घरको एक जनाले औषधी सेवन नगरेको दिन हुँदैन

फाष्ट मिडिया नेपाल संवाददाता


नारायण गाउँले

यसो हेर्यो, कहाँबाट गन्न सुरु गरौँ जस्ता समस्या छन् ! तरकारीसँगै क्यान्सर किन्न पर्ने अवस्था छ । महँगो पैसा हालेर फलफूल खायो, त्यही फलफूलले किड्नी र कलेजो खाइरहेको छ ! तेल भनेर किन्यो, केमिकल हो कि तेल हो, बेच्नेलाई पनि थाहा छैन । 

देशको पाँच सय किलोमिटर यात्रा गरौँ, एक किलो धुलो फोक्सोभित्र पुग्छ ! घरको एउटा मान्छे एकदिन बिरामी नभएको र औषधि नखाएको कुनै महिना छैन । रिपोर्टहरू पढ्यो, गाउँदेखि सिंहदरबारसम्म संसारकै भ्रष्ट शासन व्यवस्था छ । सबैभन्दा प्रदूषित शहर भनेर खोज्यो, आफ्नै राजधानी आउँछ । प्लसटू पढ्दै गरेको पुस्ता देशको सबैभन्दा ठूलो सम्पत्ति र भविष्य हो । तर त्यसैलाई सबैभन्दा बढ़ी निराशा छ ! रिजल्ट आए भिसा आउँथ्यो भन्ने छटपटी छ ! छात्रवृत्तिमा समेत पर्याप्त आवेदन नपरेकोले प्रधानमन्त्रीले नै विज्ञापन गर्नुपर्ने अवस्था छ । 

हेर्यो, सड़क नै बन्न बाँकी छन् । बनेका सड़कमा ढल र फुटपाथ बन्न बाँकी छन् । जेब्रा क्रसिङ् र टूाफिक लाइट देशभर पुग्ने कहिले होला ? बङ्गलादेशलाई बेचिसकियो, तर ग्यास आयात कम गर्ने गरी नागरिकलाई सस्तो र नियमित बिजुली कहिले दिने होला ? सिलिन्डरलाई भूमिगत गर्ने कहिले होला ? दिनदिनै अव्यवस्थित बस्ती विकास हुँदै छन् । वैज्ञानिक भूमिसुधारको योजना कहिले बन्ला ? जिन्दगीभरको जागीरले बनाउन नसकिने घरको डिजाइन कसले कुन स्वार्थमा गर्यो होला ? जबकि जागीर नखाएको हजुर्बुबाले पनि घर बनाएर दर्जन बढ़ी सन्तान हुर्काउनुभएकै थियो । 

देशमा हिउँ छ, हिमाल छन् । पहाड़ छ, नदी छन् । तराई छ, खेत छन् । तर पहाड़मा बाँदरमात्रै र तराईमा घरमात्रै फल्न नदिन के उपाय होला ? खाद्यान्नमा आत्मनिर्भरता कहिले मुख्य एजेन्डा बन्ला ? एउटा रोग लाग्यो भने घरबास उठिबास हुने अवस्था कहिले रोकिएला ? नाङ्गो देखिन थालेको माछापुछ्रेलाई कसरी लाज ढाक्ने होला ? जङ्गल त बढ्यो, बाघ पनि बढ़े । तर कलिला छात्रछात्राले प्रचण्ड गर्मीमा फलामको कुर्सीमा बसेर पढ्नुपर्ने किन होला ? काठलाई उपयोग गर्दै जङ्गल जोगाउने नीति कहिले आउला ? 

पानीको मुहान र स्रोत सुक्दै गयो । बीस वर्षमा एउटा नहर बन्छ, बन्दासम्म खोलो सुक्छ । पिउने पानीको सुरक्षा कसरी ग्यारेन्टी गर्ने होला? 

हरेक वर्ष बजेटले ४(५ खर्बको ऋण थपेर जान्छ । देशको आर्थिक वृद्धिभन्दा ठूलो मूल्यवृद्धि छ । कहाँ पुगेर रोकिने होला ? बजेटभन्दा ठूलो व्यापारघाटा छ, रेमिटेन्सले कहिलेसम्म टालटुल होला ? 

तर, हेर्न र पढ्न छोडेर सुन्न थाल्ने हो भने थाहा हुन्छ, देशको मुख्य समस्या  सहकारी, गिरिबन्धु र भुटानी शरणार्थी काण्ड नै हुन् ! संसद होस् कि सांसद, सत्तापक्ष होस् कि विपक्ष, बुद्धिजीवी होस् कि पार्टीजीवी, पत्रिका होस् कि पाठक, देशको बहस र चिन्तनको विषय यिनै काण्ड मात्रै हुन् ! यो देश र सरकारको मुख्य शत्रु कुलमान नै हुन्  

कहिले यी काण्ड सकिनु ? कहिले प्रधान शत्रु पराजित हुनु ? कहिले देशको ध्यान अरू समस्यातिर जानु ? अनि ध्यान किन पो जानु ? हामीलाई पनि लुतो कन्याउन मजा आएकै छ !

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया