विराटनगर । महिलाका लागि सबैभन्दा सुरक्षित आश्रयस्थल मानिने घरभित्रै उनीहरू अत्यधिक असुरक्षित रहेको तथ्यांक महिला पुनस्र्थापना केन्द्र (ओरेक) सार्वजानिक गरेको छ । विराटनगरमा बुधबार ओरेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कोशी प्रदेशका तीन जिल्लामा अभिलेखित कुल महिला हिंसाका घटनामध्ये ६६.४ प्रतिशत घटना घरभित्रै घटेका छन् । यसले पारिवारिक संरचनाभित्रै महिलाले भोग्नुपरेको गम्भीर हिंसा र असुरक्षाको भयावह चित्र उजागर गरेको छ ।
जनवरीदेखि जुन २०२५ सम्म कार्यालयमा आएका, सुरक्षा आवासमा सेवा लिएका, हटलाइनमा आएका र जिल्लाबाट अभिलेखिकरण गरिएका तथ्याङ्कलाई समेटेर त्रैमासिक प्रतिवेदनको रूपमा यो प्रकाशन गरिएको हो । जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा कोशी प्रदेशका तीन जिल्लाहरू (उदयपुर, सुनसरी र मोरङ) मा महिला हिंसासम्बन्धी कुल २११ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखीकरण भएको छ । यसमध्ये ५० जना हिंसा प्रभावितहरूले सुरक्षावासमा सेवा लिएका थिए भने अन्य १६१ वटा घटनाहरू सेवा लिने सेवाग्राहीहरूको रहेको ओरेक नेपाल कोशी प्रदेशकी कार्यक्रम संयोजक शोभा बजगाइँले जानकारी दिइन् । ‘उक्त घटनाहरूलाई विश्लेषण गर्दा सबैभन्दा बढी १४० वटा घटना घरेलु हिंसाबाट प्रभावित भएको देखिएको छ,’ उनले भनिन् । उनले घरेलु हिंसालाई निजी मामिलाको रूपमा लिने प्रवृत्तिका कारण समाजमा अझै पनि धेरै घटनाहरू बाहिर आउन नसकेको र महिलाहरू हिंसा सहन बाध्य भएको बताइन् ।
ओरेकले सङ्कलन गरेको तथ्याङ्कअनुसार, घरेलु हिंसा सबैभन्दा बढी १४० घटना रहेको छ, जसमा मानसिक, शारीरिक तथा भावनात्मक हिंसा समावेश छन्। यौन हिंसाका ४६ वटा घटनामा जबर्जस्ती करणी, यौन दुव्र्यवहार र बाल यौनदुव्र्यवहार प्रमुख रहेका छन्। सामाजिक हिंसाका १२ वटा घटना दर्ता भएका छन्। त्यस्तै अन्य हिंसाअन्तर्गत १३ वटा घटनामा प्रभावितहरूले मानसिक हिंसा, साइबर धम्की भएको कुरा उल्लेख गरेका छन् ।
उमेरका आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरू हिंसाबाट प्रभावित भएका छन् । १८ वर्षभन्दा मुनिका १९ प्रतिशत किशोरी, १९ देखि २५ वर्ष उमेर समूहका २४ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेर समूहका १५ प्रतिशत, ४६ देखि ५५ वर्ष उमेर समूहका ५ प्रतिशत र ५६ वर्ष उमेर समूहभन्दा माथिका ५ प्रतिशत महिला हिंसाबाट प्रभावित भएका छन् ।
प्रभावित र आरोपितबीचको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी हिंसा श्रीमान्बाट भएको छ, जसले कुल घटनाहरूमध्ये ५७ प्रतिशत ओगटेको छ । यसले पारिवारिक संरचनाभित्र हुने हिंसाको अवस्थालाई उजागर गरेको छ । परिवारका अन्य सदस्यबाट ३८ घटनाहरू, छिमेकीबाट २६ वटा घटनाहरू, प्रेमीबाट १६ वटा, अपरिचित व्यक्तिहरूबाट ८ वटा र परिचित व्यक्तिहरूबाट ६ वटा घटनाहरू भएको देखिएको छ । यो तथ्याङ्कले शक्ति सम्बन्धको असन्तुलन र विवाह संरचना समानतामूलक नहुँदा नजिकका व्यक्तिहरूबाटै महिलाहरूले हिंसा भोगिरहनुपरेको स्पष्ट गर्ने जानकारहरुले बताएका छन् ।
“महिलामाथि भइरहेको हिंसाको प्राप्त तथ्याङ्कले महिलाको सुरक्षित आश्रयस्थल मानिन्छ, त्यहीँ उनीहरू असुरक्षित देखाएको छ । पितृसत्तात्मक सोच, महिलाको शरीरमाथि स्व–निर्णय स्थापित हुन नसक्नु र हिंसालाई निजी मामिला ठान्ने प्रवृत्तिका कारण सयौँ घटनाहरू अझै पनि लुकाइएका छन्,’ कार्यक्रम संयोजक बजगाइँले भनिन्, “घरेलु हिंसालाई कानुनी र सामाजिक अपराधको रूपमा स्वीकार गरी यसको अन्त्यका लागि व्यक्ति र सामाजिक संरचना दुवैको सोच र व्यवहारमा परिवर्तन ल्याउनु अपरिहार्य छ ।’ कानुनको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि, लैंगिक समानताका लागि शिक्षा र पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्न राज्य, नागरिक समाज र समुदायको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो