सूर्यदेवको उपासनाले मनोकांक्षा पुरा हुने सद्भावमय छठ पर्व साझा बन्दै, आज खरना बनाइँदै

खगेन्द्र कार्की
s

इटहरी । तिहार सकिएलगत्तै हर्षोल्लासपूर्वक मनाइने चार दिने सास्कृतिक पवित्र छठ पर्वको तयारी यस वर्ष पनि भईरहेको छ । उक्त पर्वको अवसरमा शनिबार र आइतबार (आज) नदी तथा किनारमा पण्डालसहितको पुजास्थल निर्माण, सरसफाई शुद्धता र सजावट गरिन्छ । मनोकांक्षा पुरा हुने आशा र विश्वासले परिवारका इच्छुक सदस्यहरुले शनिबारदेखि नै छैठी माता र सूर्य भगवानका निम्ति निराहार कठोर ब्रत लिन्छन् । आज (आइतबार) बेलुकी घरघरमा पुजा आराधना गरेर ब्रतालुहरुले कागती पानी मात्र पिउने प्रचलन रहेको छ । त्यसपछि एकै पटक मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सुरुमा कागतीपानी पिएपछि अन्य खानेकुरा लिने प्रचलन रहेको छ ।  


उनीहरुको पुजाका क्रममा शुद्धतालाई बढी ध्यान पु¥याउँछन । लगाउने वस्त्रदेखि प्रयोग गर्ने अनेकन सामग्री सबै नयाँ खरिद गर्ने गर्दछन् । यो पर्वले फलफलदेखि अन्य विभिन्न भाडावर्तनलगायतका सामग्रीको ब्यापार व्यवसायीले समेत राम्रै व्यापार गर्ने गर्दछन् । ब्रतालुहरुले घरमा र घाटमा पुजाआजा गर्ने गर्दछन् । भोलि १० गते सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ चढाउँदै  छठी माता, सूर्यदेवको श्रद्धा र भक्तापूर्वक पुजा आराधना गरिन्छ । यसैगरी मंगलबार विहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ पर्व विधिवत् रुपमा समापन हुने सांस्कृतिक, धार्मिक प्रचलन रहि आएको छ । 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानीलगायत कोशी प्रदेश, मधेस प्रदेशका जिल्ला मात्र नभएर पहाडी जिल्लामा समेत हर्षोल्लासपूर्वक मनाउन थालिएको छ । यो पर्वमा कुनै धार्मिक विभेद नभएको कारणले सबै धर्मवलम्बीहरु सहभागी हुने हुँदा यो पर्व सबैको साझा पर्वका

रुपमा विसित भईरहेको छ । गर्दछन् ।

मुख्यतः आदिवासी कोच समुदायले मनाउँदै आएको यो पर्व आम नेपालीमाझ साझा हुँदै गएको छ । एउटा निश्चित समुदायले मनाउँदै आएको छठ पर्व अब उनीहरुको मात्र रहने आम नेपालका विभिन्न जातजातिहरुले पनि यो पर्वलाई मनाउन थालेका छन । भौगोलिक रुपमा तराईमा मात्र मनाइने यो पर्व अब पहाड र हिमालतिर पनि चढ्न थालेसँगै यो पर्व अब साझा बन्दै गईरहेको छ । यो पर्वका अवसरमा नदी किनारका पूजास्थलहरू सिंगार्ने, सरसफाई गर्ने तथा सजावटका कामहरूले अन्तिम रुप लिएको छ ।

दमकसहित झापाका एक दर्जनभन्दा बढी स्थानमा यस वर्ष पनि छठ पर्व भव्य रूपमा मनाउने तयारी भइरहेको छ । दर्शनार्थीको भीड व्यवस्थापन गर्न ट्राफिक व्यवस्थापनलाई समेत बलियो बनाइने तयारी थालिएको दमक नगरपालिका–७ का वडाध्यक्ष भीम प्रसाद पौडेलले जानकारी दिए ।

दमकको रतुवा खोला किनार विगतका वर्षझैँ यसपटक पनि भक्तजनहरूको मुख्य आकर्षण बन्ने भएको छ । यस स्थानमा मैथिली सेवा समाजको अगुवाइमा वृहत छठ पूजाको आयोजना हुँदैछ । करिब तीन सय पूजाघाट निर्माण गरिँदै छन् ।

पक्की सिँढी निर्माण भएपछि घाटमा पुग्न र पूजा गर्न बृद्धबृद्धा तथा महिला भक्तजनलाई सहज हुने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ । अनुमान अनुसार यस वर्ष करिब ३० हजार भक्तजन पूजाअर्जा र अवलोकनका लागि दमक रतुवा घाट पुग्नेछन् ।

यसैबीच, पछिल्ला वर्षहरूमा भद्रपुर तथा भारतको गलगलिया क्षेत्रका स्थानीयले पनि छठलाई समावेशी साझा पर्वका रूपमा लिन थालेका छन् । चार दिनसम्म मनाइने यस पर्वको पहिलो र दोस्रो दिन सरसफाइ तथा शुद्धताको कार्य हुन्छ । तेस्रो दिन बेलुका १० गते भोलि अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर पूजाको औपचारिक सुरूवात गरिन्छ भने चौथो दिन ११ गते मगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि पर्व सम्पन्न हुन्छ ।

मैथिल समाजका पूर्वअध्यक्ष रमेशचन्द्र झाले जनकपुरपछि सर्वाधिक जनसहभागिता भद्रपुर क्षेत्रमा हुने बताएका छन् । उनका अनुसार मेची नदी किनारमा हुने पूजा अवलोकन गर्न नेपाल र भारतका गरी करिब एक लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्वको पहिलो दिन चतुर्थीका दिन  स्नान गरी चोखो खाएर बसिन्छ । यसलाई ‘नहाय खाय’ भनिन्छ । छठ पर्व नसकिएसम्म ब्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि राजसी र तामसी खाद्य पदार्थ नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा पनि भनिन्छ ।

मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर ब्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । यस क्षेत्रका मानिसले पनि कुनै न कुनै रुपमा सूर्यदेवको पूजा, आराधना गर्ने गरेकाले कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्मको विशेष अवधिमा पनि सूर्यदेवको पूजा, आराधना गर्न थालेका हुन् ।

विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, पशुपति क्षेत्रस्थित गुह्येश्वरीबाट गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालिएको छ ।

यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाइन्छ । यसलाई ‘खरना’ भन्ने गरिएको दुई दशक अघिदेखि काठमाडौँमा छठ मनाउँदै आउनुभएका नरेन्द्र यादवले बताउँछन । “षष्ठीका दिन ब्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उनले भने ।

षष्ठीका दिन पक्वान्न, फलफूल, उखु र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यही रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ः०० बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिइ सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

“पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, यादवले भने । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउँछन ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहित केटा, केटीले सुयोग्य वर बधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ ।

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीकोसमेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउँछन । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल शौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको अर्काथरीको भनाइ छ ।

राजधानीमा गुह्येश्वरीबाट गौरीघाटको वाग्मती किनारमा छठ घाट निर्माण भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १० गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यस वर्ष कात्तिक १० गते सोमबार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने कार्यक्रम रहेको गुह्येश्वरी छठ पूजा समितिले जनाएको छ  । छठ ब्रतालु भने कार्तिक शुक्ल षष्ठीको रातभर नदी किनारमै बस्छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया