राजनीति मोडिँदै, वैकल्पिक शक्ति निर्माणमा रबिकै आश

खगेन्द्र कार्की

इटहरी । एमालेको एघारौँ महाधिवेशन सकिएसँगै रास्वपाका सभापति रवि लामिछानेको रिहाइ, जेनजी आन्दोलनको पुनर्संरचना, र आगामी निर्वाचनको तयारीले नेपाली राजनीति नयाँ कोर्समा प्रवेश गर्न लागेको संकेत दिएको छ । गत भदौमा भएको जेनजी आन्दोलनले पुराना राजनीतिक दलहरूको विफलता, असन्तुष्टि र पुस्तान्तरणको मागलाई सतहमा ल्यायो । तर आन्दोलनपछि बनेको अन्तरिम सरकार र हालका दलगत गतिविधिले मुलुक पुनः पुरानै शक्ति संरचनातर्फ फर्कने कि नयाँ विकल्प खोज्ने भन्ने प्रश्नलाई तीव्र बनाइरहेको छ ।

एमालेको एघारौँ महाधिवेशनले परिवर्तनका पक्षधर समूहलाई पराजित गर्दै केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि पुनः अध्यक्ष बनाएको छ । ओलीले शपथपछि दिएका अभिव्यक्तिहरू–“एमालेलाई छोयो भने सरकार ढल्छ” जस्ता धम्कीपूर्ण शैलीले उनको पुरानो अधिनायकवादी प्रवृत्ति, घमण्ड यथावत् रहेको संकेत गर्छ ।

फरक विचारधाराका नेताहरूलाई पछ्याउने, पार्टीभित्र प्रतिस्पर्धी धारा मिच्ने र विधान संशोधन गरेर व्यक्तिगत सत्ता मोहको अभ्यासले एमाले पुनः “व्यक्तिनिर्भर” पार्टीको रूपमा फर्किएको छ । यसले लोकतान्त्रिक अभ्यास र पुस्तान्तरणको बाटो बन्द गर्दै पुराना दलहरूमा सुधारको सम्भावना झन् कमजोर बनाएको देखिन्छ ।

रास्वपाका सभापति रवि लामिछानेको हिरासतबाट रिहाइले मुलुकको राजनीतिक समीकरणमा नयाँ तरङ्ग ल्याएको छ। उनले रिहाइपछि दिएको अभिव्यक्ति–“मुद्दा कानुनी हो, तर हाम्रो लडाइँ प्रणालीगत अन्यायविरुद्धको हो” ले पुराना दलहरूप्रति असन्तुष्ट जनमतलाई पुनः आकर्षित गरेको छ ।

जेनजी आन्दोलनका अगुवाहरूले समेत लामिछानेको रिहाइलाई स्वागत गर्दै समर्थन जनाएका छन्, जसले रास्वपातर्फ नयाँ पुस्ताको भरोसा र आशा केन्द्रित हुन थालेको देखिन्छ । केही जेनजी नेताहरू रास्वपामा प्रवेश गरिसकेका छन् भने अन्य कतिपय नयाँ राजनीतिक मोर्चा गठनको तयारीमा छन् ।

यसले अबको राजनीतिमा वैकल्पिक शक्ति–रास्वपा, स्वतन्त्र युवा समूहहरू, र जेनजी अभियन्ताहरूबीच सहकार्यको नयाँ सम्भावना खोल्दछ ।

निर्वाचनको छायाँ र आन्दोलनको औचित्य

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका तयारी तीव्र पार्दै गर्दा जेनजी आन्दोलनका मागहरू भने अधूरै छन् । जेनजी आन्दोलनका भएका नरसंहार र तोडफोड अनि आगजनीको छानविनका बनेको समितिलाई पुनः एक महिना म्याद थपिएको छ तर सरकारले भने ६ महिनाभित्रमा निर्वाचन गरिसक्नुपर्ने कानुनी म्याण्डेट प्राप्त गरेको छ । ३ महिना बढी समय व्यतित भईसकेको सन्दर्भमा प्रधानमन्त्री सुशिला कार्कीले “परिवर्तन निर्वाचनमार्फत मात्र सम्भव” भन्दै निर्वाचनलाई प्राथमिकतामा राख्नुले जेनजीहरुमा आशंका उब्जाएको मात्र छैन उनीप्रतिको विश्वास र भरोसा टुटिसकेको छ । त्यसले आन्दोलनका मूल प्रश्न(संविधान पुनर्लेखन, पुस्तान्तरण, र दलतन्त्रको अन्त्य(बिना निर्वाचनले जनमतलाई कति प्रतिनिधित्व गर्न सक्छ भन्ने आशंका बलियो बनाउँदै लगेको छ ।

जेनजी अभियन्ताहरूको अर्को धारले “सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन” को माग गर्दै आन्दोलनलाई पुनः संगठित गर्न खोजिरहेका छन् । उनीहरूका अनुसार “अन्तरिम सरकारले पनि जेनजीको म्यान्डेट पूरा गर्न सकेको छैन”, जसले आगामी राजनीतिक संक्रमणलाई अझ जटिल बनाउन सक्छ ।

दल दर्ताको बाढी र नयाँ दलहरूको परीक्षण

हाल दल दर्ताको लहर तीव्र छ–कुलमान घिसिङदेखि हर्क साम्पाङसम्म नयाँ दल बनाएर मैदानमा उत्रिएका छन्। यद्यपि यी दलहरूको दीर्घकालीन दार्शनिक दिशा र संगठनात्मक गम्भीरता अझै परीक्षणमै छ ।

अनेक स्थानीय नेताहरू र स्वतन्त्र समूहहरूले “मतपत्रबाटै परिवर्तन सम्भव” भन्ने तर्क गर्दै औपचारिक राजनीतिक दलमार्फत नयाँ राजनीति निर्माण गर्ने प्रयास गरिरहेका छन् ।

तर प्रश्न उस्तै छ–यी दलहरू पुरानै प्रवृत्तिको पुनरावृत्ति हुन् कि नयाँ मूल्य र दृष्टिकोण बोकेका?

पुराना दलहरूको संकट ः विचार र पुस्तान्तरणको अभाव

पुराना दलहरू(नेपाली कांग्रेस, एमाले, माओवादी, मधेशवादी मोर्चा–सबै हाल गम्भीर विचारधारात्मक र संगठनात्मक संकटमा छन्।

पहिलो, उनीहरूको राजनीतिक दर्शन अब अस्पष्ट बनेको छ । कांग्रेस उदारवादको नाममा गुटबन्दीमा बाँधिएको छ; कम्युनिस्ट दलहरूले समाजवादको नारा दिएर बजारमुखी नीति अपनाएका छन् ।

दोस्रो, पुस्तान्तरणको अभावले नयाँ नेतृत्वको सम्भावना अवरुद्ध गरेको छ । दशकौँदेखि त्यही पुरानो पुस्ताले सत्ता सम्हाल्दा युवा पुस्ताको राजनीतिक आस्था हराउँदै गएको छ ।

तेस्रो, संस्थागत भ्रष्टाचार र दण्डहीनता राजनीतिक व्यवस्थाको मेरुदण्ड नै कमजोर बनाउने कारक बनेका छन् ।

चौथो, दलका नेताहरू “राजनीतिक उद्यमी” होइन, “राजनीतिक व्यापारी” बन्न पुगेका छन–शक्ति, पद, र नीतिमा व्यापारिक हित हाबी भएको छ ।

यी सबै कारणले जनतामा पुराना दलप्रतिको विश्वास समाप्त हुँदै गएपछि जेनजी आन्दोलनको प्रादुभाव गरेको कसैबाट छिप्न सक्दैन ।

अबको राजनीतिक बाटो ः सुधार वा नयाँ वैकल्पिक शक्ति

राजनीति अब दुई बाटामध्ये एउटातर्फ मोडिने निश्चित छ।

पहिलो बाटो पुराना दलभित्र सुधारको, पुस्तान्तरण, आन्तरिक लोकतन्त्र, पारदर्शिता, भ्रष्टाचारमुक्त अभ्यास, नीति–नियममा जनसहभागिता, र युवाको सहभागिता बढाउनेतर्फ ।

दोस्रो बाटो नयाँ, एजेन्डा–आधारित राजनीतिक शक्तिको उदय – जसले डिजिटल युगको आवश्यकता, नवप्रवर्तन, समान अवसर, र समावेशी युवा नेतृत्वको माध्यमबाट लोकतन्त्रलाई नयाँ रूप दिनेछ ।

जेनजी आन्दोलनले जनतामा वैकल्पिक राजनीतिप्रतिको आकांक्षा जगाइसकेको छ। अब त्यो आकांक्षा रास्वपाजस्ता दलहरूले पूरा गर्छन् कि फेरि निराशा दोहोरिन्छ, यही नै अबको राजनीतिक भविष्य निर्धारण गर्ने निर्णायक बिन्दु बन्नेछ ।

निष्कर्ष ः परिवर्तनको दिशामा निर्णायक मोड

नेपालको वर्तमान राजनीति संक्रमणको नयाँ चरणमा छ। एमालेको महाधिवेशनले पुरानो सत्ता प्रवृत्तिलाई पुनः बलियो बनाएको छ भने, रास्वपा र जेनजी आन्दोलनले नयाँ राजनीतिक चेतनाको बीउ रोपेका छन् ।

आगामी निर्वाचन, संविधान पुनर्लेखनको माग, र पुराना दलभित्रको आत्मसमीक्षा–यी सबै कुराले अबको राजनीति “नयाँ कोर्स” तर्फ मोडिने निश्चित संकेत दिइरहेका छन् ।

तर त्यो कोर्स जनताको आकांक्षा अनुसारको “नयाँ मार्ग” हुन्छ कि पुरानै सत्ताको पुनर्संरचना–त्यो निर्णय जेनजी पुस्ता, सचेत मतदाता, र वैकल्पिक शक्तिहरूको राजनीतिक परिपक्वतामा निर्भर रहनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया