:– कविता श्रेष्ठ –:
महाशिवरात्रि हिन्दू धर्मावलम्बीका लागि मात्र धार्मिक पर्व होइन, यो आत्मचिन्तन, साधना र शिवतत्वसँग आत्मीय सम्बन्ध जोड्ने दिव्य अवसर हो। हिन्दू पात्रोअनुसार फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई भगवान शिवको महापर्वका रूपमा पूजिन्छ । श्रद्धालु यस दिन उपवास बसेर, भजन–कीर्तनमा लीन भएर र शिवलिङ्गमा जल, दूध, धतुरो तथा बेलपत्र अर्पण गरेर शिवको आराधना गर्छन्।
महाशिवरात्रि विशेषगरी महिलाहरूका लागि पनि अत्यन्त महत्वपूर्ण छ। अविवाहित युवतीले भगवान शिवजस्तै धर्मपरायण र आदर्श जीवनसाथीको कामना गर्छन् भने विवाहित महिलाले परिवारको दीर्घायु, स्वास्थ्य र सुख–शान्तिको प्रार्थना गर्छन्।
पौराणिक विश्वासअनुसार सृष्टिको प्रारम्भमै भगवान शिव निराकार ब्रह्मबाट रुद्ररूपमा प्रकट भएका थिए। प्रलयको समयमा शिवले ताण्डव नृत्य गर्दै ब्रह्माण्डलाई संहार गरेको कथा शिवपुराणमा पाइन्छ। यही कारण यो रात्रि ‘कालरात्रि’ र ‘महाशिवरात्रि’ दुबै भनिन्छ। यसै दिन शिवले हिमवानकी पुत्री पार्वतीलाई अर्धाङ्गिनीका रूपमा स्वीकार गरेका थिए। बाह्यरूपमा भयङ्कर देखिए पनि शिवको हृदय करुणा, वैराग्य र सत्यले भरिएको थियो—त्यसैले उनलाई देवताका देव “महादेव” भनिन्छ ।
समुद्र मन्थनको कथा पनि महाशिवरात्रिसँग सम्बन्धित छ। अमृत प्राप्तिका क्रममा निस्किएको कालकूट विषलाई भगवान शिवले पान गरेर संसारलाई विनाशबाट बचाए। विषको प्रभावले उनको कण्ठ नीलो भयो, र उनी “नीलकण्ठ” नामले प्रसिद्ध भए। यही त्याग र बलिदानले शिवलाई करुणा र संरक्षणका प्रतीक बनायो।
शिवपुराणको ईशान संहिताअनुसार फागुन कृष्ण चतुर्दशीको रात करोडौं सूर्य समान तेजस्वी शिवलिङ्ग प्रकट भएको मानिन्छ। यही कारण श्रद्धालु मध्यरात्रिसम्म जाग्राम बसेर ध्यान र जपमा लीन हुन्छन्। यस समयमा ईश्वर र मानवबीचको दूरी न्यूनतम हुने विश्वास छ, जसले आध्यात्मिक उन्नति र आत्मशुद्धिको अनुभव दिलाउँछ ।
शिवपूजामा महामृत्युंजय मन्त्रको विशेष महत्त्व छ—
“ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात।।”
यस मन्त्रले जीवन, स्वास्थ्य र मोक्षको प्रतीकका रूपमा शिवसाधनाको आत्मा जनाउँछ ।
महाशिवरात्रिसँग जोडिएको चित्रभानु नामक शिकारीको कथा विशेष अर्थपूर्ण छ। चित्रभानुले अनजानमै महाशिवरात्रिको ब्रत पालन गरे—बेलपत्र झार्दै र रातभर जाग्राम बसेर उनले शिवलिङ्गको पूजा गरे। त्यसको फलस्वरूप उनको हिंस्रक स्वभाव बदलियो र उनले मोक्ष प्राप्त गरे। यो कथा दया, सत्य र आत्मशुद्धिको प्रतीक हो, जसले देखाउँछ—सच्चा कर्म र श्रद्धा बिना जानकारीकै पनि ईश्वरप्राप्ति सम्भव छ ।
महाशिवरात्रिले केवल पूजा–अर्चनाको सन्देश दिंदैन, यो आत्मसंयम, करुणा र सत्यप्रति समर्पणको शिक्षासमेत दिन्छ। साधु, योगी र तपस्वीहरूका लागि यो साधनाको चरम क्षण हो भने गृहस्थ जीवनमा रहेका मानिसका लागि आत्मसमीक्षा र नैतिक जीवनप्रति प्रतिबद्धता जगाउने अवसर हो ।
आज पनि महाशिवरात्रि संस्कार, करुणा र आध्यात्मिकताको जीवन्त प्रतीक बनेर उभिएको छ। यसले भौतिक मोह, क्रोध र लोभ त्यागी आत्मिक चेतनाको उच्चतम स्तरमा पुग्ने प्रेरणा दिन्छ। भगवान शिवका उपदेश—त्याग, धर्म, सत्य र सेवा—अनुसार जीवन यापन गर्न प्रेरित गर्दै यो पर्वले समाजमा नैतिकता, सद्भाव र आध्यात्मिक उन्नतिलाई स्थायी रूप दिन सफल भएको छ ।
यसरी महाशिवरात्रि केवल एउटा धार्मिक अनुष्ठान होइन, यो मानव चेतनाको जागरण, आत्मशुद्धि र परम सत्यसँगको मिलनको प्रतीक हो। यही कारण यो पर्व सधैं श्रद्धा, भक्ति र आत्मज्ञानका उज्यालोका रूपमा उजिलिएको रहन्छ । खबरहब सम्पादित ।
zmFCeYoWC!
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो