आगलागीमा सजगताको एउटा नमूना : उत्तरी मोरङको केराबारीमा

फाष्ट मिडिया नेपाल संवाददाता

केराबारी । जताततै आगलागी भईरहेका छन् । आगलागीबाट सावधानी रहनु पर्ने दायित्व सर्वसाधारणको पनि हो । कहिँ आगलागी भएको देखियो वा ठूलो धुवाँको मुस्लो मात्रै देखियो भने पनि त्यो के हो निक्र्योल गरेर सम्बन्धित ठाउँमा खबर गर्ने देखि आफुले त्यो आगो नियन्त्रणका लागि सकेसम्मको पहलकदमी राख्नु नै मानवताको धर्म हुन्छ । यस्तै धर्म निर्वाह गरी गाउँ, टोल, बजारलाई ठूलो जोखिमबाट बचाउने काम गरेका छन । सुन्दा सामान्य लागेपनि उदाहरणीय काम केराबारी गाउँपालिका स्थित शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष गोकुल बहादुर थापाले गरेका छन् । यस्तै सजगता सबैतिर अपनाउन सकिएको खण्डमा आगलागीका घटनाहरु धेरै कम हुने देखिन्छ । 

उनले सामाजिक सञ्जालमा लेखेका छन– करिब ११ः३० पसलबाट खाना खानको लागि भनेर घर जाँदै थिएँ, पश्चिम दिशाबाट निक्कै ठूलो हावा चल्दै थियो त्यतै तिरबाट धुवाँको ठूलै मुश्लो आई रहेको थियो । त्यता छेछाउकाहरुलाई फोन गरेर के भएको हो भनेर सोधें । त्यतै मच्छिन्द्र माविको होस्टलमा कसले के जलाएको हो ठुलै आगो बलेको छ भने । खाना खान छाडेर त्यतै तिर लागें । कसैले बाहिरबाट तोरीको गट्टे ल्याए् होस्टल कम्पाउण्डमा फालेको र हावाहुरीकै बीचमा जलाएको छ, रोपिएका अशोकका केहि बिरुवाहरु डढ्ने गरी वरिपरि डढेलो फैलिएको छ, त्यहाँ नजिकमा कोहि पनि छैन । होस्टलमा बस्ने उदयपुरको विद्यार्थी भाइ पदम खड्का, अर्को केराबारी–३ को भाइ र म ३ जना भएर बाल्टीमा पानी बोकेर त्यो आगो निभायौ् । 

सवाल त्यस्तो हावाहुरीमा आगो फैलिएको भए, स्कुलको होस्टल र केराबारी बजारमै ठूलो विपत्ति आउन सक्थ्यो भन्ने कुरा एउटा होला तर त्योभन्दा गम्भीर कुरा भनेको उत्तरी मोरङ्गकै श्रोत साधन र सुविधा सम्पन्न मच्छिन्द्र माविको लथालिङ्ग व्यवस्थापनको कुरा हो ।

बाहिरबाट मच्छिन्द्र माविमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि बनाइएको होस्टलमा केहि विद्यार्थीहरु र केही शिक्षकहरुका अलावा स्वयं विद्यालयका प्रधानाध्यापक श्री नारायणप्रसाद अधिकारीज्यू सम्पूर्ण परिवारका साथ धेरै वर्षदेखि बस्दै आउनु भएको छ । होस्टलमा प्रयाप्त कोठाहरु भएकोले उहाँहरु बस्नु हुन्छ, कोठा खाली छाड्नुभन्दा बस्नु राम्रो हो, संरक्षण पनि हुन्छ । ठूलो आपत्तिको विषय पनि भएन, त्यसलाई स्वभाविक रूपमा लिन सकिन्छ । तर उहाँहरु वर्षौंदेखि बस्दै आएको होस्टल यति अस्तव्यस्त देखियो कि त्यसको लागि कोहि पनि जिम्मेवार नै छैन, त्यहाँ पुग्दा हेडसर हुनुहुन्न, संचालक समिति पनि छैन जस्तो महसुस हुन्छ । होस्टलमा सँगसँगै दुई वटा गेटहरु छन तर दुबै काम लाग्दैनन, बिग्रेको वर्षौं भई सक्यो । अघिल्लै व्यवस्थापन समितिको कार्यकालमा मर्मत गर्ने भनी निर्णय भएको हो तर अझै बनेको छैन, लाग्छ विद्यालयको आर्थिक अवस्था त्यो गेटहरु मर्मत गर्न समेत नसक्ने गरी अत्यन्तै नाजुक छ । बाहिरका पशु चौपाया र मानिसहरू होस्टल भित्र निर्वाध घुम्छन, फोहोर गर्छन, बाहिरको फोहोर भित्र ल्याएर  फाल्छन । 

कसैले देख्दैन, कसैले रोक्दैन । लगाएका बोट बिरुवाहरुको गोडमेल, मलजल छैन, सबै झोड छ । सबै जुनियरहरुलाई पछारेर हेड सर बन्नु भएका नारायण सर अहिले मामाको धनमा फुपुको श्राद्ध गरेर बस्नु भएको जस्तो देखिन्छ । बिगतमा केराबारी गाउँपालिकाका ३८ विद्यालयको अभिभावकको भूमिका निर्वाह गर्नु भई सक्नु भएको केराबारीको लेजेन्ड व्यक्तित्व श्री शान्ति कुमारी लिम्बू भुजेल ज्यू सिङ्गो  व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ तर व्यवस्थापनको अवस्था यस्तो छ । केराबारीकै अग्रज व्यक्तित्वलाई एउटा नाथे स्कुलको सिमित भूमिकामा बाध्दा सायद यस्तो समस्या भएको हुन सक्छ ।  

यो होस्टेलको दुरावस्थाले विद्यालयको व्यवस्थापन पनि कस्तो होला भनेर अनुमान लगाउन सहज होला सबै सरोकारवालाहरुललाई जब कि बिगत वर्षको एसइइको नतिजा त सबै सामु प्रकट भई सकेकै छ भने गत वर्षकै एसइइ परिक्षा ताका मच्छिन्द्र माविको नक्कली विद्यार्थी काण्ड पनि केराबारीबासीहरु बीच र देश भरी चर्चित भएको छ । मानिसहरूले केराबारीलाई कलंकको टीका लगाएको त्यो दिन अझैसम्म बिर्सी हालेका छैनन होला ।  यस्तो दुरावस्था देख्दादेख्दै समाजको रोल मोडेल विद्यालय र रोल मोडेल व्यक्तित्वहरुबाट हाम्रो समाजले अब पनि सार्थक परिवर्तनको आशा राख्ने ठाउँ होला त ?

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया