देशभर आगलागी र डढेलो झन समस्या बन्दै गएको छ । आगलागी र डढेलो मानविय त्रुटिकै कारणले बढी लाग्ने गरेको छ । आगलागीले मानविय तथा भौतिक र जैविक क्षति भईरहेको छ । प्रहरी रिपोर्टका अनुसार माघ महिनामात्रै मुलुकभर ४ सय ७८ स्थानमा आगलागीका घटना भएका छन् । ति घटनामा परेर २२ जनाले ज्यान गुमाएको रिपोर्टं केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले दिए । मृत्यु हुनेमा ११ पुरुष र १० महिला र एक बालक रहेको जनाइएको छ । घाइते हुनेहरुको संख्या झन धेरै छ । २६ पुरुष, ५४ जना महिला र ४ बालक अनि तीन बालिका गरी ८७ जना घाइते भएका छन् । विस्थापित हुनेको संख्या १७ रहेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाएको छ । प्रहरीले दिएको रिपोर्ट अनुसार कोशी प्रदेशलाई हेर्ने हो भने १ सय २९ वटा आगलागीका घटना भएका छन् । प्रहरी प्रतिवेदन अनुसार ६८ वटा घर र ६६ वटा गोठमा आगलागी जनाइएको छ । क्षतिको हिसाब गर्ने हो भने १८ करोड ४८ लाख रुपैयाँको क्षति माघभित्रै भईसकेको प्रहरीले जनाएको छ ।
यता झापाको मेचीनगरमा गएराती पुजा कोठामा विद्युत सर्ट हुँदा वडा नं. ४ आमडाँगी बस्ने ५१ वर्षीय बिरेन्द्रराज राई घाइते भएका छन् । गएराति ११ बजे ग्यास सिलिण्डर पड्किएर ओखलढुंगाको सिद्धिचरण –४ चारखु बस्ने भिमबहादुर खत्रीको ढुंगा माटोको गारो, टिनको छानो भएको २ तले घरमा आगलागी भएको छ । एकदिन अगाडि चुलोबाट सल्किएको आगोले संखुवासभा भोटखोला– ४ सेम्बुङ बस्ने दावा जुमिक भोटेको काठले बनेको, टिनको छानो भएको २ तले भुइँ टाँडे घर जलेर नष्ट भएको छ । यसरी हरेक दिन आगलागीका घटना घटिरहेको अवस्थाले आम नागरिकलाई चिन्तित तुल्याएको छ ।
आगलागी र डढेलोका घटना चैत÷वैशाखमा अझ बढी हुने अनुमान गरिएको छ । चट्याङसँगै मान्छेको लापरबाहीले आगलागी र डढेलो घटना बढेका छन। सुक्खा हुँदा र तापक्रम बढ्दा आगलागी भएको स्थानका साथै अन्य स्थानमा आगो फैलन सक्ने सम्भावना बढ्छ । अहिले भइरहेको पनि त्यही हो। जंगलको कुनै एक ठाउँमा आगो लागेमा चाँडै धेरैतिर फैलिरहेको छ। बस्तीमा भइरहेका आगलागीका घटनामा पनि समस्या त्यस्तै नै हो । प्राकृतिक कारण चट्याङ, भुइँचालोमा चट्टानमा घर्षण हुने वा प्रज्वलनशील पदार्थ पोखिने वा मिसिने कारण उत्पन्न हुने, सुकेका रुखका हाँगा एक आपसमा रगडिएर आगो उत्पन्न हुने, जमिनमुनी रहेका हड्डीमा घर्षण हुने आदि धेरै कारणले आगलागी हुनसक्छ ।
प्राकृतिक कारणले हुने आगलागी नियन्त्रण गर्न कठिन हुन्छ तर पनि सचेतना अपनाउने हो भने कृत्रिम तबरले हुने आगलागी र सबै प्रकारका आगलागीको जोखिम घटाउन सकिन्छ । सुक्खा तथा हुरीबतासको समय, खास गरी फागुनदेखि वैशाखसम्मको समय आगलागी हुने मुख्य समय हो । आगो लागेर निभाउनुभन्दा आगो लाग्नै नदिनु उत्तम उपाय हो ।
सतर्कताका साथ आगोको प्रयोग गर्ने र काम सकिएपछि निभाउने, हुरी बतास चलेको समय आगो नबाल्ने, चुरोट बिँडीका ठुटा जथाभावी नफाल्ने र निभाएर मात्रै फ्याँक्ने, सलाई, लाइटर, मटितेल, पेट्रोल, ग्यास जस्ता आगो लाग्ने वा प्रज्वलनशील पदार्थलाई केटाकेटीले नभेट्ने गरी सुरक्षित ठाउँमा राख्ने, आगो वा टुकी बाल्दा घरको छानो वा प्रज्वलनशील पदार्थको नजिक नबाल्ने, घरको विद्युत् वायरिङ ठिक छ÷छैन प्राविधिकलाई जचाँइरहने, घर वरपरको घु¥यान सफा गर्ने, जंगलमा जथाभावी आगो नलगाउने गर्नाले आगलागीबाट धेरैहदसम्म बच्न सकिन्छ । यसरी जथाभावी आगो लागिरहँदा नियन्त्रणको प्रयास सामान्य तरिकाले मात्र गर्ने गरिएको छ । जंगलमा आगलागी हुँदा माथिबाट आगो नियन्त्रण गर्ने साधनहरुको अभाव देखिन्छ । त्यस्तै कतिपय स्थानमा आगो नियन्त्रण उपकरण वारुणयन्त्र नै नहुने र कतिपय स्थानमा भएका वारुणयन्त्रहरु जान नसक्ने कारणले पनि धेरै क्षति हुने गरेको छ । तसर्थ आगलागीबाट सचेत र सावधानीसँगै बस्ति विकासमा पनि सरकारले ध्यान दिन जरुरी देखिन्छ । आगलागी नियन्त्रणका स्थल र हवाई साधनहरुको जोहो गर्न पनि उत्तिकै जरुरी छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो