कोभिडदेखि तलतल गिर्दै गएको नेपाली समाजको आयआर्जन ०८२ सम्म आइपुग्दा पनि झन नाजुक देखिँदा देखिँदै पनि जसोतसो सुख–दुःख, ऐँचोपैँचो जसरी भए पनि २०८२ सालको बडा दशैं बिदा भएको छ । यद्यपि यो दशैं हामी नेपालीहरूका लागि कुनै न कुनै रूपमा सम्झनायोग्य रह्यो। हाम्रा चाडपर्वहरूले हरेक वर्ष हामीलाई एकता, माया र सहअस्तित्वको सन्देश दिन्छन्। सुखसाथ यो पर्व मनाउनेहरूका बीचमा पनि कोही मनमस्त छन्, कोही पीडित। यो दशैं कतिपयका लागि खुसीको अवसर बन्यो भने कतिपयका लागि बाढी–पहिरो र प्राकृतिक प्रकोपले विनाश बोकेको क्षण बन्यो।
गत असोज १८ र १९ गतेको लगातारको वर्षाले अनेकौं नागरिकलाई घरवारविहीन बनायो। कैयौंले ज्यान गुमाए। यो कुनै नयाँ पीडा होइन — महाभूकम्प, बाढीपहिरो र महामारीजस्ता विभीषिकाहरूको सामना गर्दै आएको नेपाली जनताले फेरि एकपटक आफ्नो अस्तित्व बचाउन लड्नुपरेको हो। तर वर्षौंदेखिका शासन व्यवस्थाले जनताको पीडाप्रति देखाएको उदासीनता भने कहिल्यै परिवर्तन भएको देखिँदैन।
५२, ६२, ७२ र अहिले ८२ सालसम्म आइपुग्दा नेपाली जनताले असंख्य राजनीतिक आन्दोलन र परिवर्तनको नाममा निराशा मात्र पाएका छन्। मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा लैजानुपर्ने नेताहरू नै हिंसा, भ्रष्टाचार र सत्तास्वार्थको खेलमा डुबेका छन्। युवाहरूलाई रोजगारीको अवसर दिनुको सट्टा, उनीहरूलाई विदेशिन बाध्य बनाइयो। देशभित्र सम्भावना हुँदाहुँदै पनि सपनाहरू विदेशका भिसामा सीमित भइरहेका छन्।
हामीले बारम्बार सरकार फेर्यौं, तर व्यवहारमा केही फेरिएन। नेताहरूको भोगबिलास र सत्ता मोहका कथा आज साना बालकले पनि सामाजिक सञ्जालमार्फत पढ्न सक्छन्। अब कसलाई ढाट्नु? जनताले सब देखेका छन्।
त्यसैले आजको राजनीतिक अस्थिरताप्रति आम नागरिकमा आक्रोश स्वाभाविक छ। यही निराशाको भुइँमा नयाँ पुस्ता—जेन–जी—पुस्ताको उदय भएको छ। उनीहरू डिजिटल युगमा हुर्किएका छन्, विश्वसँग प्रत्यक्ष जोडिएका छन् र पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तनका मूल्यमा विश्वास गर्छन्। यही पुस्ताको आन्दोलनले पुरानो राजनीतिक संरचनालाई चुनौती दिँदै नयाँ अध्यायको सुरुवात गरिसकेको छ।
यस आन्दोलनले पहिलो पटक महिला नेतृत्वको सम्भावना उजागर गरेको छ—पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा देखेर देशले नयाँ दिशाको संकेत पाएको छ। नयाँ नेतृत्वले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएर स्वतन्त्रताको सन्देश दिएको छ।
तर यो परिवर्तन सजिलो छैन। पुरानो पुस्ताका नेताहरू, जसले सत्ता सधैं आफ्नो गोजीमा राख्न खोजे, उनीहरू यस नयाँ लहरलाई दबाउन चाहन्छन्। ‘जेन–जी आन्दोलन विदेशी प्रभावमा छ’ भन्ने आरोप लगाइन्छ। तर प्रश्न उठ्छ—यदि पुराना नेताहरूले जनताको विश्वास जितेका भए, नयाँ पुस्ताको जन्म नै किन हुन्थ्यो?
हिजोका दिनमा जनआन्दोलन, मधेस आन्दोलन र गणतान्त्रिक लहरले लोकतन्त्रको बीउ रोपेको थियो, तर त्यसलाई फलाउन नेताहरू असफल भए। अब समय फेरिएको छ—क्रान्ति अब बन्दुकले होइन, विचारले हुनेछ ।
नेपाललाई भीषण राजनीतिक टकरावबाट जोगाउनका लागि सबै दल, युवापुस्ता, नागरिक समाज र सचेत समुदायले मिलेर अघि बढ्नैपर्छ। अबको राजनीति नारा र भाषणको होइन—जवाफदेहिता, पारदर्शिता र परिणाममुखी कामको हुनेछ ।
यदि नयाँ पुस्ताले आफ्नो दृष्टि, मूल्य र ऊर्जा पार्टी, संसद र नीति निर्माणमा स्थापित गर्न सके भने—नेपालको राजनीतिक भविष्य साँच्चै नयाँ मोडमा प्रवेश गर्नेछ ।
अब आवश्यक छ—टकराव होइन, सहकार्य। स्वार्थ होइन, सेवा। यही बाटोबाट मात्र देशले स्थायी निकास पाउन सक्छ ।
खगेन्द्र कार्की
२२ असोज २०८२, बुधबार ०९:१६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो