सहिदको सम्मानमा कर्मकाण्डी नबनौंं

फाष्ट मिडिया नेपाल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनका पक्षमा लागेका नेताहरु कुन स्वार्थले लागेका हुन त्यो भन्न सकिन्न तर हिजो तिनीहरुले आयोजना गरेका हरेक आन्दोलनहरुमा गोली खाएर मरेका मान्छेहरु चाहिँ देशकै लागि मरेका हुन । निस्वार्थ भावले तिनीहरुले देशका लागि रगत बगाएका हुन । हरेक कालखण्डमा देशका निम्ति आहुति दिएका ति तमाम सहिदको सम्मान सदैव गरिरहने उनले बताए । लामिछानेले यसरी कडा रुपमा बोलेका मात्र छन तर सहिदलागि गरेको केही देखिएको छैन ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले केही दिन अगाडि तेह्रथुमको भ्रमणमा पुगे । त्यहाँ पुगेर उनले माओवादी जनयुद्धका बेलामा ठूलो क्षति व्यहोरेको स्थान तेह्रथुमको आठराईमा जनयुद्ध शान्ति स्मारकको शिलान्यस गरे । उक्त स्थानमा वि.सं. २०५८ माघ १४ गते सुरक्षा फौजले १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीयको गोली हानी हत्या गरेको थियो । त्यो स्थानलाई सम्झिना मात्र राखेनन उनले शहिदका परिवारको अवस्था समेत बुझे । उनले त्यहाँ उक्त घटनामा मारिएका सबै २१ जनाका परिवारका सदस्यलाई प्रचण्डले दोसल्ला ओढाएर सम्मान पनि गरे । उनले पनि सहिदको नाममा आफ्नो समूह मात्रै देखे र त्यहाँ पुगेर शिलान्यासदेखि सम्मान गरे ।

सहिद दिवस मनाइरहँदा सहिदको नाममा रचनात्मक कामसहित स्मरण हुन आवश्यक छ । सहिद दिवस भनेर विभाजित मनस्थिति लिएर कुन सहिदले केका लागि योगदान गरेको भनेर छुट्याउने र सोही अनुसार स्मरण गर्ने प्रचलन गलत हो । जसले सहिदको सम्मान हुँदैन । जो जहाँबाट जेका लागि सहिद भएपनि उनीहरु राष्ट्र र समाजका लागि भएका हुन । यतिलाई आधार मानेर विभिन्न कालखण्डमा भएका आन्दोलन चाहे मधेस आन्दोलन होस् वा जनयुद्ध वा राणा शासनको अन्तय गर्न होस् वा लोकतन्त्र र प्रजातन्त्रका निम्ति सहादत्त प्राप्त गरुन् । चाहे क्षेत्रिय आन्दोलनमा होस् वा राष्ट्रिय आन्दोलन आखिर आन्दोलन आन्दोलन नै हो सबैको सम्मान समान रुपमा हुन जरुरी देखिन्छ । सहिद भन्ने वित्तिकै पहिलो स्मरण गर्ने व्यक्ति राणा फ्याक्ने प्रयत्नमा लाग्दा सहिद भएका ४ शहिद पहिलो पंक्तिमा आउँछन नै । त्यसपछिका घटनाक्रममा मारिएका सहिदलाई पनि त्यतिकै सम्झन आवश्यक छ । चाहे ति आन्दोलनकारीको तर्फबाट मारिएका हुन वा राज्य पक्षबाट सबै सहिदको सम्झनामा एकरुपता हुनुपर्दछ ।

भित्री मनले बडो महत्वका साथ मनाउनुपर्ने दिवस हो सहिद दिवस । राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने राजनीतिक दिवसअन्तर्गतका सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् मनाइँदै आएको छ । त्यसैको निरन्तरताले यसपटक पनि यो दिवस निम्तेको छ।  इतिहासदेखि आजसम्म राणा शासनविरुद्धको आन्दोलनदेखि ०६२÷०६३ को जनआन्दोलन दुई, जनयुद्ध, विभिन्न जातीय, मधेस, लैङ्गिक, पिछडावर्ग आदि तमाम आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरुको ‘रूप’ जे–जस्तो भए तापनि ‘सार’ एउटै हो । ती महान् सहिदका भावनाका सार भनेको सदियौंदेखि वञ्चित भएका अधिकारको सुनिश्चित गर्ने, सम्पूर्ण नेपाली जनताको मर्म र भावना समेट्ने लोकतान्त्रिक संविधान निर्माणपछि समुन्नत, समृद्धि र समावेशीसहित सुशासन तथा शान्ति र अमनचयन नै हो । ढिलै भए पनि संविधान प्राप्त गरेपछि नयाँ जोश, जाँगर, उत्साह र उमङ्गका साथ सहिद सप्ताह मनाइँदैछ । तर त्यो सहिद दिवसमा कसले कहाँ कसरी मनाउँदैछ कसैलाई हेक्का छैन । र आम जनतामा त्यसको अनुभूति हुने गरी सहिदको नाममा कुनै काम पनि भएको छैन । तसर्थ सहिद दिवस सँधै आफु अनुकूलका सहिदलाई सम्झने र दूई थुंगा फुल चढाएर घुमफिर र फोटोसेसन गरेर कर्मकाण्डी सहिद दिवस मनाउने प्रचलन बढेको छ ।

सहिदका लागि परिवारको सदस्य गुमाएर बसेका परिवारको सोच के होला ? उनीहरुले के देखेका होलान, के हेरेका छन र के भइदिए हुन्थ्यो भन्छन । उनीहरुको दैनिकी कस्तो छ ? कति सहिदका घाइतेहरु अझै गोलीका छर्राका घाउ बोकेर बसेका छन् । तिनीहरुलाई सम्झने, परिवारसँग भेट्ने, उनीहरुको दुःख, सुखको साथी बन्ने कोसिस सम्म गरिएको छैन । राज्यका हरेक प्रदेश तथा स्थानीय तहको समन्वयमा पहिलो प्राथमिकतामा यस्ता सहिदका परिवार हुनुपर्ने तर त्यो हुन नसक्नु नै विडम्बना भएको छ ।  केवल दुई–चार ठाउँमा गेट बनाइँदैमा, सडक र चौतारोको नाम परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र ओठेभक्ति देखाउँदैमा सहिदको मर्यादा, मान र सम्मान कसरी हुन्छ ? तसर्थ सहिदलाई सत्तारोहणको भ¥याङ मात्र नसम्झि सहिद सप्ताह मनाइँरहँदा सरकारले गाउँ गाउँमा सहिदका परिवारको अवस्थाको डाटा निकाले तिनको पक्षपोषण, संरक्षणमा लाग्ने नीति ल्याउनु उत्तिकै आवश्यक देखिन्छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया