दल दर्ताको बाढीमा पुराना दललाई अस्तित्व जोगाउन मुस्किल

खगेन्द्र कार्की

 जेनजी आन्दोलनको धुँवामाथि अझै धुलो नबस्दै, नेपालका राजनीतिक दलहरू पुनः आफ्नो अस्तित्व र दिशाबोधको संकटमा तिलमिलाइरहेका छन् । देशको राजनीतिक वृतमा हरेक आन्दोलनले केही परिवर्तन ल्याउने अपेक्षा गरिन्छ, तर यसपटक जेनजी आन्दोलनले ल्याएको हलचल दलहरूका लागि चेतावनी बनेको देखिन्छ । आन्दोलनले युवाहरूको असन्तोष, सत्ताको दुरुपयोग र दलगत स्वार्थका विरुद्ध उठेको विद्रोहको संकेत त दियो तर दलहरूले त्यसलाई स्वीकार्ने साहस देखाएनन् । बरु उनीहरू आपसी आरोप–प्रत्यारोप, अदल–बदल र एकता–विभाजनका खेलमा व्यस्त देखिन्छन् ।

जेनजी आन्दोलन र दलहरूको दोधार

२३ र २४ भदौमा भड्किएको जेनजी आन्दोलनले देशभरि ठूलो जनमत खिच्यो । आन्दोलनमा ७५ भन्दा बढी मानिसले ज्यान गुमाए, तर राजनीतिक दलहरूका अधिकांश नेताहरूले आगजनी र तोडफोडलाई प्रमुखता दिएर आन्दोलनको मूल मर्मबारे मौनता साधे । जनताको असन्तोष र मागबारे गम्भीर समीक्षा गर्नु सट्टा, दलहरूले त्यसलाई सुरक्षा चुनौतीका रूपमा चित्रण गरे । यहीँबाट दल र जनताबीचको दूरी अझ बढ्दै गयो ।

सरकार पनि जेनजीको बलमा बनेको भए तापनि आन्दोलनका मुद्दा सम्बोधन गर्नुभन्दा बढी, सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडका घटनालाई मात्रै केन्द्रमा राखी कारबाही गर्न थाल्यो । नतिजा स्वरूप, आन्दोलनमा संलग्न सयौँ युवाहरू पक्राउ परे र उनीहरूलाई “राज्यविरोधी” करार गरियो । दलहरूले आन्दोलनको माग सुन्ने साटो आफ्नो राजनीतिक समीकरण सुरक्षित राख्ने खेल खेल्दैछन।

अदल–बदल र दलगत अस्थिरता

हालको राजनीतिक परिदृश्य हेर्दा कुनै पनि दल स्थिर र विश्वासिलो देखिँदैन । दलका नेताहरू एकपछि अर्को पार्टीमा धाउने, असन्तुष्ट नेताहरू नयाँ समूह बनाएर दल दर्ताका लागि निर्वाचन आयोग धाउने क्रम निरन्तर छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनको घोषणापछि मात्रै पाँच नयाँ राजनीतिक दल दर्ता भइसकेका छन्। यसबाहेक २० नयाँ दल र एकीकरण प्रक्रियाबाट आएको एउटा दल दर्ता प्रक्रियामा छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य साना दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी समेत दर्ता भइसकेको छ ।

धरानका मेयर हर्कराज राई  (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत सहभागी गतिशील लोकतान्त्रिक पार्टी, रेशम चौधरी संरक्षकको नागरिक उन्मुक्ति पार्टी, नेपाल – यी सबै जेनजी आन्दोलनपश्चात् जन्मिएका नयाँ दलहरू हुन् । यी दलहरूको उदयले परम्परागत दलहरूप्रतिको असन्तोष झल्काउँछ ।

विभाजनको श्रृंखला

पुराना दलहरू पनि स्थिर छैनन् । जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी बनेको छ भने नेपाल जनमुक्ति पार्टीबाट अलगिएर राष्ट्रिय जनमुक्ति पार्टी गठन भएको छ । यसरी दल विभाजन र पुनर्गठनको श्रृंखला रोकिएको छैन ।

यतिबेला निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या १२६ नाघेको छ । कतिपय पुराना दल खारेजीमा परेका छन् – जस्तै वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) खारेज भइसकेको छ । गौतमले पछि आफ्नो दल एकीकृत समाजवादीमा विलय गरेका छन् ।

यसबीच, कुलमान घिसिङको समर्थन रहेको उज्यालो नेपाल पार्टी, अजयकुमार राई नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी, गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल, र अन्य थुप्रै नयाँ नामहरू दर्ता प्रक्रियामा छन् ।

तितरबितर नेताहरू, असंलग्न कार्यकर्ताहरू

राजनीतिक दलका नेताहरू अहिले आत्मसमीक्षा गर्नभन्दा बढी पद र प्रभावको खोजीमा छन् । पार्टीको नीति–नियम उल्लङ्घन गरेर पनि फेरि पदमा पुग्ने प्रयत्न गर्नेहरू देखिन्छन् । पार्टीभित्र अवसर नपाएपछि अर्को  दलतर्फ उन्मुख हुने प्रवृत्ति तीव्र बनेको छ ।

कतिपय नेताहरू “सक्किने डर” ले अन्य दलसँग एकता गर्छन्, केहीले नयाँ नाममा दल दर्ता गर्छन् । दलभित्रको सिद्धान्तभन्दा व्यक्तिगत अस्तित्व जोगाउने मानसिकता बलियो बनेको छ । यसरी नेताहरूको अस्थिरता र अदूरदर्शिताले देशको राजनीतिक दिशालाई झनै भ्रमित बनाएको छ । जेनजी आन्दोलनले उठाएका मुद्दालाई यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएकै हो । राजनीतिक आवरणमा सत्तामा बसेर दाई गर्नेहरुको भण्डाफोर पनि त्यही दलले गरेको हो । संसदभित्र र बाहिरबाट सरकारले गरेका हरेक गलत कदमको विरोध गर्दै आएपनि सानो पार्टीको आवाज दबाइयो । अनेकन तिकडम गरेर रास्वपाको लोकप्रियता खस्काउने उद्देश्या साथ सभापति रवि लामिछानेलाई सहकारी अपचलनको आरोप लगाएर हिरासतमा राखिएको वर्ष बितिसकेको छ । त्यो पार्टीले यस अघिको निर्वाचनमा जन्मेको ६ महिनामा २१ जना सांसदहरु संसद भवनमा उभ्यायो र त्यही पार्टीबाट पनि नेताहरु यता र उता गरिरहेका छन् । उक्त पार्टीका सन्तोष परिवारले शुक्रबारदेखि रास्वपा परित्याग गरेर सुरक्षित स्थान खोजिरहेका छन् । उता शिक्षा मन्त्री समेत भईसकेकी सुमना श्रेष्ठको हालत पनि उस्तै छ । उनले केही महिना अगाडि नै रास्वपा छोडेर अहिले यता र उता भौतारिएकी छन् । यसरी हरेक पार्टीका नेताहरु आफ्नो स्थान सुरक्षित कसरी गर्ने भनेर तिलमिलाई रहेका देखिन्छन । 

त्यसो त माओवादी केन्द्र छाडेका नेताहरु यतिबेला जनार्दन शर्माको नेतृत्वमा गोलबन्द भइरहेका छन् । सुदन किरातिदेखि ओम शर्मासम्मका नेताहरु जनार्दन शर्माको टिममा रहेर काम गरिरहेको बेला यो समूहले नयाँ राजनीतिक अभ्यास गर्ने पहल गर्दै जेनजी समूहका युवाहरुलाई समेत समेट्ने प्रयास ग¥यो । तर, यो सम्भव नदेखिएपछि बाबुराम भट्टराईसहितको नयाँ पार्टी गठनको तयारी अघि बढेको छ । 

माओवादीबाट नेपाली कम्युनिस्ट पार्टीमा नगएकाहरु जनार्दन शर्मालाई नै नेतृत्व मानेर अघि बढिरहेका छन् । तर, जनार्दनले आफूलाई नेतृत्वमा भने राखिरहेका छैनन् । त्यही गुटमा मिसिएका छन रास्वपाबाट बाहिरिएका सन्तोष परियार । 

जेनजी आन्दोलनको प्रभाव र दलहरूको असंवेदनशीलता

जेनजी आन्दोलनले नेपालका युवाहरूमा नयाँ राजनीतिक चेतना जगाएको छ । उनीहरू दलगत सीमाभन्दा माथि उठेर पारदर्शिता, जवाफदेही र कार्यक्षमताको माग गर्दै सडकमा उत्रिए । तर, दलहरूले यो नयाँ चेतनालाई अवसरको रूपमा लिन सकेनन् । उनीहरू आन्दोलनका मुद्दा सम्बोधन गर्नभन्दा आफ्ना समीकरण सन्तुलनमा व्यस्त रहे ।

राजनीतिक दलहरू युवाको असन्तोष बुझ्न असमर्थ रहँदा, आन्दोलनले दलविहीन सोच र वैकल्पिक राजनीति खोज्ने मनोवृत्तिलाई बलियो बनाएको छ । यही कारणले हाल आयोगमा नयाँ दल दर्ताको लहर देखिएको हो ।

संसद पुनःस्थापनाको बहस र निकासको अवरोध

राजनीतिक दलहरू अहिले पनि सत्ता समीकरणका आधारमा संसद पुनःस्थापनाको माग गर्दैछन् । एमाले लगायतका दलहरूले “सर्वदलीय सरकार निर्माण” को आवाज उठाइरहेका छन्, तर त्यसको अन्तर्गतमा वास्तविक जनचासोभन्दा दलगत स्वार्थ बढी लुकेको देखिन्छ । सर्वदलीय छलफल गरेर संसद खोल्ने म्याण्डेट पाएपछि यस अघिका पटक पटकका सम्झौता कार्यान्वयनमा रुखोपन देखाएका दलप्रतिको विश्वास न्युन छ । उनीहरु त्यो संसदलाई प्रयोग गरेर पुनः जेनजी आन्दोलन सकाउने र त्यो आन्दोलनको भएको भौतिक क्षतिलाई प्राथमिकतामा राखेर कारवाहीको शृंखला अगाडि बढाउने आशंका बढी छ । 

सत्ता साझेदारीका लागि भएका गठबन्धनहरू पनि अस्थायी साबित भइरहेका छन् । नीति, दृष्टि र सिद्धान्तभन्दा पद र भागबन्डाको राजनीति हाबी छ । फलस्वरूप, देशको नीति(निर्णय प्रक्रियामा ठहराव आएको छ ।

निकास कहाँ?

वर्तमान राजनीतिक अवस्थाले देखाउँछङदलहरू तितरबितर छन्, नेताहरू दिशाहीन छन् र जनताको विश्वास फेरि खस्कँदै छ । देशमा वैकल्पिक राजनीतिक शक्ति उदाउने संकेत देखिए पनि ती नयाँ दलहरू पनि व्यक्तिपूजामा फँस्ने खतरा उत्तिकै छ ।

निकासका लागि अब दलहरुले आत्मसमीक्षा गर्न चुक्नु हुन्न । जनताको असन्तोषलाई सुन्ने, युवाको राजनीतिक सहभागिता सुनिश्चित गर्ने, आन्तरिक लोकतन्त्र पुनर्जीवित गर्ने र सिद्धान्तमा आधारित राजनीति पुनःस्थापित गर्ने प्रयास नगरेसम्म यो तितरबितर अवस्था अन्त्य हुँदैन ।

निष्कर्ष

जेनजी आन्दोलनले नेपालको राजनीतिक जग हल्लाएको छ । दलहरू र तिनका नेताहरू अहिले दिशाहीन यात्रामा छन् । जसरी आन्दोलनको धुलो बस्दै गर्दा नयाँ दलहरूको बाढी आएको छ, त्यसले पुरानो दलहरूको कमजोर जरो उजागर गरेको छ ।

राजनीतिक दलहरूले यदि जनताको विश्वास फिर्ता ल्याउन सकेनन् भने, निकट भविष्यमा जनताको अर्को ठूलो राजनीतिक उथलपुथलको लहर आउन सक्छ । दलहरू अझै पनि तिलमिलाइरहेका छन–तर अब तिनीहरूले आत्मसमीक्षा नगरे, इतिहासले फेरि उनीहरूलाई तितरबितर बनाउनेछ ।

खगेन्द्र कार्की
प्रतिक्रिया