा भएको छ ।

केही सिकाउनुपर्ने देशका ठूला कलेजका विद्यार्थीले गरेका यस्ता गलत प्रवृत्तिबाट एसईई दिन पाएको छैन विदेश पढ्न जाने कलिला नानीहरुको मनस्थितिमा यो घटनाको छाप कस्तो पर्ला रु दैनिक रुपमा पढ्न विदेश जाने र पढाई छोडेर कामका लागि विदेशिनेहरुको भिडमा नेपालमा घट्ने यस्ता घटनाले कुन स्तरको चेतनाको विकास गर्ला भन्ने चिन्ता र चासो बढेको छ ।

शिक्षाका धेरै कुरा हुन्छन् भाषणमा । कसैले व्यवस्थित गर्ने भन्छन, अन्तर्राष्टिूय स्ट्याण्डर्डमा लाने भन्छन्, कोही नेपाली समाजसँग मिल्दोजुल्दो शैक्षिक अवस्थाको वकालत गर्छन्, कसैले शैक्षिक संस्थाभित्र राजनीतिक दलको लागेको टिका हटाउने भन्छन्, कसैले विद्यार्थी संगठनको संरक्षण गरेर राख्ने भन्ने गरेपनि परिणम शून्य देखिन्छ । अझै पनि शैक्षिक माफियाको जंगुलबाट शैक्षिक क्षेत्र माथि उठ्न सकेको छैन । धेरै नेताहरुका आ९आफ्नै कलेज र विद्यालय भइदिँदाको परिणामले शैक्षिक सुधारमा पनि सरकारले ठोस कदम चाल्न सकेको छैन, दीर्घकालिन शैक्षिक नीति बनाउन सकेको छैन । तिनै नेता र सरकारको घेराभन्दा बाहिर कुनै पनि विद्यार्थी संगठन निस्कन सकिरहेका छैनन् । राजनीतिक दलका नेता तथा विज्ञहरु जो जसले जे जस्ता विचार राखेपनि ती फगत विचारमै सीमित देखिएका छन् । खासै त्यसको दूरगामी प्रभाव भने हुन सकेको छैन । केही दशकदेखि शैक्षिक संस्थाभित्रका राजनीतिक दलका पिल्लर मानिएका विद्यार्थीहरुले नेता र सरकारको चाकडी चाप्लुसी बाहेक शैक्षिक क्षेत्रका लागि खासै योगदान दिन सकेको देखिँदैन ।

विगतमा विद्यार्थी संगठनहरुले आ९आफ्ना माउ राजनीतिक नेताहरुको अभिष्ट पूरा गराउन जनताका मुद्दा लिएर हिंड्थे । पेटूोलियम पदार्थको मूल्यवृद्धि गर्दा रत्नपार्कदेखि देशभरका सडक बार र संरचना आन्दोलनको नाममा भत्काइएको हिजो जस्तो लाग्छ । यस्ता दर्जनौं मुद्दा हुन्थे, विद्यार्थीका मुद्दा उत्तिकै उठाउथे त्यो सबै इतिहास भएको छ । २०६२र०६३ को आन्दोलनबाट गणतन्त्र स्थापना भएपश्चात् विद्यार्थी संगठनहरु मुद्दाका हिसाबले सुतेर कताबाट राज्यकोषको रकम निकाल्न सकिन्छ त्यतैतिर लागेको देखिन्छ ।

आज जनताका मुद्दा विद्यार्थीहरुले छोडेका छन् र राज्यबाट संरक्षित रहेर राज्यकोषको दोहन गरेर बेला बेला उदण्डता मच्चाएर बसेका मात्र देखिन्छन् । हिजो राजनीतिक दलको पिलर बनेको शैक्षिक संस्थाभित्रको राजनीति आज संरक्षणको नाममा राज्यकोष दुरुपयोगको आधार बनेको छ । त्यही संरक्षणको आधारमा शैक्षिक मन्दिरभित्र विद्यार्थी संगठनको अराजकताले बेला बेला सिमा नाघ्ने गरेको देखिन्छ । विराटनगरको महेन्द्र मोरङ कलेजभित्रको घटना पनि यसैको परिणाम हो भन्दा गलत नहोला ।

राजनीतिका नाममा भएको हिंसात्मक झडपले गम्भीर चिन्ता उत्पन्न गराएको छ । नेविसंघका दुई समूहबीच भएको झडपले शैक्षिक संस्थाभित्र नै अराजकता मौलाइरहेको पुष्टि गर्दछ । यस्तो घटनाले शैक्षिक वातावरणलाई नकारात्मक रूपमा असर पार्दैछ । एउटै दलका विद्यार्थी संगठनबीच भएको यो झडपबाट उनीहरुको माउ पार्टी कसरी चलिरहेको छ भन्ने उदांगो बनाएको छ । बाहिर जति नै एकता देखाए पनि यो नेवि संघभित्रको झडपले गुटको खेतीमा लागेको प्रष्ट देखाएको छ ।

क्याम्पसमा दिनदहाडै हातहतियारसहित झडपको घटनाले विद्यार्थीहरु त्रसित हुने अवस्था भनेको छ । यस्तो घटनाहरू बारम्बार भइरहँदा पनि प्रशासनको मौनता गम्भीर चिन्ताको विषय हो । क्याम्पसभित्र हिंसात्मक गतिविधि बढ्नुको प्रमुख कारण नै राजनीतिक संरक्षण हो । विद्यार्थी राजनीतिलाई स्वार्थपूर्तिको साधन बनाइँदैछ । जसका कारण क्याम्पस गुण्डागर्दीको अखडा बन्दै गएको छ ।

क्याम्पसमा हुने गरेका यस्ता गुण्डागर्दीमा लागेकाहरुलाई समेत राजनीतिक संरक्षण भइदिँदा कानुनी राज्यको उपहासले अराजकतालाई मलजल गरेको छ । यसर्थ यस्ता अराजकता रोकेर शैक्षिक संस्थाभित्रको सुरक्षा संयन्त्र प्रभावकारी बनाउँदै सरकारले यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारवाही गर्न आवश्यक देखिन्छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया