झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, माघ २ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन

खगेन्द्र कार्की

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारी झापामा औपचारिक रूपमा सुरु भएका छन्। निर्वाचन व्यवस्थापन, सुरक्षा, आचारसंहिता पालन र सरोकारवालाबीचको समन्वयलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय, झापाले विभिन्न तयारीलाई तीव्र बनाएको हो।

सोही सन्दर्भमा आज जिल्ला प्रशासन कार्यालय, झापामा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, निर्वाचन अधिकृतका कार्यालय सञ्चालन, आचारसंहिता र निर्वाचन कार्यतालिकाबारे विस्तृत जानकारी गराइएको थियो। छलफलमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायका अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो।

जिल्ला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराम गेलालका अनुसार झापाका पाँचै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि सञ्चालनमा ल्याइने तयारी छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र झापा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा रहनेछ। त्यसैगरी, क्षेत्र नम्बर १ का लागि मेचीनगर नगरपालिका कार्यालय, क्षेत्र नम्बर २ का लागि अर्जुनधारा नगरपालिका कार्यालय, क्षेत्र नम्बर ४ का लागि कन्काई नगरपालिकास्थित अतिथि सदन भवन र क्षेत्र नम्बर ५ का लागि दमकस्थित अग्र्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रजिअ गेलालले जानकारी दिए।

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र क्षेत्रगत अधिकृतहरूको नियुक्ति गरेसँगै झापामा निर्वाचन तयारी औपचारिक रूपमा अघि बढेको हो। आयोगले झापाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईटेललाई नियुक्त गरेको छ। यस्तै, क्षेत्र नं. १ का गोपी विश्वकर्मा, क्षेत्र नं. २ का महेशप्रसाद खत्री, क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत लुईटेल स्वयं, क्षेत्र नं. ४ का भीमप्रसाद भूर्तेल र क्षेत्र नं. ५ का बिदुरकुमार कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोक्ने प्रावधान रहेको छ। यसै अनुसार झापामा पनि कानुनी प्रक्रिया पूरा गर्दै तयारी सुरु भएको हो।

दमकस्थित क्षेत्र नं. ५ का लागि अर्गानिक कृषि बजार भवनलाई निर्वाचन कार्यालयका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ। प्रजिअ गेलालसहितको टोलीले स्थल निरीक्षण गरी त्यहाँको संरचना, पहुँच र सुरक्षाका पक्षहरू अनुकूल रहेको निष्कर्ष निकालेको छ। उनले कम्पाउन्डसहितको फराकिलो क्षेत्र भएकाले उक्त भवन सुरक्षित र उपयुक्त रहेको बताए।

मतदाता र मतदान केन्द्रमा वृद्धि

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापामा ५० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार २०७९ सालको निर्वाचनको तुलनामा यस पटक ५० हजार २२६ मतदाता वृद्धि भएका हुन्। तीमध्ये २७ हजार ३०२ पुरुष र २२ हजार ९२४ महिला मतदाता थपिएका छन्।

२०७९ को निर्वाचनमा झापामा ६ लाख ६३ हजार ३११ मतदाता थिए भने २०८२ सालको निर्वाचनमा यो संख्या बढेर ७ लाख १३ हजार ५३७ पुगेको छ।

त्यस्तै, गत निर्वाचनमा ७६६ मतदान केन्द्र रहेका झापामा यसपटक ४९ थपिँदै कुल ८१५ मतदान केन्द्र पुगेका छन्। यद्यपि मतदान स्थल भने उस्तै २८५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्रगत मतदाता विवरण

झापाका पाँच निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं. ५ मा छन्। सो क्षेत्रमा ८१ हजार ८१ पुरुष र ८२ हजार २९६ महिला गरी जम्मा १ लाख ६३ हजार ३७७ मतदाता छन्।

क्षेत्र नं. २ मा १ लाख ४७ हजार ५१७, क्षेत्र नं. ३ मा १ लाख ४० हजार ८५७, क्षेत्र नं. १ मा १ लाख ३१ हजार ६७ र सबैभन्दा कम क्षेत्र नं. ४ मा १ लाख ३० हजार ७११ मतदाता रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार झापाका ८१५ मतदान केन्द्रलाई सुरक्षा संवेदनशीलताका आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको छ।

सुरक्षा तयारी कडा

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन झापामा सुरक्षा तयारी पनि सुदृढ पारिएको छ। झापा पश्चिम बंगाल र बिहार दुबै भारतीय राज्यसँग सीमा जोडिएको जिल्ला भएकाले सीमा सुरक्षामा विशेष ध्यान दिइएको छ।

नेपाल प्रवेश गर्नका लागि परिचयपत्र अनिवार्य गरिएको छ। काँकडभिट्टा र भद्रपुर नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा कडा जाँच सुरु गरेका छन्।

झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार अवैध गतिविधि र अनधिकृत प्रवेश रोक्ने मुख्य उद्देश्यका साथ सीमा क्षेत्रहरूमा निगरानी बढाइएको छ।

जिल्लामा निर्वाचन सुरक्षाका लागि ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने योजना छ। जनपद प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी यो संख्या निर्धारण गरिएको हो। आयोगका अनुसार झापामा मात्र ४,७४८ जना ‘निर्वाचन प्रहरी’ परिचालन गरिनेछ, जसमा स्थानीय प्रहरीसमेत समावेश हुनेछन्।

चुनौती र जोखिम मूल्यांकन

झापामा केही सुरक्षा चुनौतीहरू अझै कायम छन्। जेन–जी आन्दोलनका क्रममा लुटिएका १७ थान हतियार र करिब १० हजार राउन्ड गोली अझै फेला नपरेको जिल्ला प्रशासनले जनाएको छ। ती हतियारको अवस्था अज्ञात भएकाले सुरक्षा निकायले जोखिम मूल्यांकन गर्दै थप निगरानी बढाएको छ।

झापामा राजनीतिक दल उम्मेदवार छनोटमा व्यस्त छन् भने प्रशासन र सुरक्षा निकाय आ–आफ्नो तयारीमा जुटेका छन्। निर्वाचन आयोगले तोकेको तालिका अनुसार माघ २ गतेदेखि निर्वाचन अधिकृतका कार्यालय सञ्चालनमा आएपछि उम्मेदवारी दर्ता, मतदाता शिक्षा र अन्य प्राविधिक कार्य तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया