मलेसियाले नेपालका २५ म्यानपावर कम्पनीलाई श्रमिक भर्नाका लागि सूचीकृत गर्‍यो, मलेसियाको निर्णयप्रति नेपालको असन्तुष्टि

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । मलेसियाले नेपालसहित १० स्रोत मुलुकका म्यानपावर कम्पनीलाई विदेशी श्रमिक भर्नाका लागि सूचीकृत गरेको छ। मलेसियाको ‘विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली’ (एफडब्लूसीएमएस) मा नेपालका २५ म्यानपावर कम्पनी सूचीकृत भएका छन्।

मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार एफडब्लूसीएमएसमा फिलिपिन्सका ९९, श्रीलंकाका ४०, भियतनामका ४०, नेपाल र बंगलादेशका २५–२५, कम्बोडियाका २३, भारत, म्यानमार र पाकिस्तानका १०–१० तथा थाइल्यान्डको एक म्यानपावर कम्पनी सूचीकृत छन्।

नयाँ व्यवस्थाअनुसार मलेसियाका रोजगारदाताले एफडब्लूसीएमएसमा सूचीकृत म्यानपावर कम्पनीमार्फत मात्रै विदेशी श्रमिक भर्ना गर्न पाउनेछन्। मन्त्रालयले विदेशी श्रमिक भर्नासम्बन्धी नयाँ प्रक्रिया शनिबारदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको जनाएको छ।

रोजगारदाताले एफडब्लूसीएमएसमार्फत अनलाइन आवेदन दिएपछि प्रारम्भिक स्वीकृतिको प्रक्रिया अघि बढ्नेछ। आवेदन पूरा गरी तोकिएका मापदण्ड र सर्त पूरा भए १४ दिनभित्र ससर्त स्वीकृतिपत्र प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

तर, मलेसियाले नेपाल सरकारसँग सहमति नलिई म्यानपावर कम्पनी सूचीकृत गरेको भन्दै नेपालले आपत्ति जनाएको छ। नेपालका अनुसार यस्तो विषय दुई देशबीचको संयुक्त प्राविधिक समितिको बैठकबाट टुंग्याउनुपर्ने हो।

यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाले सूचीकृत गरेका २५ वटै म्यानपावर कम्पनीलाई हाललाई निलम्बन गर्दै सोमबारसम्म स्पष्टीकरण दिन निर्देशन दिएको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया