सौख पुरा गर्न लगाइएको कौसीफूल धरानका लाहुरे बस्तीको आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि धरानेहरुमा नयाँ जोश र जाँगर पलाएको छ । धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल संकलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताए । उनले आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरेका छन् । पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोपेको फूल अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै एक लाख आम्दानीको स्रोत नै बनेको छ । त्यसो छ धरानको धेरै परिवारको आम्दानीको स्रोत कौसीफुल बनेको पाइन्छ । यो त प्रतिनिधिमूलक कथा मात्र हो । कौसीखेतीमा तरकारीजन्य, फलफूलजन्य धेरै वस्तुहरु उत्पादन हुन थालिसकेको छ । स्वास्थ्य, उपभोग र सुन्दरताका दृष्टिले अत्यन्तै प्रभावकारी कौसीखेती आजको आवश्यकता भईसकेको छ । घनावस्ति, थोरै ठाउँ, वातावरणीय प्रदुषण, रोगब्याधीलाई न्युनिकरण गर्न सहज हुने त्यसको खटाईले शारीरिक तन्दुरुस्ती बनाउने मानव जीवनको अचुक औषधीय प्रविधिको रुपमा कौसीखेतीलाई लिन सकिन्छ ।
आत्मनिर्भरताको बाटो अंगाल्न सकिने, अर्गानिक वस्तु उत्पादन हुने मात्र नभएर आयआर्जनको माध्यमसमेत बन्ने कौसीखेती प्रवर्धनको खाँचो रहेको छ । पछिल्लो समयमा तीनै तहका सरकारहरुले वातावरणीय स्वच्छता, वातावरण प्रदुषण नियन्त्रणदेखि परिवारको सुख, सुविधा र आयआर्जनसँग जोडेर विशेष महत्वका साथ कौसीखेतीको प्रवर्धन तथा आकर्षण बढाउन विशेष कार्यक्रम नै ल्याएको थियो ।
नेपालमा खास गरेर कौसीखेती कोरोनाको प्रकोपपछि विकसित हुँदै आएको छ । कोरोनामा परिवार, समाजसँग विच्छेद गराई आफ्नो लागि आफै गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने बोधका साथ आफ्नै घरभित्र सीमित हुँदाको उत्पादन नै कौसीखेती भएको थियो र त्यसैलाई अहिले आयआर्जनमा जोडेर हेर्न थालिएको छ ।
हाम्रो स्वास्थ्य जीवन, बातावरणीय प्रदूषणमुक्त र विषाक्त मिसावट सहितको उपलब्ध तरकारी प्रयोगबाट बच्न अहिले विशेष गरी सहरी क्षेत्रमा कौसीखेतीको अपरिहार्यता देखिन्छ । धेरै मिहिनेत गर्न नपर्ने, समय र पैसाको वचत हुने र शुुद्ध ताजा तरकारीसमेत खान पाउने उत्तम उपाय पनि यही नै हो । घरकै कौसीमै तरकारी उपलब्ध हुनथालेपछि बाहिर निस्कन पनि कम भयो र कोरोनाको संक्रमणको जोखिम पनि कम भएको महसुस त्यो बेलादेखि कौसीखेती गरेकाहरुको अनुभव छ ।
विभिन्न सागहरू, धनिया, मुला, आलु, लसुन र प्याज गोलभेँडा, खुर्सानी, क्यापसिकम, भन्टा भिन्डी काक्रा, फर्सी, लौका, घिरौँला, करेला, सिमी र बोडीजस्ता लहरे बालीहरू, कागती, अम्बा, सुन्तला, आम्रपाली आदिलाई थर्माकोल, प्लास्टिकको बाल्टिन, पेन्टका बट्टाहरू, पानीका जारहरूमा ठूला प्लास्टिकका गमलाहरूमा रोप्न सकिन्छ । जसलाई ठूलो अग्लोभन्दा चौडा धेरै भएका सानासाना बट्टाहरू, प्लास्टिकका बाटाहरूमा र सानो सानो गमलाहरूलाई एउटा हलुको फलामे स्ट्यान्डमा राखी तहतहमा बिरुवा रोप्न सकिन्छ ।
समाजमा सामान्य संकट टार्नदेखि आयआर्जनसम्मको मद्दत पुग्ने कौसीखेतीका विषयमा तीन तहकै सरकारले तालिम, सहुलियत सेवा र सुविधासहित आकर्षित गराउने कार्यक्रम ल्याउन आवश्यक देखिन्छ । कौसीखेतीमा सहरीया बस्तिलाई उत्प्रेरित गर्न सकिएको खण्डमा माथि उल्लेखित विषयमा आत्मनिर्भरता मात्र नभएर बजारक्षेत्र र देशकै संकट टर्न सक्छ । यसतर्फ तीन तहकै सरकार र सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो