विभिन्न देशलाई धक्का दिँदै गएको विनासकारी भुकम्पले चाइनामा डेढसय बढीको मृत्यु, नेपालमा पनि क्षति

खगेन्द्र कार्की

२०७२ सालको झल्को दिने गरि चाइनाको स्वसाशित क्षेत्र तिब्बत केन्द्रविन्दु भएर गएको भुकम्पले नेपाललगायत विभिन्न देशलाई धक्का मारेर गएको छ । सो विनासकारी भुकम्पमा परेर अहिलेसम्म चाइनामा १ सय ५० बढीको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । यस्तै नेपालमा पनि केन्द्रविन्दु परेको स्थानका आसपासका जिल्लाहरुमा निकै ठूलो क्षति पु¥याएको छ । सो भुकम्पको धक्काका कारण २ जना घाइते भएका छन भने दर्जन विद्यार्थीहरु बेहोस् समेत भएका छन् । 

चीनसहित नेपाल, भुटान, भारत र बंगलादेशका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पका कारण स्वशासित क्षेत्र तिब्बतमा कम्तीमा पनि १ सय ५० जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस घाइते भएका छन् ।
केही दिनदेखि तिब्बतको विभिन्न भागमा भूकम्पका धक्काहरू महसुस गरिएको भए पनि मंगलवार बिहान भने शक्तिशाली भूकम्प गएको थियो ।

मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण सिगात्से सहर नराम्रोसँग प्रभावित भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निड पोस्टले जनाएको छ ।

भूकम्पका कारण तिब्बतको सिगात्से सहरसहित अन्य क्षेत्रसमेत प्रभावित भएकाले भौतिक संरचनाको क्षतिको विवरण आउन भने अझै समय लाग्ने पनि बताइएको छ । अहिलेसम्म १ हजारभन्दा बढी घरहरू काम नलाग्ने गरी भत्किएका छन् । चिसो मौसमका कारण उद्धार तथा राहत वितरण गर्न कठिनाइ भएको चिनियाँ सैनिक अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

भूकम्पपछि चीन सरकारले तिब्बतसँग जोडिएका हिमालहरूमा हिमपहिरो जान सक्ने भएकाले केही समयका लागि विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथालगायत अन्य हिमाल आरोहणमा समेत रोक लगाएको छ । एकाबिहानै भूकम्प गएपछि नेपालको राजधानी काठमाडौंसँगै तिब्बतसँग सीमा जोडिएको धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्वु, रामेछाप, ओखलढुंगा, दोलखा, ताप्लेजुड, पाँचथरलगायत जिल्लाका सरकारी निकायलाई सरकारले चनाखो बनाएको थियो ।

नेपालमा भूकम्पको धक्का कडा महसुस गरिए पनि मानवीय र भौतिक क्षति भने भएको छैन । तिब्बतमा गएको भूकम्पका कारण नेपालमा सरकारी तथा निजी गरी १० वटा भौतिक संरचनामा क्षति पुगेको छ भने एक जना नेपाली नागरिक घाइते भएको गृह मन्त्रालयले जनाएको छ । नेपालमा भने उक्त भूकम्पको मापन ५ दशमलव ३ रिक्टरस्केल बराबरको भएको पनि भूकम्प मापन केन्द्रले जनाएको छ ।


भूकम्पका कारण बारामा एक दर्जनको हाराहारीमा स्कुले बालबालिका बेहोस भएका थिए भने उनीहरूको अवस्था केही समयपछि सामान्य बनेको मन्त्रालयले जनाएको छ । तिब्बतमा भूकम्प गएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न चिनियाँ जनसेनालाई निर्देशन दिनुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरूको खोजी र उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

राष्ट्रपति सीले भूकम्पको अनुगमन र विपद् राहत सामग्री तुरुन्तै बाँडफाँट गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मतलाई द्रुत बनाउन, प्रभावित क्षेत्रका बासिन्दालाई आधारभूत आवश्यकता पूरा भएको सुनिश्चित गर्न पनि सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । बिहानको भूकम्पपछि तिब्बतमा लगातार परकम्पहरू गएपछि घर बाहिर रहेका चिनियाँ नागरिकहरू घरभित्र प्रवेश गर्न मानिरहेका छैनन् । प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।


प्रभावित स्थानमा कठ्याङ्ग्रिने जाडो छ । त्यहाँ उद्धारकर्ताहरूले भवनका भग्नावशेषमा कोही पुरिएका छन् कि भनेर खोजी गरिरहेको र प्रभावित मानिसहरूलाई कम्बल वितरण गरिरहेको भिडियोमा देखिन्छ । चिनियाँ सेनाले राहत पु¥याउन ड्रोनहरू प्रयोग गरिरहेको छ ।

राष्ट्रपतिद्वारा दुःख व्यक्त
मंगलबार बिहान तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी दर्जनौंको मृत्यु भएको र सयौं घाइते तथा ठूलो मात्रामा भौतिक क्षति भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ ।

तिब्बतको भूकम्प र नेपालका हिमतालको अवस्था
नेपालको उत्तरी क्षेत्र र चीनको तिब्बत क्षेत्र भौगर्भिक रूपमा अत्यन्तै कमलो र कमजोर छ भन्ने प्रमाणित भइसकेको छ । भूकम्पले दिने झट्कालाई उक्त क्षेत्रका हिमतालको अवस्थिति र संवेदनशीलतामा भर पर्ने गर्दछ । मंगलबार बिहान तिब्बतको सिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालका हिमतालहरूमा के कस्तो असर गरेको छ त्यसबारे खोजबिन हुनुपर्ने आवाज उठिरहेको छ ।

तिब्बतको भूकम्पका कारण नेपाालका हिमतालहरू अहिले नै जोखिममा परिहाल्ने अवस्था नरहेको हिम जलाधारविज्ञ डा. रिजनभक्त कायस्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘नेपालका दुईवटा हिमतालहरू अति जोखिमको अवस्थामा रहेका थिए सरकारले ती तालको व्यवस्थापन गरेकाले अहिले डराइहाल्नुपर्ने अवस्था भने छैन ।’

पछिल्लो अनुसन्धानअनुसार कोशी, गण्डकी र कर्णाली बेसिङमा गरिएको अध्ययनले कुल ३ हजार ६ सय २४ हिमताल भेटिएका थिए । तीमध्ये २ हजार ७० हिमतालहरू नेपालमा रहेका छन् भने १ हजार ५ सय ९ हिमताल चीनमा रहेका छन् । बाँकी रहेको ४५ वटा हिमातल भारतमा रहेको छ । ती तालहरूको विशेषताहरू भूगोल, आकारप्रकार, तिनीहरूको वरिपरिको भौगर्भिक अवस्था र ग्लेसियरको गतिविधि र आकारलाई हेरेर गरिएको अध्ययनले कुल ४७ वटा हिमतालहरू खतराको सूचीमा रहेका छन् । ४७ तालहरूमध्ये पनि नेपालको कोशी बेसिङ क्षेत्रका ४२ हिमताल, गण्डकी बेसिङका ३ हिमताल र कर्णाली बेसिङका २ हिमतालहरूले खतराको घन्टी बजाइरहेको वातावरणविद् नवराज पोखरेलले जानकारी दिनुभयो । भूकम्पले यीबाहेक अन्य तालहरूलाई पनि प्रभाव पार्न सक्ने उहाँले बताउनुभयो । भूकम्पले ताल वरिपरि भएको भूगोल र भूगर्भ परिवर्तन भएमा त्यो फुट्न सक्ने सम्भावना हुने वातावरणविद् पोखरेल बताउनुहुन्छ ।


भूकम्पले गर्दा हिमताल वरिपरिको भूगर्भलाई हल्लाउने र त्यसले वरिपरिको भूभागलाई फुटाउन सक्ने सम्भाबना बढी हुने पनि उहाँले जानकारी दिनुभयो । ‘उक्त क्षेत्रमा तापक्रम परिवर्तन भयो भने हिमतालको आयतन बढाउन सक्ने र त्यसको कारण हिमताल फुट्न सक्ने सम्भावनालाई बढाउँछ’ –पोखरेल बताउनुहुन्छ ।

नेपालमा भूकम्पको इतिहास
–नेपालमा विसं १३१० मा ठूलो भूकम्प गएको पाइन्छ । त्यसले थुप्रै देवालय र घर भत्किए । भूकम्पमा परी राजा अभय मल्लको समेत ज्यान गएको थियो ।
–१३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि भवन भत्काउनुका साथै महामारी ल्यायो । १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए ।
–१७३८ को भूकम्पले धेरै घर र मन्दिर भत्किए ।
–१८६६ को भूकम्पले पशुपतिनाथको टेबललाई केही गरेन तर अन्य थुप्रै मन्दिरलाई पाताल बनाइदियो ।
–१८९० मा गएको महाभूकम्पले दुई वटामध्ये एउटा धरहरा पाताल बन्यो । पाटन बालकुमारीको डड् मन्दिरबाट भूकम्प गएको २१ दिनपछि मूर्ति निकालिएको थियो । दरबार, मठमन्दिर थुप्रै भत्किए । त्यस भूकम्पले १८ हजार घरमा क्षति पुगेको अनुमान गरिएको छ ।
–१९९० को भूकम्प ८.३ रेक्टर स्केलको थियो । त्यसमा ८ हजार ४ सय ३२ जनाको ज्यान गएको थियो भने १८ हजार ७ सय १३ जना घाइते भएका थिए । त्यस बेला उपत्यकामा १२ हजार, पहाडमा २४ हजार ७ सय ५२ घर र तराईमा ३ हजार ७ सय ५४ पर पूर्ण क्षति भएका थिए । त्यस्तै, उपत्यकामा २५ हजार ६५ घर, पहाडमा ७३ हजार २ सय ५३ घर र तराईमा ५ हजार ६ सय १० घर आंशिक क्षति भएका थिए ।
–२०३७ साउन १४ गते आएको भूकम्प ६५ रेक्टर स्केलको थियो । बाङ केन्द्रबिन्दु भएको यो भूकम्पले १ सय ७८ जनाको ज्यान लियो भने ४० हजारभन्दा बढी घरलाई क्षति बनायो ।
–२०४५ भदौ ५ गते ६.२ रेक्टर स्केलको भूकम्प उदयपुर केन्द्रबिन्दु भएर गएको थियो । यो भूकम्पमा परी ७ सय २१ जनाको मृत्यु भएको थियो । ६ हजार २ सय १३ जना घाइते भएका थिए । त्यस बेला १४ हजार २ सय ६४ घर पूर्ण क्षति, ३३ हजार २ सय ५२ घर चिरा परेर प्रयोग गर्न नमिल्ने भएका थिए ।
–२०६५ मंसिर ३१ गते हुम्ला केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गयो । यसले मानवीय क्षति कम गरे पनि भौतिक क्षति पु¥याएको थियो ।
–२०६८ असोज १ गते पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएको भूकम्पले ठूलै क्षति गरेको थियो । त्यसको मापन ६.८ रेक्टर स्केलको गरिएको थियो । ताप्लेजुङ र भारतको सिक्किम केन्द्रबिन्दु भएको यो भूकम्पका कारण नेपालमा छ जनाको मृत्यु हुनुका साथै साढे छ हजार घर पूर्ण क्षति भएका थिए । १२ हजारभन्दा बढी घरमा आंशिक क्षति तुल्यायो भने डेढ हजारभन्दा बढी सार्वजनिक भवन पनि क्षति भए ।
–२०७२ वैशाख १२ गते ११ः५६ बजे गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएको यो भूकम्पका कारण ८ हजार ९ सय ७० जनाको मृत्यु हुनाका साथै २२ हजार ३ सय २ जना घाइते भएका थिए ।
–वैशाख १३ गते दोलखा केन्द्रबिन्दु भएर ६.२ रेक्टर स्केलको, वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा ८ लाख ६६ हजार २ सय ७ निजी घर पूर्ण क्षति र ४७ हजार २७ घर आंशिक क्षति भएका थिए ।
–साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको सोही वर्षको कातिक २३ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
–२०७७ साल भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गयो ।
–२०८० कात्तिक १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गएको थियो । १ सय ३५ घर क्षतिग्रस्त भएका थिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया