पश्चिमा संस्कृतिले फेरिएको दशैं

फाष्ट मिडिया नेपाल संवाददाता

२०८१ सालको बडादशैं हाम्रो घर आगनमा भित्रिसकेको छ । तर केहि दिन अघिमात्र आएको अबिरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । सयौंको ज्यान गएको छ भने हजारौंको उठीबास भएको छ । सरकार र सरोकारवालाले चाडो भन्दा चाडो राहत प्रदान गरोस, आवासको व्यवस्था गरोस्, सडक संचालन गरोस भन्दै यो बर्षको दसैंलाई सामान्य रुपमा मनाउन र रोइरहेका नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीलाई सकेको सहयोग गर्न पनि यसै लेख मार्फत अपिल गर्दछु । दसैं नजिकिए सँगै टाढाटाढाबाट घर सम्झेर आउँनेको लर्को जताततै देख्न सकिन्छ । बजारमा विशेष गरेर नेपालका सिमावर्ती भारतिय बजारमा नेपालीको किनमेल वढेको छ । यो दुर्भाग्य नै भन्नु पर्छ । आप्mनो देशको पैसा सिधै अर्को देशमा लगेर हामी नेपाली व्यापारीलाई कमजोर बनाइरहेका छौं भने कर संकलन पनि घटेको छ । यो किनमेल पनि हाम्रो बाध्यता बनेको छ । यहाँ त्यही सामान महंगो छ, सिमापारी सस्तो छ । सरकारले  कम से कम महंगी घटाएर नेपाली पैसा विदेसिनबाट बचाउन सक्ने हो तर यो तर्फ कहिल्यै चासो दिएको देखिदैन । जसरी पनि सत्तामा पुग्ने, आफु धनि हुने र कुर्सी नछोडन दाउमा रहेका नेता र सम्पूर्ण देशविदेशमा रहनु हुने नेपालीलाई यो वर्षको बडादशैंको शुभकामना दिदै पहिले र अहिलेको दशैं अनुभव आजको लेखमा पस्केको छु ।

सेतो कमेरो र रातो माटोले पोतिएका घर । गोरेटो, घाडेटो अनि घर आगन र पानी पधेरा वरिपरि सफा सुग्घर पारिएको । घरका करेसाबारी र फुलबारीमा मखमली र सयपत्री लहलह । भर्खर मकै भाचेर थाङ्ग्रा र बुइगलमा लहरै राखिएका झुत्ता । घरका ओड्ने ओच्छायाउने खरानी पानीमै भए पनि धोएर चम्काइएका । आँगंन लिपपोत गरेर चिटिक्क सफा बनाइएका । माथी डाडाँमा र तल बेसिमा पिङ्ग लगाइएको । घर गाउँका केटाकेटी खुसी र उत्साहले फुरुङ्ग । तिनै दौतरी मध्येको आफु पनि किन नहुने र फुरुङ्ग । कहिले आउला टिकाको दिन र नयाँ नाना लगाएर, टिका थापेर, जमरा सिउरिएर, धानको भात खाएर, पिङ् मच्चाएर मामाघर जाने भन्ने पखाईमा । यतीमात्रै होइन गाइवस्तु बाख्रालाई घास काटेर सोत्तर भेलापारेर सबै काम अघिल्लै दिन सकिएका ।

२०३/३५साल तिरको कुरा हो म ७/८ वर्षको थिए । हाम्रो घर इलाम जिल्लको साविक लुम्दे गाउँ पञ्चायतको वडा नम्बर ४ मा थियो । नेउपानेहरुको निक्कै पुस्ता देखिको बसोबास र नातागोता इस्टमित्र धेरै भएको अनि मुल घर हाम्रै थियो । अर्थात हजुरबाहरु र बडाबा परलोक गइसक्नु भएको, सबै भन्दा उमेरले जेठो हाम्रो बुबा आमा हुनुहुन्थ्यो र आज पनि यो सौभाग्यले बुबा हुनुहुन्छ । पक्कै पनि जेठो घर र नातागोत धेरै भए अनुसार समय अनुसारको चामल, चिउरा अनि दंक्षिणाको निक्कै जोहो गर्नुपर्ने हुन्थ्यो । आय स्रोत भनेको त्यही खेतीबाट उब्जाइएको मकै कोदो फापर र धान कुटेर चामल र खसी बेच्ने थियो । कहिले काही हारो पर्ममा कतैबाट आउने उही मकै कोदो हुन्थ्यो । हरेकका घरमा हारोपर्मको चलन थियो । तर तोकेको समयमा र पर्म भन्दा धेरै दिन त्यो घरको खेत बारीमा काम गर्दा या काम नसकिदा पर्मेलीहरुलाई अन्न दिने प्रचलन थियो । पैसाको खासै चलन पनि थिएन । आर्थिक अवस्था धेरै कमजोर भएकाहरुलाई पनि पैसा हैन अन्न नै दिने चलन अनुसार कोही पनि खेतालाका रुपमा कसैकामा पनि जाने चलन थियो । ठूलो सानो भन्ने चलन धेरै थिएन । त्यसमा पनि हाम्रो बुबा आमालाई माइला बा आमा भनेर गाउँकाहरुले भनेको र गाउँमा भोकमारी लागे उही बा आमाका घरमा गए अन्न पाइन्छ भनेर अनिकालमा मानिसहरु आएको मलाई थोरै थोरै सम्झनामा छ । र, सबै भन्दा धेरै सम्झनामा रहेको भनेको २०३६ सालमा हाम्रो परिवार तराईतिर बसाई सर्न हिँडन लागेका दिनको हो । हरेक वर्ष हाम्रा खेत बारीमा काम गर्न अउँने र आनिकल लाग्दा अन्न पाएर छोराछारी र आफुहरु बच्ने थुपै परिवारका सदस्यहरु आएर अब हामीले कोसँग अन्न लिएर ज्यान बचाउने भन्दै नजान भन्नेहरुको मलिन अनुहार आज पनि यो मानसपटलमा ताजै छन् ।

हरेक वर्ष आउने सोह्र स्राद्ध सुरु हुँदा नै दसैँको चहल पहल सुरु हुन्थ्यो । कोही घर अगाडी र छर छिमेकका बाटा सफा गर्ने, झार उखेल्ने, झाडी फाड्ने गर्थे । कोही कमेरो र रातो माटो खोज्न गाउँबाट टाढा जान्थे । डोकामा, थुन्चेमा, बोरामा कमेरो अनि रातोमाटो ल्याएर घर छेउमा राखिन्थ्यो । कोही यो कार्य गर्दा पुरिएर ज्यान गुमाउन पुग्थे । कसैको घरमा मरिमराउ भएको भए त्यो वर्ष घरका भित्ता लिपपोत हुँदैनथ्यो । बाँकी गाउँनै यो कार्यमा सरिक हुन्थ्यो । हरेक घरका सदस्यले बाटो खन्ने, सरसफाई गर्ने अनि मार्मत गर्ने काममा सबै स्व–स्फुर्त जम्मा हुन्थे । आजकल जस्तो पटक पटक सूचना गर्दा पनि उपस्थित नहुने चलन थिएन । दसैँ पर्व सबैका लागि उत्साह अझ हामी जस्ता केटाकेटी र बैस चढदै गएकाहरु त झनै उत्साहित देखिन्थे । किनभने उनीहरुमा को छिटो मावल पुग्ने या कसले धेरै पिङ् मच्चाउने भन्ने जस्ता कुरमा होडवाजी अनि दसैँमा कसका लुगा राम्रा भन्ने पनि हुन्थ्यो । एक प्रकारले गाउँमा उत्साह छाएको हुन्थ्यो । आप्mना घरका सबै काम सिध्याएर हामी केटाकेटी तन्नेरी पनि सामाजिक काममा सरिक हुन्थ्यौ र स्कुल जान पनि भ्याउथ्यौ । यो सबै आउन लागेको दसैँको उत्साहमा हुन्थ्यो ।

सोह्र श्राद्ध सकिएकै दिनबाट घरमा रङ्ग लगाउने 

(कमेरो र रातोमाटोले पोत्ने) काममा जुटने चलन थियो । घरमा जमरा राख्ने, मांसहारीले खसी बोकाको जोहो गर्ने गर्थे साथमा चामल चिउरा त हुन्थ्यो नै । गाउँमा पालैपालो धान कुट्ने, चिउरा कुट्ने चलन थियो । यो समयमा ढिकी जातो चलि नै रहन्थे । बालीघरे दर्जी घरकै पिडिमा आएर दसैँका लुगा सिलाउथे । लुगा छेक्न बोलाउनु परे बहुननानी भनेर बोलाउथे । म भने फुरुङ्ग हुन्थे र छेउमा गएर बस्थे । उनले प्यारो स्वरमा खोई उठ भन्दै चिमोट्थे अनि खितिति हास्थे । म भने केही लजाउँथे । कपडा भनेका सट र हाफपेन्ट नत्र दौरा र सुरु्वाल हुन्थ्यो । हुने खानेले कोट पनि सिलाउँथे । त्यती कपडा पाउनु नै हाम्रालागि ठूलो प्राप्ती लाग्दथ्यो । घरमा आफु कान्छो, म माथिका तिनजना दाजुहरुमा पनि उत्तिकै उत्साह देखिन्थ्यो । सबै भन्दा ठूलो काम घरमा रङ्ग लगाउने हुन्थ्यो । उहिले हजुर बुबाले बनाउनु भएको तिनतले ठूलो घर । ९० सालको भूईचालाले चिरा परेका भित्ता । घरमा बस्न डर भए पनि अर्को घर बनाइ हाल्ने परिवन्द सायद थिएन होला ।

पिङ् खेल्न धेरै मनलागे पनि धेरै उचाईसम्म मच्चाउन डराउँथे । कसैले मच्चाई दिदा पनि डरले रातो हुन्थेँ । त्यसैले धेरै नमच्चाई आफुसँगैका साथीसँग मात्र खेल्ने गर्थे । फेरि पहाडका ठाउँमा पिङ ओरालो स्थानमा पनि लगाइने हुँदा मच्चिएर पल्लो छेऊ पुग्दा जिउ नै सिरङ्गि हुन्थ्यो । यता घरमा भने जमरा राख्ने, चिउरा चामल कुट्ने, चण्डी पढाउने जस्ता कार्यहरुले पनि दसैँको चहलपहल झनै वढेको महसुस हुन्थ्यो । हरेक दिन जमरा कत्रा भए र लगाउने दिन कहिले आउला भनेर घरी घरी थुन्चेले छोपेका जमरा नियाल्ने गर्थे । आमा भन्नु हुन्थ्यो, ‘चाडै वढ्दै छन् वरु धेरै नहेर उज्यालो पसेर हरिया हुन्छन् ।’ तर, बालपन न हो दिनमा ५ पटक सम्म त हेरेकै हुन्थे । 

दसैँको उल्लास त सप्तमीकै दिनबाट सुरु हुन्थ्यो । परदेश गएकाहरु पनि घर फर्किन्थे । हाम्रो घर बाटैमा भएकाले बजार (रवी, पञ्चमी र नवमी)बाट र परदेशबाट फर्किनेहरु प्राय सबैले बोलाउँदै कसैले राता मिठाई दिँदै जाने आउने गर्दा हामी केटाकेटी त्यसै त्यसै फरुङ्ग हुन्थ्यौ । यता घर घरमा गच्छे अनुसार मांसहारीले खसी बोका भेला गर्ने साकाहारीले आलु, मटर, घिउ, केरा आदि जम्मा गर्ने प्रचलन थियो र आज पनि छ । आउने पाहुनालाई पनि मिठो मसिनो खुवाएर टिका लगाई दक्षिणा दिने चलन त्यो बेलामा झनै धेरै थियो ।

अस्टमीका दिनमा बिहानै देखि बेग्लै माहोल हुन्थ्यो । हामी सबै जना धारामा गएर नुहाउथ्यौं । दिनमा आठ पटक खानुपर्छ भन्ने कुरा सुनेको भएर होला भोक पनि धेरै लाग्थ्यो । कतिबेला पुजा सकिन्छ र खाने भन्दै हामी घरका सबै काम सकेर बस्दथ्यौ । पुजा सकिने वित्तिकै आमाले दही चिउरा (ढिकीमा कुटेका चाम्रा तर मिठा) केरा अनि चिनी दिनु हुन्थ्यो । त्यो स्वाद आज पनि जिब्रोमा छ तर आजकल त्यस्तो मिठो हुन्न । किनकी प्राकृतिक रुपमा पाकेका केरा, ढिकीमा आफैले कुटेका चिउरा र ठेकीमा जामेको बाक्लो दहीको स्वद कहाँ पाउनु र । त्यो दिन सकेसम्म बेलुका हुँदासम्ममा ४/५ पटक त खाइन्थ्यो नै । जती खाए पनि छुट थियो र पच्थ्यो पनि । खाएर डाँडामा पिङ खेल्न पुग्ने, टिका पछिका केही दिनसम्मलाई पुग्ने घास काट्ने, गाइवस्तुलाई पानी बोक्दा भोक लागीहाल्थ्यो ।

दशमीका दिन अरु उत्साह थपिन्थ्यो । चाडो टिका थापेर कानमा वा टोपीमा पहेला जमर सिउरिएर आफन्तजन र मावल पुग्न हतार हुन्थ्यो । कस्सेर हिड्दा ६ घण्टा लाग्ने मामाघर भ्याए त्यसै दिन नभ्याए भोलीपल्ट गइन्थ्यो । मामा घरमा भान्जा भान्जीलाई गरिने माया र आतिथ्यताले आज पनि सम्झना गराउँछ । मामाले टिका लगाइ दिएर चलन अनुसारको दक्षिणा दिदै ‘भन्जा बाटामा गोडा दुखेभने यसले घोडा किनेर चढेर जानु’ भन्दै जिस्काएको आज पनि ताजै छ ।

तर, आज दसैँ फेरिएझै लाग्छ । विदेशीनेहरु कमै फर्किन्छन् । पुरानो सस्कृति कमै देख्न पाइन्छ । दौरा सुरवाल कोट र टोपीमा सजिने हामी नेपाली आज पश्चिमा फेसनमा देखिएका छौं । आमा दिदी बहिनीहरु चोलो र फरिया छाडेर घुडामाथी सम्मको जामामा रमाएको देख्दा दुःख लाग्छ । पश्चिमा सस्कृतिले झपक्कै छोपीसक्यो । घरमै बनाएको भन्दा बनावटी खाना, प्याकेट खानामा रमाउन थालेका छौं, दहीमही भन्दा कोक र प्mयान्टामा पाहुना स्वागत गरिन्छ । कपडा फेरिएका छन् । सस्कृति मासिदैगएको छ । टिका नलगाउने र दशैं बहिस्कार गर्नेको सख्या पनि देखिन थालेको छ । दशैं हाम्रो पर्व नभएर लादिएको भनिन्छ । तर यो त जात भन्दा पनि हाम्रो युगौं युगदेखिको सस्कृति हो । परम्परा हो । पुर्खाले दिएको सम्मान हो । सबै जातिको साझा पहिचान हो । त्यसैले त कोही रातो टिका लगाउने कोही सेतो अक्षता लगाउने गरिदै आएको छ । धेरै जाती र धर्म मान्ने नेपालमा कहिल्यै जातिय युद्ध भएन कारण हामी सबै धर्म सस्कृति भाषा र पहिरनमा रमाउछौं । यो पनि हाम्रा पुर्खाको योगदान हो । उनीहरुले दिएको ज्ञान हो ।  जे भए पनि चाडहरु खुसीले मनाउ, करकापमा नलागौं, देखावटीमा नलागौं । आप्mनो गच्छेअनुसार मनाऔं । डेङ्गु ज्वरो र बाढी आएको क्षेत्रमा सरुवा रोग फैलिने सम्भावना कायमै छ । यही बीचमा आएका हाम्रा पर्वहले हामीलाई स्वस्थता र खुसी दिन सकुन । फेरि पनि हरेक नेपाली दाजुभाई दिदी बहिनीमा २०८१ साल बडादसैँोको मंगलमय शुभकामना व्यक्त गर्दछु । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया