सरकारको प्रोत्साहन मिले कृषिमा धेरै काम गर्न सकिने इटहरीका कृषक पुरीको अपेक्षा

खगेन्द्र कार्की

१७ वर्षको उमेरमै बाबुआमा गुमाएका इटहरी–१९ का मनराज पुरी परिवारको भारी बोक्न नसकेर विदेशिए । सामान्य परिवारका पुरी झण्डै एकदशक आफ्नो उर्जाशिल उमेरको शक्ति र समथ्र्य विदेशमै खर्च गरेपछि त्यो उर्जा र मेहनतले त नेपालमै केही गर्न सकिन्छ होला भन्ने आशमा स्वदेश फर्किएर कृषि कर्ममा लागे । कृषि कर्ममा उनले पशुपालन र मौरी पालनलाई रोजे जुन रोजाई आज सहि सावित मात्र भएन पुरीको जीवनस्तर नै अर्कै बनाइदिएको छ । 

प्रवासी जीवनमा उर्जाशिल उमेर खर्चिएका पुरीले विदेशबाट त्यति ठूलो केही ल्याएनन तर सामान्य व्यापार व्यवसाय गर्ने पुँजीको संकलन भने गरेरै फर्किएका थिए । त्यही विदेशको सानो कमाईलाई उनले कृषि कर्ममा लगाएर व्यवसाय सुरु गरे । कृषि कर्म गर्नु अगाडि उनी धेरै भौतारिए, सानो पुँजी लगानी नडुब्ने ठाउँको खोजीमा भौतारिँदा भौतारिँदै उनले अन्तः कृषि नै दिगो र दीर्घकालिन पेशा देखे र त्यहीबाट सुरु गर्न थाले । 

गाईबाख्राबाट व्यवसाय सुरू गर्दै पछिल्लो समय मौरीपालन थपे । अहिले उनलाई आम्दानीको ठैलो टेको मौरीले दिइरहेको सफलताको कथा सुनाउँछन । उनी भन्छन– “यो व्यवसायले आफू आत्मनिर्भर बनेको जस्तो महसुस भएको छ, आफ्नो व्यवसायले दिने जति आनन्द अरूको नोकरी गर्दा पाइँदैन”, उनले भने, “अहिले यही व्यवसायबाट वार्षिक रूपमा आठदेखि नौ लाखसम्म कमाई हुने गरेको छ, घरव्यवहार सबै यही कमाईले धानेको खुशी उनी बाँड्छन । 

व्यवसाय सहज नहुने तर्क उनको छ । उनी भन्छन– व्यावसाय सुरू गर्दा चुनौती र अवसर त हुन्छन् नै । गाईपालन गर्दा दूध उत्पादन गरी बिक्री गर्न गाह्रो पो होला बजार नपाइएला भन्ने लागेको थियो तर निकै सहज भएको उनको बुझाइ छ । “अहिले दैनिक रूपमा ४० देखि ५० लिटरसम्म दूध आफैँले स्थानीय बजार होटल र डेरीमा बिक्रीका लागि पुर्याउने काम गरिरहेको छु”, मनराज भन्छन । उनले अगाडि थपे, “विदेशमा गएर अर्काको दुःख गर्नुभन्दा आफ्नै देशमा सानोतिनो लगानी गरेर भए पनि राम्रो आम्दानी गर्न सकिन्छ । गाउँमै रोजगारीको सिर्जना पनि हुने अरूलाई पनि रोजगार दिन सकिने आफू लागि पनि रोजगार हुने ।”

मनराजले पशुपालन व्यवसाय सुरू गरेसँगै गाईफार्ममा दुई जना कामदारलाई रोजीरोटी दिएका छन् । हिजो दुरदराज गाउँ, घर, परिवार सबै बिर्सेर अर्काको देशमा काम गर्न गएका पुरी गाउँमै रोजगार दिन पाउँदा गर्व महसुस भएको सुनाउँछन् । “आठ वर्षदेखि उनीहरूले काम गर्दै आइरहेका छन् । महिनामा रू २२ हजार काम गरेबापतको तलब दिने गरेको थिएँ”, पुरीले भने, “पछिल्लो केही महिनाअघि उनीहरूले काम छाडेपछि अहिले हामी आफैँ परिवार मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ ।”

“गाई र खसीबाख्रालाई दिने घासको खासै दुःख छैन, आफँैले गाईलाई दिने घाँस आफ्नै बारीमा रोपेका छौँ”, उनले भने, “एक बिघा बढी जग्गामा धानखेती गर्ने गरेका छाँै । त्यहाँबाट गाईका लागि पराल घाँस आउँछ, घासँको दुःख हुँदैन घाँस बाहिरबाट खासै खरिद गर्न परेको छैन ।” उनका अनुसार खसीबाख्राचाहिँ अझ केही चरन र डालेघाँस बढाएर पाल्न सकियो भने सम्भावना राम्रो छ ।

मनराजले मौरीपालनमा राम्रो आम्दानी हुने देखेपछि एक वर्ष अगाडि चार घार मौरी किनेर सुरू गरेका छन् । अहिले उनीसँग ४० घार बढी मौरी रहेका छन् । उनले भने, “सुरूमा हेर्दा मौरीबाट के आम्दानी होला र जस्तो लाग्ने तर विस्तारै घार बढाउँदै लगेँ र यहाँबाट राम्रो आम्दानीको सम्भावना देखेपछि अहिले मौरीपालनलाई अझ बढी प्राथमिकता दिएर सञ्चालन गरिरहेको छु ।”

“मौरीपालन अरूले गरेको देखेर सुरू गरेको हुँ, सम्भावना पनि राम्रो देखेको छु”, उनले भने, “मौरी फूलको सिजनमा भने धेरै उत्पादन गर्न सकिन्छ २२ देखि ३० दिनमा मह काढ्न मिल्छ, उत्पादन पनि धेरै हुन्छ ।” फूल फुल्ने सिजन र स्रोत नहुँदा भने कहिले तीन महिनासम्म समय लाग्ने गरेको उनी अनुभव सुनाउनुहुन्छ ।

मनराजले मौरीको घार गोटाको रू १४ हजारमा खरिद गरेर पालिरहेका छन् । एउटा घारमा एक पटक मह काढ्दा छ केजीसम्म उत्पादन हुने गरेको उनले बताए । उनले भने, “बिक्रिका लागि इटहरीकै स्थानीय बजारमा बिक्री गर्दै आएको छु ।”

गाउँमै मौरीपालन र परामर्श तालिम किसानले लिन पाए भने मौरीपालनबाट राम्रै आम्दानी गर्न सकिन्छ । गाउँमा नै उत्पादन गरिएको अग्र्यानिक मह बिक्री गरी राम्रो मूल्य लिन सकिने उनको अनुभव छ । अहिले उनले मह प्रतिकेजि रू सात सय ५० देखि रू एक हजारसम्ममा घरबाट नै बिक्री गर्ने गरेको बताए ।

मौरीपालन कम लगानीबाट पनि सुरू गर्न सकिन्छ । लगानी गरेर यसलाई राम्रो दिगो आम्दानीका रूपमा गर्न सकिने व्यवसायका रूपमा लिन सकिन्छ । राम्रो व्यवस्थापन बजारको अध्ययनसँगै आधुनिक प्रविधिसँगै सरकारबाट राम्रो अनुदान पाउनसके मौरीपालनबाट पनि आम्दानीको सम्भावना बढ्दै जाने उनको भनाइ छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया