साउदीमा काम गर्ने क्रममा निधन भएका र अंगभंग भएका चार सय बढीले अझै सामाजिक सुरक्षा बिमा पाएनन

फाष्ट मिडिया नेपाल संवाददाता

साउदीमा सन् २००२ देखि १३ जुन २०२४ सम्म  काम गर्ने क्रममा दुर्घटनामा परी घाइते तथा अंगभंग भएका श्रमिक र मृत्युवरण गरेका ४ सयबढी नेपालीको सामाजिक सुरक्षा बिमा बापतको पैसा पाउन बाँकी रहेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी रहेको छ । 

दुर्घटना भएर दर्ता नभएका, अस्वीकृत भएका र आगामी दिनमा दर्ता गर्न तथा स्वीकृत गर्न बाँकी रहेकाको संख्या १ सय २४ रहेको छ । यस्तै, कार्य दुर्घटनामा परी गोसीबाट स्वीकृत भएका परिवारलाई सम्पर्क गरी आवश्यक कागजात प्रक्रिया पूरा गरी पेस गर्नुपर्ने १ सय ४० जना रहेको दूतावासले जनाएको छ ।

यस्तै, दुर्घटनाको अवस्था पत्ता लगाउन काम गर्नुपर्ने संख्या ३९, प्रक्रियामा रहेका दुर्घटना स्वीकृतका लागि काम गर्नुपर्ने संख्या ८९, चेक फिर्ता भएकाहरू २३ र हालसम्म रकम भुक्तानी नभएकाहरूका लागि काम गर्नुपर्ने संख्या ३१ रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार काम गर्ने क्रममा दुर्घटनामा परी घाइते भई सधैंका लागि अपांग वा मृत्यु भएको अवस्थामा परिवारले ३ लाख ३० हजार साउदी रियाल पाउने व्यवस्था रहेको छ । यसैगरी, अंगभंग भएकाको हकमा १ लाख ६५ हजार रियाल पाउने व्यवस्था छ ।

साउदीमा काम गर्ने क्रममा दुर्घटनामा मृत्यु भएका वा अंगभंग भएकाको परिवारले यस्तो रकम पाउन बाँकी भए यथासक्य सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया