विश्वविद्यालयको बाढी चलेसँगै देशमा दीक्षित हुनेहरुको बाढी नै चलेको छ । २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयदेखि पछिल्लो समयमा खुलेका प्रादेशिक विश्वविद्यालय गरी डेढ दर्जन (१८) वटा खुलिसकेका छन् । तथापि अध्ययनका लागि बाहिर विद्यार्थीको संख्या घटेको छैन । यहाँ जतिले अध्ययन गरिरहेका छन् तिनीहरुको पनि अधिकांशको लक्ष्य बाहिरै जाने देखिन्छ । लाखौं विद्यार्थी हरेक वर्ष दीक्षित हुँदै आएका छन् । तर तिनीहरु कहाँ र के गर्दैछन सरकार भने सदैव बेखबर छ । देशमा बेरोजगारको अवस्था भयावह बन्दै गएपछि शिक्षिक युवाहरु बाहिर क्रम बढिरहेको छ । राजनीतिक अस्थिरता, कुशासन, आफ्नालाई छेक्ने अरुलाई सेक्ने सरकारको गलत नीति आदि धेरै कारणले युवाहरु स्वदेशमा बस्न चाहँदैनन ।
केही समय अगाडि त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित भए । त्रिविको स्वर्ण दीक्षान्तमा १४ हजार ३ सय ७ विद्यार्थी दीक्षित भए । त्रिवि, पूर्वाञ्चल, काठमाडौं, पोखरा लगायतका विश्वविद्यालयबाट प्रत्येक वर्ष हजारौं विद्यार्थी दीक्षित बनिरहेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । सो दीक्षान्त समारोहमा कला संकाययतर्फ २०४, कानुनतर्फ ४९७, शिक्षाशास्त्र संकायतर्फ ९०६, व्यवस्थापन संकायतर्फ दुई हजार २४९, चिकित्साशास्त्र संकायतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि संकायतर्फ ६५४ तथा इन्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्थी दीक्षित भए ।
दीक्षित बनेकामध्ये आधाआधी संख्या बेरोजगार छ । यो जनशक्तिलाई बेरोजगार मात्र मन्न मिल्दैन, ‘शैक्षिक बेरोजगार’ भनिनुपर्छ । यो विद्वत् युवाशक्तिलाई राज्यले सही ठाउँमा उपयोग गर्न सकेको छैन । स्वदेशमा पर्याप्त रोजगारी नहुँदा अवसरको खोजीमा यो वर्ग विदेशिन बाध्य छ
विश्वविद्यालयबाट बर्सेनी हजारौं जनशक्ति उत्पादन भएपनि राज्यले त्यसको सही सदुपयोग गर्न सकेको छैन । सीमित व्यक्तिले मात्र सरकारी सेवामा प्रवेशको अवसर पाउँछन् । व्यापार, व्यवसाय, उद्योग र कलकारखाना नहुँदा यो जनशक्ति बाध्यतावश पलायन भइरहेको छ । विश्वविद्यालयबाट लिएको डिग्रीको प्रमाणपत्र बाकसमा थन्क्याएर कोरिया जान ईपीएसको फारम भर्नुपर्ने अवस्था विद्यमान छ ।
राज्यको उपयुक्त नीति अभावमा उच्च शिक्षा हासिल गरेको युवाले आफैं उद्यममा लाग्न आनाकानी गरिरहेको छ । सीमित युवा मात्र उद्यमशीलतामा लागेका छन् । उद्यमी बनेका बहुसंख्यक युवा पुर्खाको बिँडो थाम्नेहरू छन् । देशको आर्थिक विकास र समृद्धिका लागि राजनीतिक भाषण होइन, यो जनशक्तिको उपयोग गर्ने नीति आवश्यक छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम नलाग्ने बताए । व्यवहारमा उतार्ने वातावरण राज्यले मिलाइदिनुपर्छ भन्ने हेक्का चाहि प्रधानमन्त्रीमा देखिएन । एकातिर तमाम विद्यार्थीको भविष्य उज्जवल बनाउनेहरुलाई प्रधानमन्त्रीका भाषणबाट तेजोबध गरिरहेका छन अर्कातिर शिक्षित बेरोजगार युवाहरुमा उर्जा थप्ने आधार दिन सकिरहेको छैन । राज्यले सही नीति लिएन भने यी कालोकोट लगाउनेहरूको निर्विकल्प गन्तव्य विदेश हुनेछ । र, भविष्यमा विद्यालय र विश्वविद्यालयमा पढाउने जनशक्ति समेत पाउन कठिन हुनेछ । जुन, अहिले नै अभाव देखिन थालिसकेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो