विश्वकै महङ्गो नेपाली हवाई टिकट : नारायण गाउँले, प्रवासबाट

फाष्ट मिडिया नेपाल संवाददाता

नारायण गाउँले, प्रवासबाट

लण्डनबाट दिल्लीसम्मको दुईतर्फी भाड़ा पाँच सय पाउण्डभन्दा सस्तो छ ! चार सय पाउण्डमा लण्डनबाट मुम्बई पुगेर आउन सकिन्छ तर नेपालको टिकट हजार पाउण्डभन्दा माथि छ ! 

लण्डनबाट हाम्रो दूरी उस्तै छ । तर भाड़ा डबलभन्दा बढ़ी छ ! नेपाल पुग्न लाग्ने भाड़ाले इण्डिया या थाईल्याण्डको हवाइ टिकट मात्रै होइन, एक हप्ता घुमेर फर्किन पुग्छ । 

लण्डन र दिल्लीको पÞm्लाइट आठ घण्टाको छ । दिल्ली काठमाडौं जम्मा दुई घण्टाको । तर दिल्ली पुग्न लाग्ने भाड़ाभन्दा दिल्लीबाट काठमाडौंको कनेक्टिङ् फ्लाइट दोब्बर बढ़ी मूल्यको छ । लण्डनबाट अस्ट्रेलिया जाँदा नेपाल काटेर जान पर्छ । झन्डै दुई दिन आकाशमैं भइन्छ । सबैभन्दा टाढा त्यही होला तर त्यसको भाड़ा पनि नेपाल जानभन्दा सस्तो छ । सिङ्गापुर हामीभन्दा धेरै टाढा हो, तर हाम्रो भन्दा आधा मूल्यमा त्यहाँ पुगिन्छ । थाइल्याण्ड होस् कि हङ्कङ्, लण्डनबाट नेपालभन्दा धेरै टाढाका शहरहरू आधा मूल्यमा यात्रा गर्न सकिन्छ । 

सोझो फ्लाइट नभएका कुनै पनि देशबाट नेपालको यात्रा थेग्नै नसकिने गरी महँगो छ । हवाइ टिकटकै कारण धेरैले नेपाल यात्रालाई टार्ने गरेका छन् । यति अस्वाभाविक चर्को भाड़ा तिरे पनि त्यो पैसा नेपाली वायुसेवा कम्पनीले कमाइरहेका भने छैनन् । 

यो युग कनेक्टिभिटीको हो । सहज पहुँचको हो । लगानी होस् या पर्यटन, कनेक्टिभिटी आजको पहिलो शर्त हो । यस्तो दिक्दारलाग्दो अवस्थामा हाम्रो पर्यटन उद्योग कसरी फस्टाउला ? न हाम्रा सड़क सञ्जाल सुरक्षित र सहज छन्, न आन्तरिक हवाइसेवा । आन्तरिक हवाई सेवामा त एउटा अमेरिकी या युरोपियन नागरिकले लूट र विभेदको सामना गर्नुपर्छ ।  अन्तर्राष्ट्रिय उड़ान लिएर दिल्लीबाट काठमाडौं आउनुभन्दा काठमाडौंबाट चितवन पुग्दा बढ़ी भाड़ा तिर्न पर्छ । 

यसरी टिकट अत्यधिक महँगो हुनुमा हाम्रो एअरपोर्टमा लाग्ने ट्याक्स अत्यधिक महँगो हुनु, अन्यत्रभन्दा हवाइ इन्धनको मूल्य साह्रै चर्को हुनु, हामी काककोसूचीमा हुनु  र विश्वका मुख्य शहरसम्म प्रशस्त कनेक्टिङ् फ्लाइट नहुनु मुख्य कारण हुन् । धेरै पर्यटक भित्रÞ्याउने र कमाउने भन्ने भन्दा पनि आएजतिबाट टन्न कमाउने भन्ने हाम्रो सोच देखिन्छ । 

यही डबल भाड़ा पनि धन्न एअर इण्डियाको कनेक्टिभिटी र प्रतिष्पर्धी मूल्यका कारण सम्भव भएको हो । हिजो सुलभ नै मानिने कतार, इमिरेट र इतिहाद जस्ता एअरवेजहरूको भाड़ा त आकाश छुने खालको छ । जेट एअरवेज भन्ने इण्डियन कम्पनी डुबेपछि यो सेक्टरको मूल्य बढ्न थालेको हो । त्यसले नेपाल र विश्वलाई राम्रो कनेक्ट गरेको थियो । 

हाम्रो गफ फेरि साह्रै ठूलो हुन्छ । चियापसलमा करोड़ घटी गफ हुँदैन, सरकारले स्याटेलाइट तल बात मार्दैन । देश बनाउने पनि स्विट्जरल्याण्डभन्दा तल होइन । तर देशको हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउन, पोखरा र भैरहवालाई सुचारु गरेर कनेक्टिभिटी बढाउन र पर्यटनलाई आकर्षक बनाउन सिन्को भाँच्ने काम कसैले गर्दैन । हिजो शाही नेपाली वायुसेवा हुँदा बरु शानसँग हाम्रो झण्डा लण्डन पुग्थ्यो । आज दुबई उड्ने टिकट काट्यो, उड्छ कि उड्दैन भन्ने अवस्था छ । 

यतिबेला कामचलाउका लागि धेरैले दिल्लीसम्मको टिकट काट्ने र त्यहाँबाट वैकल्पिक मार्ग भएर नेपाल जाने गरेको देखियो । दिल्लीबाट ’सेल्फ ट्रान्सफर’ गर्ने गरी नेपाल वायुसेवा निगम या अन्य छुट्टै हवाइ टिकट काट्दा पनि केही राहत हुन आउने रहेछ । तर पर्यटक या बालबच्चा सहितका लागि यो निकै झन्झटिलो हुन्छ । 

तत्काल युरोपसम्म उड़ान गर्न त सकिन्न । तर युरोपसँग राम्रो कनेक्ट भएका हवाइ कम्पनीलाई अलि बढ़ी स्लट दिने, हवाइ इन्धनलाई ठिक्क नाफा लिएर बेच्ने, करलाई समयसान्दर्भिक बनाउने र कालोसूचीबाट हटाउन ठोस पहल गर्ने हो भने केही सुधार हुन्थ्यो कि ? तपाईंको अनुभव र राय के छ ?


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया