तिहारको झिलिमिलीमा अनावश्यक विद्युत प्रयोग

खगेन्द्र कार्की

नेपाली समाजमा विजुली बत्ती बालेर तिहारको तुजुक देखाउनेहरुको कमी छैन । तिहार सुरु भएसँगै धेरैका घरमा झिलिमिली बत्ती बाल्ने प्रतिष्पर्धाको दौड सुरु भएको देखिन्छ । अरुबेला बत्तीको विल बढ्छ भनेर बाहिरको एउटा बत्ती पनि निभाएर सुत्नेहरु पनि यो बेला विभिन्न रङमा बल्ने बत्ती ल्याएर घर उज्यालो बनाउँने प्रतिष्पर्धामा भाग लिइरहेका छन् ।

अनावश्यक रुपमा त्यसरी विजुलीको खपत बढाइदिनाले विद्युत प्राधिकरणका लाखौं मुल्य पर्ने उपकरण विग्रिने र सर्वसाधारणका विद्युतीय सामग्री पनि काम नलाग्ने भइरहेका छन् । साँझको समयमा कहिले हाइ र कहिले लो भोल्टेज अनि झ्याप्प झ्याप्प लाइन जाने आउने गर्नाले कम्प्युटर र अन्य उपकरणहरु विग्रेर हैरानी व्यहोर्नु परिरहेको छ ।

अनावश्यक रुपमा विद्युत खपत गरिदिनाले राष्ट्र, समाज र व्यक्तिलाई असर परिरहेको छ, रंगीचंगी वत्तीहरु नेपालमा उत्पादन नहुने भएकोले विदेशबाट आयात गर्दा वर्षेनी अरबौं रुपैया विदेसिन्छ । लाइन धेरै गइराख्ने हुनाले वेलुकी र राती चोरी डकैती र अन्य आपराधिक गतिविधि अत्याधिक मात्रामा बढ्छ । लक्ष्मी आउने आशामा भएको लक्ष्मी (रुपैया, पैसा) गइरहेको छ । यि मात्र नभएर अरु पनि नकारात्मक असरहरु परिरहेका छन् भने यस्तो कामलाई सकेसम्म रोक्न नसके न्यूनीकरण चाहीँ सवैले गर्नैपर्ने हुन्छ ।

फूल र झिलिमिली बत्ती तिहारको मुख्य विशेषता हो । अझ लक्ष्मीपूजाको दिन त घरभरी बत्ती बालेर झिलिमिली बनाइन्छ । पहिले पहिले पाला र दियो बाल्ने चलन भएपनि अहिले बिजुली बत्तीको प्रयोग बढी हुन्छ । इन्धन अभावको बेला खाना पकाउने काममा समेत बिजुलीकै प्रयोग भैरहेको बेला घर रंगीचंगी बनाउनको लागि धेरै बिजुली खर्च नगर्न धेरैको सुझाव छ ।

तिहारमा झिलिमिली बत्ती बाल्ने चलन बिजुली नहुँदादेखि नै सुरु भएको हो । अर्थात बिजुली नहुँदा पनि तिहारमा बत्ती बालेर झिलिमिली बनाउन सकिन्छ । त्यसमाथि संस्कृति र परम्परा अनुसार तिहारमा दियो नै हो बाल्नुपर्ने ।‘तिहारमा लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीको बास भूमी, पानी, झिलिमिली बत्तीको पर्व तिहारमा त्यस्ता बत्ती नबाल्न विद्युत प्राधिकरणले सार्वजनिक अनुरोध गरेको हो । तिहारमा घर उज्यालो बनाउन बालिने बत्तीले विद्युत खपत बढी हुने भन्दै विद्युत प्राधिकरणले घर, पसल, महल तथा सडकमा उत्सव बत्ती नबाल्न भनेको छ ।

तिहारमा बिजुली नभएका घरमा पनि अरु बत्ती बालेर झिलिमिली बनाइन्छ । बिजुली भएको घरमा समेत बत्ती बाल्न नपाएपछि तिहारको के महत्व ? प्राधिकरणले पनि झिलिमिली बत्ती नबाल्न भनेपछि त्यान्द्रो बत्ती हो । अनि दीपावली भनेको यिनै बत्तीहरुको पङ्क्ति वा दीपमाला हो । पहिले पहिले तिहारमा दियो र मैनबत्ती बालेरै झिलिमिली पार्ने काम हुन्थ्यो । पछि गाउँठाउँ सबैतिर बिजुली बत्ती पुग्यो । बिजुली भएपछि दियोको चलन पनि हराउन थाल्यो । माटाको पाला र दियो आकारमै बिजुलीको सामान बन्न थाल्यो । अहिले माटाको पालासँगै त्यही आकारको बिजुलीको सामग्रीको पनि किनबेच हुने गर्छ । अहिले पनि तिहारमा बिजुलीको रंगिचंगी बत्ती भएपनि दियो समेत बाल्ने गरिन्छ ।

 बिजुलीको ठूलो उज्यालोमा मधुरै भएपनि दियो बलिरहेकै हुन्छ । अझ लोडसेडिङको कारण बिजुली कतिखेर बल्छ र निभ्छ पनि पत्तो हुन्न । त्यसैले बिजुली हुँदा पनि मैनबत्ती र दियोको चलन पुरै हराएको छैन । तिहारको बेला झन बढी प्रयोग हुन्छ ।  तिहारमा दियो र पाला संस्कृतिको लागि, अनि बिजुलीको उज्यालो चाहिँ रमाइलोको लागि प्रयोग गर्ने गरिएको पाइन्छ । यो बेला अनावश्यक रुपमा धेरै बिजुली बत्ती बालियो भने समस्या पर्न सक्छ । सबैले बुझेर बिजुलीको प्रयोग गर्नु पर्छ । तिहारका बेला विद्युत खपत घटाउन नेपाल विद्युत प्राधिकरणले पनि सबैसँग आग्रह गरेको छ ।

तिहार र छठमा झिलिमिली गर्ने नाममा बिजुलीको सबभन्दा बढी खपत वा दुरुपयोग हुन्छ । लक्ष्मी पूजामा घर वरिपरि र छठमा जलाशय किनारमा सप्तरंगी बत्ती झुन्डयाएर बिहानसम्म बालेर छाडिन्छ । यी दुई सामूहिक, सामाजिक, सांस्कृतिक र धार्मिक पर्वको विविध पक्षको बारेमा वर्षेनी सयौं खबर प्रकाशित र प्रसारित भए पनि यतातिर कसैको ध्यान जान्न, जुन हाम्रो सबैभन्दा ठूलो समस्या हो ।

रमाइलो...पाँच दिनसम्म मनाइने तिहार र चार दिनसम्म मनाइने छठ भनेको प्राचीन मौलिक पर्व हो । गच्छेअनुसारको पाला र मैनबत्ती बालेर यी पर्वहरू मनाउँदा जुन मिठास आउँछ, त्यो अनावश्यक रमझम गरेर कदापि हुन्न । आर्थिक रूपले सबल भएको घमन्डमा चार दिनको तामझाममा वर्षाैं दिनसम्म पुग्ने ऊर्जा नष्ट गर्नुलाई बुद्धिमानी मानिन्न ।

दिपावलीमा घर र पसलमा यतिबेला भएभरको बत्ती निकालेर झुन्ड्याइन्छ । यसले निम्त्याउने आगलागीजस्तो दुर्घटना र मानवीय क्षतिको कुनै लेखाजोखा नै हुँदैन । छठको अन्तिम दुई दिन साँझ र बिहानको पूजाको 

क्रममा नदी तथा पोखरी किनार घाटलाई झकिझकाउ पार्न थुपै्र चिम र झिकमिकेहरूको प्रयोग हुन्छ । एकअर्का भन्दा आफूलाई फरक र उत्कृष्ट देखाउने प्रतिस्पर्धामा आयोजकहरूले हजारौं रुपैयाँ खर्च गरेर ती जलाशय वरिपरि ठूलठूला आकर्षक पन्डाल खडा गरेर मूर्तिपूजा गर्छन् । पन्डाललाई सप्तरंगी बत्तीहरूले सजाउँछन् । साँझदेखि झिसमिसे बिहानसम्म निरन्तर बत्तीहरू बलिरहन्छ । प्रायःजसो सार्वजनिक पोलबाटै लाइन तानेर बत्ती जोडिन्छ ।

सम्पूर्ण पृथ्वीलाई उजिल्याउने सूर्य आराधनको पर्व छठ तथा मुख्यतः लक्ष्मीको आराधना गरेर मनाइने तिहार निःसन्देह झिल्के पर्व होइन । यसलाई हामीले कृत्रिम र नक्कली बनाइदिएको हो । हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेल्ने कुकुर, गाई, कागको पूजा र आपसी प्रगाढ प्रेमको परम्परा भाइटिकामा यसको माधुर्य लुकेको छ ।

त्यसपछि गुन्युचोलो, दौरासुरुवाल र ढाकाटोपीमा सजिएर घरघर गएर खेलिने देउसी भैलोमा असीम रमाइलो हुन्छ । यो बाहेक दुई दीयो र मैनबत्ती बालेमा पनि यसको महत्व कम हुन्न । ७२ घन्टे कठिन उपवासका साथ अस्ताइरहेको र उदाइरहेको सूर्यलाई सामूहिक रूपले एकसाथ हात उठाएर आराधना गरिने छठ पर्वको हकमा पनि यही कुरा लागू हुन्छ । आयुर्वेदिक हिसाबले पनि स्वास्थ्यका लागि अति आवश्यक विभिन्न थरीका मौसमी फलफूल तथा तरकारी र परम्परागत ठेकुवा, भुसुवा र खाजाजस्तो मिष्ठान, दूध तथा जलको अर्घ दिएर पृथ्वीको संरक्षक देउता सूर्यको यसमा प्रार्थना गरिन्छ । परिवार, समाज, पृथ्वी कल्याण, आरोग्यता र सन्तान प्राप्तिका लागि सूर्यलाई मनमनै पुकार्नु छठको मूलमर्म हो ।

आशिष, सामाजिक कार्य  र आनन्दका लागि देउसी(भैलो मनाऔं । अझै पनि सहज रूपले उपलब्ध माटाको पालामा तेल हालेर बाल्ने चलनलाई प्रोत्साहित गर्दै ऊर्जा संकट कम गरौं ।

विदेशी मिठाईको ठाउँमा भाइटीकामा रोटी र सेलको मजा लिऊँ । बजारमा पाइने रसायनले नभएर आफ्नै हातले सप्तरंगी टीका बनाएर दाजुभाइलाई लाऔं । कृत्रिम मालाभन्दा गोदावरी, मखमली फूलको माला र ढाकाको टोपी लगाऔं । यसले नेपाली कृषक र श्रमिकलाई फाइदा हुन्छ । उनीहरू जहाँ र जसरी भए पनि अर्काे वर्ष अझ बढी उत्पादनका लागि प्रोत्साहित हुने छन् ।

‘सकेसम्म बिजुलीको खपत घटाउँ । बिजुलीकै प्रयोग गरेर झिलिमिली नपारौं । बरु त्यसको अरुनै विकल्प खोजी गरेर बिजुलीको प्रयोग सकेसम्म कम गरौं ।’ ग्यास अभावमा हिटर, राइसकुकर लगायतका विद्युतीय सामग्रीबाट खाना पकाउने र पानी उमाल्ने बाध्यता छ । तिहारमा घर झिलिमिली पार्ने होडबाजीमा बढी विद्युत खपत गर्दा खाना पकाउने बेला समस्या हुन सक्छ । यसतर्फ सबै जिम्मेवार हुनु आवश्यक छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया