बाबुराम क्षेत्री
दमक । पुसको तुषारो र चिसोसँगै गत बिहीबार अर्थात १७ पुस २०८२ का दिन ६६ औँ जन्मदिन मनाएका वरिष्ठ संगीतकार बुलु मुकारुङ नेपाली संगीतका त्यस्ता व्यक्तित्व हुन्, जसले जीवनभर संगीतलाई केवल मनोरञ्जन होइन, संस्कृतिको दस्तावेजका रूपमा पनि जोगाउने प्रयास गरे ।
इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्यो घर हाम्रो, कसकी हौ छोरी, पातली मोरी लैजाने आँट हाम्रो–
यो गीतले नेपाली लोकधुन र पहाडी भावनाको सुगन्ध फैलाएको छ । गंगाराज मुकारुङको शब्द, बुलुको संगीत, र बुलु–कुन्ती मोक्तानको स्वरमा सन् १९८२ (२०३९ साल) मा सार्वजनिक यो गीतले बुलुलाई पहिलोपटक गायकका रूपमा चिनायो । त्यतिबेला उनी जम्मा २३ वर्षका थिए ।
तर, समयसँगै बुलु केवल गायक होइन, संगीतकार, अनुसन्धानकर्ता र संस्कृतिकर्मीका रूपमा स्थापित भए ।
रेडियो नेपालदेखि नेपाली संगीतको अभिलेखसम्म
बुलुले आफ्नो जीवनका ३८ वर्ष रेडियो नेपालमा बिताए। त्यही रेडियोले उनलाई संगीतमा व्यावसायिक रचनात्मकता र अनुसन्धानको बाटो देखायो।
०३६ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले सञ्चालन गरेको एकवर्षे संगीत तालिममा चयन भई उनले अम्बर गुरुङजस्ता गुरुबाट संगीत सीखे। त्यो तालिम र रेडियो नेपाल प्रवेश नै उनको संगीत–जीवनको मोड बन्न पुग्यो।
सुरुवातमा गाउँघरका भाका गाउने बुलुले रेडियो नेपालमा स्वर परीक्षा दिएर पास गरे।
पहिलो गीत थियो–
रामसाइँलो सुरुगुरु लाँकुरीको लंकै पुग्यो जरा,
रामसाइँलो आमा छैन बाउ छैन कसले भन्छ बरा ।
यही गीतले उनलाई राष्ट्रिय मञ्चमा पु¥यायो।
बुलुको संगीतमा भक्तराज आचार्य, तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, कुन्ती मोक्तानदेखि लिएर उदय(मनिला सोताङ, रामकृष्ण ढकाल, राजेशपायल राईसम्मका स्वरहरू घुलमिल छन्।
उनका चर्चित संगीतकृतिहरूमा–
- माया तिमीलाई केही भन्न मन लाग्छ – भक्तराज आचार्य, कुन्ती मोक्तान),
- मिर्मिरेमा तिमीलाई हेर्न मन लाग्छ (सुकमित गुरुङ),
- जुनीभरिलाई पीर सँगालेर अब टाढा हुँदैछु (सुरेन्द्र मुखिया)
जस्ता गीतहरू नेपाली संगीतप्रेमी पुस्ताको आत्मासँग गाँसिएका छन्
- अभिलेखको संगीत
बुलु मुकारुङको जीवन केवल रचना र गायनमा सीमित भएन। उनले १६ वर्षको मेहनतपछि लेखेका छन्( “नेपाली संगीतको अभिलेख”।
सन् २०१४ (२०७१ साल) मा प्रकाशित यो ग्रन्थमा ६ हजारभन्दा बढी स्रष्टा र संगीतकर्मीका विवरण छन्।
डा. जगमान गुरुङले पुस्तकको भूमिकामा लेखेका छन –“नेपाली संगीतको अभिलेख लेखिएको थिएन। बुलुको यो कृति संगीत इतिहासको पहिलो व्यवस्थित दस्तावेज बनेको छ।”
यो ग्रन्थले नेपाली संगीतको नसो मात्र टिपेन, समग्र संगीत संस्कृतिलाई अभिलेखका माध्यमबाट जोगाउने ऐतिहासिक प्रयास पनि ग¥यो।
- भोजपुरदेखि काठमाडौंको यात्रा
बुलुको बाल्य जीवन भोजपुरको अन्नपूर्ण गाउँपञ्चायत, बुलुम्पामा बित्यो। त्यही गाउँको नामबाट उनले आफ्नो परिचय “बुलुहाङ” पाए।
बाजेले १८ वटी श्रीमती ल्याएका परिवारमा उनका बुबा सहरमान जेठा छोरा थिए।
२०२० सालमा बुवाको मृत्यु भएपछि सानो उमेरमै बुलु जिम्मेवारी र संघर्षसँग परिचित भए ।
०३५ सालमा आमाले कुखुरा–बाख्रा बेचेर दिएको दुई सय ४५ रुपैयाँ र ६ माना चामल बोकेर उनले काठमाडौंको यात्रा सुरु गरे ।
त्यो यात्रा उनको जीवनको निर्णायक मोड बन्यो – जहाँदेखि नेपाली संगीतमा “बुलु” जन्मिए।
- संगीतको आत्मा
बुलुका लागि संगीत केवल धुन होइन, संवेदना र संस्कृति हो।
सानैमा बाँसुरी बनाएर बजाउने, गाउँमा नाचगानमार्फत स्कुलको जग हाल्ने बालक पछि गएर संगीत अभिलेखको जग हाल्ने व्यक्ति बने।
अहिलेसम्म उनले करिब दुई दर्जन गीतमा स्वर, र ६ सयभन्दा बढी गीतमा संगीत भरेका छन् ।
उनको सम्पादन र लेखनमा डेढ दर्जन पुस्तक प्रकाशित छन् ।
हाल बुलु “संगीत पुस्तकालय तथा अभिलेखालय” स्थापनामा लागिरहेका छन् ( ताकि नयाँ पुस्ताले नेपाली संगीतको जरा र इतिहासलाई बुझ्न सकोस् ।
- सम्मान र योगदान
बुलु मुकारुङले आफ्नो पाँच दशक लामो संगीत(यात्रामा थुप्रै सम्मान प्राप्त गरेका छन्–
- नातिकाजी संगीत पुरस्कार
- छिन्नलता पुरस्कार
- नारायणगोपाल पुरस्कार
- बबरसिंह थापा स्मृति पुरस्कार
- रानूदेवी पुरस्कार
- रेडियो नेपालको आधुनिक संगीत पुरस्कार (२०४१, २०४७, २०५०)
यी पुरस्कारहरू केवल उनको प्रतिभाको मान्यता होइनन्, एक जीवनभरको साधनाको साक्षी हुन्।
अन्ततः
आज ६६ वर्षका बुलु मुकारुङ अझै पनि संगीतकै लयमा बाँचिरहेका छन्।
रेडियोको स्टुडियोदेखि पुस्तकको पाना र गाउँको लोकलयसम्म उनको संगीत घन्किरहेकै छ । उनी भन्छन–
“संगीत मेरो धर्म हो, अभिलेख मेरो संस्कार ।”
साँचै, बुलुको जीवन नेपाली संगीतको लय र शब्दको अमर कथा हो–। एक यस्तो यात्रा, जसले नेपाली संगीतलाई स्वर मात्र होइन, इतिहास पनि दियो।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो