शिक्षक आन्दोलन र भविष्यको दिशा

फाष्ट मिडिया नेपाल संवाददाता

: — मनोज कार्की, शिक्षक —:

कसैको आसेपासे भएर वा पेशाको उत्तरार्धमा सस्तो लोकप्रियताको लागि बारम्बार “आन्दोलन” भन्ने शब्द मात्र उछाल्नु उचित हुँदैन। आफ्नो कार्यकालमा पाउने सबै सुविधा, सम्मान, विदेश भ्रमण, पदक र अवसर पूरा गरेर ससम्मान बिदा लिनु नै उचित हो।

२९ दिनसम्म देशभरका शिक्षकले आर्थिक, भौतिक र मानसिक रूपमा ऐक्यबद्ध भएर साथ दिएका थियौँ। यो आन्दोलन विद्यार्थी भर्नाको समयमा परेकाले धेरै सामुदायिक विद्यालयमा विद्यार्थी संख्य न्यून हुन पुग्यो, जसको नकारात्मक असर हामी शिक्षकमाथि नै पर्यो। आन्दोलनको उपलब्धि भन्नु पर्दा, अहिलेसम्मका धेरै सकारात्मक परिवर्तन आन्दोलनकै उपज हुन् भन्ने तथ्य स्वीकार गर्नुपर्छ। तर आन्दोलन शब्दको अनावश्यक दोहोर्याइँ गरेर समाजमा भ्रम छर्ने वा कलिला बालबालिका र श्रमजीवी अभिभावकको मानसिकतामा चोट पु¥याउने काम गर्नु किमार्थ हुँदैन।

सार्वजनिक शिक्षालाई कमजोर पार्ने, शिक्षण पेशालाई दलदलमा फसाउने, सडक तताएर समय बर्बाद गर्ने वा व्यक्तिगत स्वार्थका लागि भिडभाड गराउने कार्यबाट टाढा रहनुपर्छ।

यस पटकको आन्दोलनपछि शिक्षकका प्रमुख मागहरूको अवस्था यस्तो देखियो ।

१.आवधिक बढुवा = पूरा भएन

२.विशिष्ट श्रेणी = पूरा भएन

३.विद्यालय कर्मचारीको स्थायित्व = पूरा भएन

 ४.साविक उच्च मावि शिक्षकको माग = पूरा भएन

 ५. प्रधानाध्यापकको ट्रेड युनियन अधिकार = पूरा भएन

 ६.ईसीडी (बाल विकास) शिक्षकको माग = पूरा भएन

 ७. राहत तथा अन्य अस्थायी शिक्षकको स्थायित्व = पूरा भएन

८. अस्थायी सेवा अवधि जोड्ने माग = पूरा भएन

९. शिक्षक महासंघको प्रभावकारिता = कमजोर

१०. २९ दिने आन्दोलनको ठोस उपलब्धि = नगण्य

यसबाहेक, कतिपय नगरपालिका शिक्षा अधिकृत वा मेयरहरूले अझै आर्थिक चलखेलमा अनुचित सरुवा गरिरहेकै छन्, पुर्वाग्रहपुर्ण  व्यवहार शिक्षकमाथी भएकै छन। कतिपय नेतासँग नजिकका शिक्षक महिनौँसम्म काजमा रहँदा पढाई प्रभावित छ तिनका बारे सहकर्मीले न आवाज उठाउन सक्छन न अभिभावकले, यदि वास्तविक कुरा उठाएमा ती शिक्षक स्थानिय नेता र नियमनकारी निकायको समेत निसानामा पर्ने गर्छन,उता त्यस्ता नेता भक्त शिक्षक उल्टो पाालिकाबाट सम्मानित हुने, थप सेवा सुबिधा र जिम्मेवारी दिने काम भइरहेका छन अर्कातिर नेता शिक्षक र नेता हुं भन्ने अरिगाल शिक्षकले नपढाउँदा  कतिपय ठाउंमा यसबर्षको एसईई नतिजा बिग्रेर अरु शिक्षकले मार खेपिसकेका छन जुन कुरा यसैबर्षको एसईई नतिजाले देखाइसकेको छ। अस्थायी करार र राहत शिक्षक नियूक्तिमा भ्रस्टाचार गरेकै छन। अदालतमा मुद्दा पर्दा पनि छोडेका छैनन् यता आन्दोलन भए पिच्छे एक दुई जना शिक्षकले ज्यान गुमाएकै छन, अनि फेरि शिक्षक मराउन, घाइतेबनाउन, अंगभंग पार्न  केको आन्दोलन स्वार्थी नेता शिक्षक र तिनका भरौटेका लागि किन शिक्षकलाई बलीको बोको बनाउनुपर्ने ?  कतिपय विद्यालयमा हेडमास्टरले शक्ति र पदको आडमा अनियमितता गर्दा सम्पूर्ण शिक्षकको साखमा धक्का लागेकै छ। 

यस आन्दोलनले न ठूलो जीत दिलायो, न ठूला माग पुरा भए । बरु शिक्षकको आर्थिक बोझ बढ्यो, लाखौ बिद्यार्थीको पढाई प्रभाबित भयो, शिक्षकले गाली खानु पर्यो। भविष्यमा अनावश्यक आन्दोलन गर्ने भन्दा पनि सबै शिक्षकले समान नियमको पालना गर्ने व्यवस्था चाहिन्छ। राज्यले कर्मचारी र शिक्षकलाई समान दृष्टिले हेरी, दलको सदस्यता, काजमा दीर्घकालीन खटाइँ वा अनुचित लाभ लिने प्रवृत्ति रोकेर पारदर्शिता कायम गर्नुपर्छ। शिक्षकलाई स्थानिय तहको मातहतमा हैन संघको मातहतमा रहने परिस्थिति सृजना होस् जसले गर्दा शिक्षकहरु स्थानिय तहको सिकार हुनु नपरोस्।

यसरी मात्रै शिक्षक, विद्यार्थी र आम नेपाली जनताको हित हुनेछ। सत्ता, शक्ति र सरकारमा  हुने तथा तिनका आसेपासे, घुस्याहा र भरौटेहरुलाई यो विचार मन नपर्न सक्छ जसका लागि  क्षमा प्राथी छु।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया