आज बिहीबारदेखि देशभर (पहिला आइरन गेट भनिन्थ्यो) एसईई परीक्षा सञ्चालन हुँदैछ । सो परीक्षामा कोशी प्रदेशबाट ८२ हजार बढी विद्यार्थी सहभागी छन् । झापाबाट १७ हजार बढी विद्यार्थी सहभागी छन भने मोरङबाट १८ हजार बढी, सुनसरीबाट झण्डै १४ हजार विद्यार्थी सहभागी भएका छन् । देशभरबाट ५ लाख ८ हजार ३ सय ९० विद्यार्थी परिक्षाहलमा प्रवेश गरेका छन् । यस पटकको एसईईमा एचआइभी सफलता शिक्षा सदनबाट चार जनाले परीक्षा दिँदै छन् । त्यस्तै देशभर २५ जना दृष्टिविहीन पनि सहभागी छन् । मदरसाबाट ३५ र गुम्बाबाट २४ जना परीक्षार्थी सहभागी भएका छन् । संख्यात्मक रुपमा भर्नाको अवस्था हेर्दा विद्यार्थीहरुको सहभागिता चित्त बुझाउने माध्यम बन्ला तल भर्नाको अवस्था हेर्ने हो भने त्यसको आधा भन्दा बढी विद्यार्थी कक्षा देखि १० पुग्दा गायव भएको देखिन्छ । सञ्चालन भईरहेको एसईई परीक्षामा २०७२ सालमा भर्ना विद्यार्थीको संख्या ९ लाख २७ हजार ९ सय ९३ रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ तर अहिले परीक्षामा सहभागी नियमिततर्फ ४ लाख १८ हजार ३ सय ५५ विद्यार्थी मात्र रहेका छन् । त्यो भनेको ४५ प्रतिशत विद्यार्थी एसईई परीक्षामा सहभागी भएको देखिन्छ भने बीचमा विद्यार्थीको ठूलो हिस्सा अर्थात् ५५ प्रतिशत विद्यार्थी गायव भएका छन् ।
सरकारले प्रत्येक वर्ष ताम्झाम्का साथ सामुदायीक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्छ । तर कक्षा १ मा जति विद्यार्थी भर्ना हुन्छन् । १० कक्षाको परिक्षा दिंदासम्म त्यसको आधा भन्दा बढी विद्यार्थी हराउँछन् । त्यसको खोजी कसले गर्ने ? भर्ना अभियानका क्रममा विद्यालयको पँहुचमा विद्यार्थी पुगेपनि विचमै छोड्ने तथ्याङ्क भने डरलाग्दो देखिएको छ ।
सबैभन्दा ठूलो कमजोरी विद्यालयले विद्यार्थीको खोजी नगर्नु र राज्यले हराएका विद्यार्थीप्रति चासो नदेखाउनु नै रहेको छ । अभिभावकको शिक्षाप्रतिको नैरास्यताले पनि ठूलो भूमिका खलेका देखिन्छ ।
आर्थिक अवस्था कमजोर भएका कारण आफ्ना छोराछोरीलाई अभिभावकले दैनिक गुजारा चलाउन काममा पठाउनुपर्ने बाध्यता, सानै उमेरमा पढाई छाडेर बिहे गर्दिने, विद्यार्थीले पढ्नमा रुचि कम राख्नु, विद्यालयले विद्यार्थी खोज्न र टिकाउन ध्यान नदिनु लगायतका कारण विद्यालय छाड्ने प्रवृत्ति बढेको शिक्षाविद्को भनाई छ । यसरी बीचमै विद्यालय छोड्नुमा विद्यालय, विद्यार्थी, अभिभावक र सरकार पनि दोषी देखिन्छ । सरकारले शिक्षा स्थानीय तहलाई जिम्मेवारी दिँदा पनि ती विद्यार्थीको खोजी नहुनु दुखद् छ ।
सामुदायीक विद्यालयबाट हराएको ५५ प्रतिशत विद्यार्थीहरु सबै विद्यालयको पहुँच बाहिर पुगेको भनेर अर्थाउन हुने कि नहुने ? यो यक्ष प्रश्नको उत्तर कसले दिने ?– हराएका भनिएका कतिपय विद्यार्थीहरु निजी स्कुलमा भर्ना भएका छन् । गुणस्तरीय शिक्षाका लागि भन्दै कतिपय अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई सामुदायीक विद्यालयबाट निकालेर निजी विद्यालयमा भर्ना गरेका छन् । त्यसैले हराएका सबै विद्यार्थी विद्यालय बाहिर रहे वा ड्रपआउट भनेर विश्लेषण गर्न मिल्दैन । अर्कातर्फ हराएका सबै विद्यार्थीहरु निजी विद्यालयमा पुगेका पनि छैनन् । यसको केही प्रतिशत बालबालिका भने विद्यालयको पहुँच बाहिर पुगे । यो गंभिर समस्याको रुपमा देखियो । यस्ता विद्यार्थीको खोजीका लागि गहिरो अध्ययन र अनुसन्धान हुनु आवश्यक रहेको देखिन्छ ।
सामुदायीक विद्यालयमा भर्ना भएका १०० जना विद्यार्थीमा ५५ जना विद्यार्थी सामुदायीक विद्यालयबाट बाहिरिने अवस्था सृजना हुनुमा राज्य जिम्मेवार हुने कि नहुने ? भर्ना अभियान केका लागि गरिन्छ ? भर्ना अभियान केवल भर्नाका लागि मात्र गर्ने कि विद्यालयको पहुँच बाहिर रहेकालाई विद्यालयमा ल्याउने हो ?– सरकारले विद्यार्थी टिकाउने उद्देश्यले दिवा खाजा, छात्रावृत्ति, निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि त्यो हराउने संख्या मेट्न सकेको देखिँदैन । आर्थिक वर्ष ०७१ देखि ०८० को हराएको विद्यार्थीको प्रतिशत हेर्दा भने अहिले घटेको देखिन्छ । त्यसबेला ६३ प्रतिशत रहेको थियो । विद्यार्थी टिकाई राख्ने चुनौति उस्तै छ । विद्यालय व्यवस्थापन, अभिभावक र स्थानीय सरकार, शिक्षा इकाई सबैले अनुसन्धान गरी विद्यालय छाड्नुपर्ने कारण पत्ता लगाएर समाधानको बाटो खोज्नुपर्ने दायित्व बढेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो