भोजपुरमा मतदाताको मनोवृत्ति बदलिँदै : पुराना दलमा थकान, नयाँ शक्तिको खोज

खगेन्द्र कार्की

भोजपुर। भोजपुरमा अब केवल भाषणले चुनाव जित्ने समय बाँकी छैन। मतदाताले धेरै सुने, धेरै विश्वास गरे, तर परिणाम कमै देखे। संघीय गणतन्त्र स्थापना भएको झन्डै दुई दशक बितिसक्दा पनि भोजपुरको जीवनस्तरमा खासै परिवर्तन आएको छैन। सडक विस्तार भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनस्तर उस्तै छ। यही कारण फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन यस जिल्लाका लागि निर्णायक बन्ने देखिएको छ — जहाँ मतदाताले अघिल्ला आश्वासनको हिसाब माग्दै छन्।

यस पटक भोजपुरबाट १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। राजनीतिक पृष्ठभूमि, कामको हिसाब र संगठनात्मक बलका आधारमा चार प्रमुख उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ — एमालेका शेरधन राई, कांग्रेसका बालकृष्ण थापा, नेकपाका अजम्बर काङमाङ राई र श्रम संस्कृति पार्टीका ध्रुवराज राई।

एमालेका शेरधन राई भोजपुरका सबैभन्दा अवसर पाएका नेता हुन् — पूर्व मुख्यमन्त्री र पूर्व सञ्चारमन्त्री समेत रहिसकेका। तर मतदाताको प्रश्न छ — “अवसर त पाए, तर परिणाम कहाँ छ ?” मुख्यमन्त्री हुँदा कोशी प्रदेशको नामकरण विवाद र पहिचान आन्दोलनमा देखिएको दूरीले उनीमाथि दबाब बढाएको छ। यद्यपि, एमालेको बलियो संगठन र स्थानीय तहका प्रमुखहरूको समर्थनले उनको सम्भावना अझै उच्च देखिन्छ।

नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति बालकृष्ण थापा लामो समयपछि सक्रिय राजनीतिमा फर्किएका छन्। उनी कांग्रेसभित्र सशक्त नेता भए पनि जिल्लामा स्थायी रूपमा नबसेको आलोचना छ। तर यसपटक एमाले र नेकपा दुवैबाट राई समुदायका उम्मेदवार भएकाले खस–आर्य मत आफ्नो पक्षमा तान्ने रणनीतिले उनलाई फाइदा दिलाउन सक्छ।

नेकपा (एकीकृत) का अजम्बर काङमाङ राई विचारका स्पष्ट तर अवसरबाट वञ्चित नेता हुन्। लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भए पनि राजकीय पद नपाएका उनी जनसम्पर्कमा बलिया छन्। पूर्वमुख्यमन्त्री राजेन्द्र राईको समर्थन र वाम मतको एकीकरणले उनलाई फाइदा दिलाउन सक्छ, तर जिल्लाभन्दा राजधानीमा बढी समय बिताएको आरोप उनका लागि चुनौती बनेको छ।

श्रम संस्कृति पार्टीका ध्रुवराज राईले स्थानीय तहमा काम गरेर लोकप्रियता कमाएका छन्। टेम्केमैयुङ गाउँपालिकामा अध्यक्ष हुँदा उनले विद्युत् विस्तार र पूर्वाधार सुधार गरे। अहिले हर्क साम्पाङ नेतृत्वको पार्टीबाट उम्मेदवारी दिएका उनले “माटो चिनेको र काम गरेर देखाएको” अभियान चलाइरहेका छन्। तर संगठनात्मक कमजोरी र समान टोलका उम्मेदवारसँग मत बाँडिने सम्भावना उनका लागि चुनौती बनेको छ।

यी मुख्य उम्मेदवारबाहेक माओवादीका देवानराज राई, रास्वपाका रमेश ओझा र अन्य साना दलका उम्मेदवारले पनि मत विभाजनमा प्रभाव पार्न सक्छन्।

अघिल्ला निर्वाचनमा भोजपुरले २०४६ यता कम्युनिस्ट दललाई निरन्तर अवसर दिएको छ। तर विकासको ठोस परिणाम नदेखिँदा अहिले मतदाता नयाँ विकल्प खोज्दै छन्। यही कारण यो निर्वाचन केवल दलगत प्रतिस्पर्धा होइन, अघिल्लो कामको मूल्याङ्कन र भविष्यको भरोसाबीचको जननिर्णय बन्ने निश्चित देखिन्छ।

खगेन्द्र कार्की
प्रतिक्रिया