होली पर्वको आह्वान : शान्ति र एकता

फाष्ट मिडिया नेपाल संवाददाता


कौन ताल पर ढोलक बजे कौन ताल पर मृदङ्ग

कौन ताल पर गौरिया नाचे कौन ताल पर हम

        जोगिरा सररर ....जोगिरा सररर

गत चैत्र १ गते होली पर्व तराईमा धुमधामका साथ माथिका गीत लगायत होली पर्वका अनेकन गीत सहित सम्पूर्ण नेपालीहरुले होली पर्व मनाए । पौराणिक आख्यान, स्थानीय विश्वास, मनोरञ्जन र पर्यावरण सबैसँग कुनै न कुनै ढङ्गले फागु पर्व जोडिदै आएको छ । आपसी सदभाव, मिलन, सहिष्णुताको भावले पहाड अनि तराइका वासिन्दाहरुले हर्षोल्लासका साथ मनाउदै आएका छन । लडाइँ, झगडा र कोलाहल नभइ एक अर्का प्रतिको मित्रमिलनको भावनाले सबै नेपालीले पहाड र तराईमा फागु पर्व मनाए । बढदो आधुनिकता, मानिसमा फुर्सदको अभाव, सहरमुखी हुनु, पुराना संस्कृति जोगाउन ध्यान नजानुले होली जस्ता मौलिक पर्वको आकर्षण दिनानुदिन घटदै गएता पनि हिजोआज बिकृत मानसिकताका कारण होलीका रङ्गहरुमा आँखा नै बिगार्नेगरि अनेकन रङ्गहरुको प्रयोग गर्दै आएका छन , युवापिडीहरुले । विशेषत ः होली पर्वभित्र धेरै प्रकारका विषयबस्तुहरु जोडिएर आएका हुन्छन । 

संस्कृत साहित्यमा विभिन्न ढङ्गले होलीको वर्णन गरिएको हुन्छ । खासगरिकन चौधौं शताब्दीमा लेखिएको गोपालराज वङशावलीमा देशमा शान्ति स्थापना गर्न होली उत्सवको आयोजना गरिएको कहानी छ । उतिबेला शान्तिको कामना विजय उत्सव वा मनोरञ्जन जुनसुकै अवसरमा गरिने सिन्दुरे जात्रा, होली उत्सव फागुन महिनामै जोडिएका विभिन्न किम्बदन्तीहरु आज दिनानुदिन फेरवदल भएपनि प्रत्येक वर्षको क्यालेन्डर पल्टाउनैपर्दा कहिले फागुन महिना त कहिले चैत्र महिनामा फागु पूर्णिमा पर्दै आएको छ । यो पर्व सङसङ्गै विभिन्न शास्त्रमा उल्लेख गरिएका सान्सकृतिक मुन्धुमहरु जसरी पुरानो तरिकाले मनाइदै आएको थियो, अचेल त्यो प्रचलनमा फरकपना आइरहेको छ । धार्मिक कुराहरुलाइ एकपटक सरसर्ती केलाउदा विष्णुभक्त प्रल्हाद उनका बाबु  हिरण्यकश्यपु र प्रल्हादको फूपू होलिकासङ्ग प्रसङ्ग जोडिएको कथा छ । 

दैत्यराज हिरण्य कश्यपु देवता बिष्णुलाई परम शत्रु मान्थे बिष्णुको नाम मात्रै पनि कसैले उच्चारण गरेमा त्यसले सजाय पाउथ्यो । हिरण्य कश्यपुका छोरा प्रल्हादले नारदको विष्णुशक्तिबाट प्रभावित भएर विष्णु नाम जप्दै थिए,त्यतिखेर छोराको चालचलनबाट असन्तुष्ट भएर उनले कुनै तरिकाले उनलाई ठेगान लगाउन जालबाजी गर्ने प्रयत्न गरिरहे । उनले अपनाएका विभिन्न तरिकामध्ये प्रल्हादलाई ज्यूदै जलाउने प्रयत्न एउटा अमानवीय कार्य थियो । हिरण्य कश्यपु र उनकी प्राणभन्दा प्यारी ममतामयी बहिनी होलिकाको एकआपसमा राम्रो माया ममता थियो । होलिकालाइ ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान प्राप्त भएको थियो । त्योबेला समाजमा रहेर मानव धर्म र सेवागरेबापत परोपकारी कार्यमा हिँड्दा केही ब्यक्ति आगोमा परेका मानवहरुलाइ होलिकाले संरक्षण गरेर बचाएकी थिइन । चलाख हिरण्य कश्यपुले बहिनी होलिकालाई आफ्नो पकडमा ल्याउनका लागि अनेकन प्रलोभनमा पारेर उनकै पक्षमा पार्न विभिन्न चालबाजी गरेर आफ्नो हातमा पार्न सफल भए । तत्पश्चात् उनीहरूबिच संयमता र विवेकपूर्ण व्यवहारले आफूलाई आकर्षण गर्न सफलभए पश्चात्  होलिकाले प्रल्हादलाई काखमा राखेर आगोमा हाम फाल्ने निधो भयो । उनले राम्रो काम गर्न पाएकी हुनाले उनले त्यहाँपनि बाटो बिराइन । एउटा बालकलाई आफ्नो काखमा च्यापेर आगो सल्काउदा त्यसको परिणाम ठीक विपरीत भइदियो । त्यो बालकलाई आगोले डढाउन सकेन होलिका दनदनी आगोमा जल्न पुगिन । असत्यमाथि सत्यको बिजय भएका हुनाले अविर, सिन्दुर वातावरणमा उडाएर साङकेतिक रूपमा होलीको दोहन गरेर फागु पूर्णिमा मनाउने चलन उतिबेलादेखिनै चलिआएको हुनाले अहिलेसम्म तपाईं हामीले यो पर्व अनेकन तरिकाले मनाउन थालेका छौँ । यसरी पौराणिक कथासङ्गै किम्बदन्तीहरु पनि होली पर्वसङ्गै जोडिदै आएको छ । 

हाम्रो देश नेपालमात्र एउटा यस्तो देश हो जहाँ प्रत्येक जाती – जनजातिहरुको आ – आफ्नो प्रकारको धर्म, संस्कृति र रीतिरिवाज छ । यही कारणले नेपालको चाडपर्व मान्ने विविध तरिका आ–आफ्नै प्रकारले भएको हुनाले विश्वसामु उत्तिकै रूपमा नाम चल्दैआएको छ । नेपालमा विशेषत ः मैथिली, भोजपुरी, बङगाली, आदिवासीहरुले यो फागु पर्व अत्यन्तै हर्षोल्लासका साथ मनाउदै आएका छन । हामीलाई हाम्रा चाडपर्वहरुले खुसी, उमङ्ग साटासाट गर्छ, यसैमा जिएको छ यो भौतिक शरीर । बाचुन्जेल एकअर्काबिच कटुता सम्बन्ध राख्नुहुन्न । एकदिन यो देहले विश्राम लिन्छ, लिन्छ त्यो जानेरपनि हामी चेतनशील मानवहरु राजनीति बिषय लिएर सामाजिक संजालमा झगडा गर्छौ किन ? यो गर्न हुने हो या नहुने हो ? बुझेरपनि बुझ पचाइरहेका छौ , हामी । किन झगडा गर्नु, किन आरोपप्रत्यारोप लगाउनु एकअर्कालाई ? यो बन्द गर्नुपर्छ अब । देश प्रसव पीडामा छ, सरकार बेखबर छ, महङ्गीले आकाश छोएको छ, गरिबहरुको चुहिने खर टाल्न सक्दैन यो सरकार । रङ्गहरु बेरङ्ग र बेढङ्गका छन, यहाँ तस्करहरुको भीड छ । निम्छरो ब्यक्तिहरु केही गर्न सक्दैनन, खुलेआम तस्करी र भ्रष्टाचारीहरुको मिलिभगत छ । यहाँ कुचीकारदेखि माथिल्लो निकायसम्म सेटिङ्गमै देश चलेको छ । जसले जे भनेपनि भयो, कसैले केही गर्नेवाला छैन यहाँ ।

तपाईं जुनसुकै पार्टीमा लाग्नुस, एउटा पार्टीमा लागेर अर्को पार्टीमा रङ्ग दल्न जानुहोस, खुलमखुल्ला छ, तपाईंलाई । अर्काको चरित्र हत्या गर्नुहोस त्योपनि छुट छ, तपाईंलाई । यहाँ रङ्गहरु धेरै छन, त्यसमा कालो र रातो रङ्ग मिसावट हुँदा के हुन्छ, तपाईंलाई थाहै होला, कि थाहा भएन ? यसलाई गोलमटोल गर्नुहोस । भोका नाङ्गा, गरिब, किसानहरु आज भोकभोकै छन, तिनलाई बेवास्ता गर्नुस,रङ्ग दलिरहनुस, सिंहदरवारदेखि बालुवाटारसम्म रङ्ग दलेर नाटक गर्नुहोस जीत तपाईंकै होला । यो पक्का गर्नुहोस कि मिसन – ८४ नजिकिदैछ यहिबेला देशलाई दोहन गरेरै छोडनुहोस । ४६ देखि ८१ सम्म के – के गरेनौ ? गर्ने सबै गरिसक्यौ, बाकी के नै राख्नु भएन र  ? गर्नुस  अझै गर्नुस  रङ्ग न हो बेरङ्ग दल्दै जानुहोस । जनताले एकएक हिसाब किताब ब्यालेट पेपरमा राख्या छन, हिसाबकिताब बुझाउनमात्रै बाकी छ , समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन । सोच बिचार गरेर अघि बढनुहोस कि रङ्गहरुको होली पर्व खेल्नुहोस । जीत हार कसको होला त्यो तपसिलमा छन, अब समयले नेटो काटिसक्या छ, अनुहार हेरेर अघि बढ्नुहोस, सच्चिनुहोस, पुरानो विरासत हेर्नुहोस रुपान्तरण भएर आउनुहोस ।

नगर्नु गरिसक्नु भो

अब के नै छ र ?

गर्नु धेरै थियो

गर्नै सक्नु भएन

महङ्गीले गाउँ , सहरमा आँसु ल्यायो

तपाईं क्रान्तिकै कुरा गर्नुहुदैछ

शान्ति असरल्ल सडकमा जाम छन

रङ्गहरुको पर्वले

तपाईंको मष्तिष्कमा उज्यालो छर्न सकोस्

होली पर्वको आह्वान

शान्ति र एकता

होली पर्वको शुभकामना ।


 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया