हत्यामा परिवार र आफन्त

खगेन्द्र कार्की

चार जात छत्तिस वर्णको साझा फुलबारी मानिएको नेपालमा विभिन्न जातजाति, धर्म र सम्प्रदायका मानिसहरु एकाआपसमा मिलेर सामाजिक सहअस्तित्व कायम गर्दै मेलामिलापका भावनाले बसोबास गरेको समाज पछिल्लो समयमा परिवारभित्रै हुने अपराधका घटनाहरुबाट आक्रान्त बन्दै गएको छ । विभिन्न कारणले परिवारभित्रै एकले अर्काप्रति लोभ, आवेश र आक्रोसमा हत्या गर्ने शृंखला दैनिक बढ्दो छ । 

२०५८ सालमा राजा वीरेन्द्रको वंश नास हुने गरिएको हत्याकाण्ड हुँदै आजका दिनसम्म दर्जनौं यस्ता घटनाहरु घटिसकेका छन् । 

अघिल्लो महिना असार २२ गते भोजपुरको हैलौछाका राजेन्द्र राई (ज्वाई)ले ससुराली घरमै पुगेर श्रीमतिसहित सासु, ससुरा र सालोको हत्या गरेका थिए । यस्तै हत्या केही वर्ष पहिला संखुवासभाको मादीस्थित खोलागाउँमा पनि घटेको थियो । त्यहाँ बालबालिकासहित ६ जनाको हत्या भतिजाले गरेको पत्ता लागेको थियो । कतिपय हत्याका घटनाहरु वंश विनासै हुने गरी गरिएका छन् । पारिवारभित्रका अनेकन विषय बढी मात्रामा आर्थिकविषयमा जोडिएर परिवारभित्रै हत्याका घटनाहरु भएका घटनाक्रमले देखाएको छ । 

गत मंगलबार राती सुनसरीको देवानगञ्जमा अंश विवादमा छोराले बाबुको हत्या गरेका छन् । देवानगञ्ज ३ का ३५ वर्षीय रियाज अन्सारीले आफ्नो ६५ वर्षीय बुवा सबिब अन्सारीको कुटपिटसहित छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

माथि उल्लेखित प्रतिनिधिमूलक घटना मात्र हुन । यस्ता दर्जनौं घटनाका शृंखला नेपाल प्रहरीसँग छ । चाहे स्वदेशभित्र होस वा विदेशमा नेपाली नेपालीबीचका यस्ता घटनाहरु घटिरहेका छन् । विभिन्न वहानामा हुने यस्ता घटनाहरुले समाजलाई दुषित र दुर्गन्धित बनाइरहेको छ । सुरक्षित भनिएको परिवार र आफन्तभित्र अपराधिक मानसिकता हरेक दिन बढ्दै मावियता हराउँदै गएको छ । 

पारिवारिक कलह, शंका, उपशंकाले गर्दा समाज र परिवार भित्र यस्ता घटना बढ्न थालेको सम्बन्धित क्षेत्रका विज्ञहरुको ठहर छ । परिवारका सदस्यहरुबीचनै ह्रिंसक घटनाहरु हुन थालेका छन् । सबैभन्दा सुरक्षित मानिने घर नै आजभोलि असुरक्षित हुँदै गइरहेको छ । समाज र घरभित्र झगडा, कलह, द्वन्द्वहरु बढ्न थालेको तथ्याङकले देखाएको छ । आफ्नै परिवारका सदस्य र आफ्न्तबाट असुरक्षा भइरहेको छ ।  

विज्ञहरु यस्तो हुनुमा पारिवारिक, मानसिक, आर्थिक, सामाजिक, शैक्षिक तनाव तथा परिवारका सदस्यहरुबीच उत्पन्न शंका र उपशंका प्रमुख रहेको बताउँछन्। यीमध्ये पनि पारिवारिक र मानसिक तनावले समाज हिंस्रक बन्दै गएको उनीहरुको ठहर छ ।

नेपाली समाजको वास्तविक चरित्र सहनशिल हो । द्वन्द्वले समाजको प्रकृति, प्रवृत्ति र व्यक्तिको मानसिकतामा परिवर्तन ल्याएको छ । यसले समाजलाई असहनशिल र उत्तेजित बनाएको छ । ‘त्यसैको परिणाम स्वरुप यस्ता घटनाहरु भइरहेका छन् । घरभित्र वा बाहिर, स्वदेश वा विदेशमा मान्छे मर्ने र मार्नेसम्म पुग्न थालेका छन् । यसलाई आधुनिकतासँग जोडेर पनि हेर्ने गरिएको छ । एकातिर आधुनिक रहनसहन, रितिरिवाज बदलिएको छ । इच्छा र आकांक्षहरु पनि बदलिएका छन् । मानिसका चाहनाहरु हिजोको भन्दा आज फरक देखिएका छन् र ति इच्छा र चाहना पुरा गर्न उसले अपराधको सहारा लिने गरेको देखिन्छ । अर्कोतिर अनुशासनको बर्खिलाप भएको छ । हरेक घरका बालबालिकाहरु अनुशासनको घेरा बाहिर रहेका देखिन्छन् । समयसँगै अनुशासनका मान्यता परिवर्तन भइरहेका छन् । बालबालिकाले अनुशासन सिक्ने घरमै हो । घरमा बालबालिकालाई अनुशासन सिकाउने फुर्सद अधिकांश अभिभावकलाई छैन । यसले भविष्यमा झनै समस्या देखिन सक्छ ।

सामान्य भनाभनबाट सुरु भएको असमझदारी जब नियन्त्रण बाहिर जान्छ, तब भौतिक आक्रमण हुँदै हत्याजस्ता घटनामा परिणत हुने क्रम बढ्दो छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो एक वर्षमा पारिवारिक हत्याका मात्रै ५० भन्दा बढी घटना सार्वजनिक भएका छन् ।

प्रदेशका १४ जिल्लामा एक आर्थिक वर्षमा ८ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । तीमध्ये लगभग १ सय ५० बढी कर्तव्य ज्यानका मुद्दा छन्, जसमा उल्लेख्य संख्यामा आफन्तबाट गरिएका हत्या रहेका ब्लाष्ट खबरले छापेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीका अनुसार पछिल्लो समयमा देखिएका जघन्य अपराध नजिकका आफन्तबाटै हुने गरेको बताउँछन् पारिवारिक किचलो, प्रेम सम्बन्धमा धोका, सम्पत्ति सम्बन्धी असमझदारीजस्ता कुराले हत्यासम्मको अवस्था सिर्जना गरिरहेको उनको भनाइ छ । “विभिन्न क्षेत्रमा निराश भएपछि व्यक्तिहरूले आफूभन्दा नजिकको व्यक्तिलाई बाधक ठान्न थाल्छन्” डिआइजी कार्कीले भने, “त्यसपछि आवेगमा आएर हत्याजस्ता जघन्य अपराध हुने गरेका छन् ।”

उनका अनुसार पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्नु, विश्वास गुम्नु, आपसी बेमेल, एक(अर्काको भावना बुझ्न नसक्नु, र गलत सन्देह गर्नु यस्ता अपराध बढ्नुका प्रमुख कारण हुन् । प्रहरीले यस्ता घटनाहरूको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरेको छ । तर यस्ता घटना दिन प्रतिदिन बढिरहेका सन्दर्भमा मात्रै चेतनाले पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

पारिवारिक सम्बन्धभित्र कलह र अविश्वासले गहिरो रूप लिन थालेपछि यस्ता घटनाले प्राथमिकता पाएको देखिन्छ । अपराध विशलेषकहरुले समेत यसलाई स्वीकार गर्दै विश्लेषणमा सामाजिक र आर्थिक कारणहरू, प्रविधिको बढ्दो प्रयोग र व्यक्तिवादी सोच अपराधको जड बनेको छ । “आजको समाजमा हरेक कुरा ‘मेरो’ भन्ने सोच हाबी छ । सामूहिकता र हार्दिकता टुट्दै गएको छ” उनले भने, “पैसा र सम्पत्तिका लागि जे पनि गर्ने मनोवृत्ति, संस्कारको विघटन र अनुशासनहीनता भयावह बन्दै गएको छ ।”

परिवारले सही दिशा पाउन छाडेको छ । बालबच्चा, युवा, वृद्ध कसैमा पनि आत्म(संयमको अभाव देखिन्छ । देशभरकै अवस्था यहि छ तथापि कोशी प्रदेशभित्र प्रहरीले दिएको तथ्याङ निकै सम्वेदनशिल र चुनौतिपूर्ण देखिन्छ । 

कोशी प्रदेशमा पछिल्लो समय देखिएको पारिवारिक अपराधको क्रमले गम्भीर सामाजिक चिन्ताको विषय बनाएको छ । घर भन्ने शब्द आफैंमा सुरक्षा, माया, स्नेह र आत्मीयताको पर्याय हो(तर अहिले त्यही घरभित्र रगत बगिरहेको छ, हत्या र बलात्कारजस्ता जघन्य अपराधको थलो बन्दै गएको छ ।

सुनसरीमा छोराले बाबुको हत्या गर्नु, भोजपुरमा ज्वाइँले ससुरा परिवारका चारजनाको ज्यान लिनु, मोरङमा काकाले भान्जीमाथि बलात्कारपछि हत्या गर्नु(यी कुनै सामान्य आपराधिक घटनाहरू होइनन्। यी अपराधहरू आफन्तबीचको सम्बन्धमा रहेको गहिरो दरार, असहिष्णुता र आत्मसंयमको अभावलाई स्पष्ट रूपमा देखाउने प्रतिबिम्ब हुन् ।

मान्छेले आफूलाई सुरक्षित महसुस गर्ने ठाउँ घर हो । र, सुरक्षित महसुस गर्ने परिवार, आफन्तसँगै हो । तर, केही वर्षयता भोजपुर, संखुवासभामा जस्तै आफन्तबाटै, नातेदारबाटै ज्यान गएका घटना बाहिर आइरहेका छन् ।

सञ्चारमाध्यममा बाबुले छोरा मारेको, श्रीमानले श्रीमती मारेको, नातीले बाजे मारेको जस्ता समाचार दिनहुँ आउने गरेका छन् । किन यस प्रकारको अपराध बढिरहेको छ ? सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबै राजनीतिक दल र सरकारको बोली र व्यवहार मिलिरहेको छैन । खास गरी यस्ता घटनाहरुमा सरकारले खासै चासो देखाएको पनि छैन । यसले समाज, खासगरि परिवारमा कस्तो असर परिरहेको छ ? यसमा अध्ययन भएको छैन । सरकार यस्ता घटनाको विषयमा बेखबर देखिन्छ । प्रहरीले गर्ने काम भन्दै सरकार पन्छिने गरेको छ । तर समाजमा पछिल्लो समयमा किन परिवार र आफन्त एकआपसमा मृत्युका कारक बन्दैछन भन्ने खोजी, अनुसन्धान तथा निरुपणका अगाडि बढ्न सकिरहेको छैन । प्रहरीले पक्रियो कारवाही भयो बास सरकार त्यसैमा सन्तुष्ट देखिन्छ र भन्छन– शान्ति सुरक्षाको अवस्था ठिक छ । 

सामाजशास्त्रीहरू भन्छन्स–म्पत्तिको लोभ, प्रेम विफलता, संस्कारको विघटन, प्रविधिको गलत प्रयोग, र ‘म केन्द्रित’ सोच अपराधको मूल कारण हुन्। पारिवारिक अविश्वास, संवादको अभाव, र भावनात्मक दूरीले एउटा सानो असमझदारीलाई हत्या वा बलात्कारमा रूपान्तरण गर्न धेरै समय लाग्दैन भन्ने यथार्थ अहिले हाम्रो आँखा अगाडि छ ।

अर्को गम्भीर पक्ष के हो भने प्रहरी र सरोकारवालाहरू चेतनामूलक कार्यक्रम गर्दैछौं भन्छन्, तर ती कार्यक्रमको प्रभावकारिता र पहुँचको मूल्याङ्कन गरिएन भने त्यो घोषणामात्रै सीमित हुन्छ। चेतनाका कार्यक्रमहरू तब मात्र प्रभावकारी हुन्छन् जब तिनीहरूले व्यक्तिगत तथा पारिवारिक तहमा गहिरो छलफल र आत्मसमीक्षालाई उत्प्रेरित गर्छन् ।

यस अवस्थामा के गर्नु आवश्यक छ ?

पारिवारिक शिक्षा अनिवार्य बनाउनुपर्ने छ–विद्यालयदेखि नै सम्बन्ध व्यवस्थापन, आत्मसंयम, सहिष्णुता र संवादको महत्त्वबारे सिकाइनु आवश्यक छ । मनोपरामर्श सेवाहरूलाई पहुँचयोग्य र विश्वसनीय बनाइनु पर्छ, विशेषगरी ग्रामीण क्षेत्रमा । प्रहरी तथा स्थानीय सरकारको सहकार्यमा निगरानी प्रणाली बलियो बनाइनु पर्छ जसले हिंसाको सम्भावना भएका घरपरिवारलाई पहिचान गरेर समयमै हस्तक्षेप गर्न सकोस् । सामाजिक संस्थाहरूले मौन रहने होइन, सक्रिय रूपमा बीचमा हस्तक्षेप गर्ने संस्कार विकास गर्नुपर्छ ।

समाज मौन छ, शायद अनभिज्ञ पनि छ, तर अब पनि चुप लागेर बसियो भने घरभित्रकै हिंसा राष्टूको मेरुदण्डमा आघात पु¥याउनेछ। हरेक हत्या एउटा सम्बन्धको असफलता मात्र होइन, हाम्रो सामूहिक जिम्मेवारीको पराजय हो ।

अब समय आएको छ–जहाँ हामी आफन्तबाटै हुने अपराधलाई ‘व्यक्तिगत समस्या’ भनेर बेवास्ता गरिनु हुन्न । समग्र सामाजिक रोगको रूपमा लिई त्यसको उपचारतर्फ गम्भीर रूपमा उन्मुख होऔं । पारिवारिक सम्बन्धहरू सुदृढ नबनाएसम्म, समाज सँधै धरापमा हुन्छ भन्ने हेक्का सदैव राखौं । 


खगेन्द्र कार्की
प्रतिक्रिया