—: देवीप्रसाद घिमिरे :—
हर्कबहादुर माटोको सुगन्धमा रमाउँछ तर भ्रष्टाचार गर्दैन । ऊ श्रमलाई अथाहा शक्ति ठान्छ, श्रमलाई पूजा गर्छ । सत्कर्म र सदाचारको बगैँचामा सद्भावको बगैँचा निर्माण गर्न अहोरात्र खोलामा, खोल्सामा, सडकमा, श्रममा देखिन्छ हर्कबहादुर । स्वच्छ मनोरञ्जनका लागि आफ्नै गिटारमा रम्छ हर्क बहादुर । ऊ प्रकृति पूजक हो । ढुङ्गा माटो, प्रकृति बनस्पती, हावा पानीको पूजा गर्दै, त्यसैमा रमाउँदै श्रम संस्कृतिको विजारोपण गर्छ । उसको इमान्दारीता, उसको निस्वार्थपन, उसको इमान्दार मनलाई चिन्नेहरू ऊ सँगै श्रम गर्न हौसिन्छन् । उसलाई उडाउनेहरू, उसलाई खिसीट्युरी गर्नेहरू उसलाई उपहासको पात्र बनाउँछन् । अनि उसैको शैलीमा गुँइठेऽऽऽऽ भन्दै अभिनय गरेर उसलाई फेसबुक भरि रंगाउँछन् । उसलाई हर्ष न विष्मात, ऊ आफ्नै कर्मलाई पवित्र धर्म मान्छ ।
शर्म नमानी हनुमान कट्टु र भुक्के चप्पल लगाए नागरिकको दुःखेको घाउमा मल्हम लगाउन घरदैलो चाहार्छ । कतै कतै उसका विरोधीहरूले भोटेकुकुर लगाएर लखेट्ता पनि ऊ विचलित हुँदैन, बरू उल्टै एउटा स्व–स्फूर्त गीत सुनाएर कुकुर भगाउँछ । “माटो पानी छ जहाँ खुशियाली छ त्यहाँ” भन्दै माटोसँग मितेरी लगाउँछ । हर्कबहादुर हरियाली सँगै खुशियाली बाँड्ने सपना बोकेर निरन्तर श्रम गर्ने श्रमको निस्वार्थ पुजारी हो । हर्कबहादुर श्रमिकको ज्ञान हो, देशको स्वाभिमान हो । हर्कबहादुर नागरिक उत्साह हो, चेतना हो, प्रेरणा हो । ईमान्दार सदाचारी देशभक्त हो हर्कबहादुर । हो ! हर्कबहादुर अलिकति जिद्धि स्वभावको छ । ऊ राजनीति गर्छ तर राजनीति जान्दैन । राजनीति भित्र डर लाग्दो कुटनीति लुकेको हुन्छ भन्ने उसले पटक्कै बुझ्दैन । त्यसैले ऊ कहिलेकाँही हौसिन जान्दैन र हिस्स पर्छ । त्यही हिस्सिएको बेला प्यातर प्यातर बोल्छ । आफ्नो बोली लुकाउन जान्दैन, कसैलाई छक्याउन, झुक्याउन जान्दैन, त्यसैले हर्कबहादुर हर्षविभोर बन्दा बन्दै हिस्स पर्छ । हर्क बहादुर माटोलाई सम्मान गर्छ । माटैमा रमाउँछ । माटोसँग खेल्छ । माटोको पूजारी किसानलाई देवता ठान्छ ।
देशमा अकल्पनिय आँधी आउँछ । भ्रष्टाचारको अन्त्य गर्दै सदाचारको विजारोपण गर्ने पवित्र उद्देश्य लिएर १९९६ देखि २०१२ सम्मको जेन्जी पुस्ता जो १३ वर्ष देखि २८ वर्ष उमेर समूहका कलकलाउँदा स्कूले विद्यार्थीहरूको समूहलाई २०८२ भाद्र २३ गते दिनको ठिक ११ बजे माइतीघर मण्डलामा बोलाइन्छ । “तिम्रा बाऊ गाडीमा, हाम्रा बाऊ खाडीमा । नेप्पोबेवी होसियार । भ्रष्टाचारको अन्त्य गर, सदाचार स्थापना गर” भन्दै स्कुले विद्यार्थी वानेश्वरतर्फ दौडन्छन् । विचराहरूलाई यो दिन अकल्पनीय दुःखद् इतिहास बन्छ भन्ने थाहै हुँदैन । मौकामा चौका हान्न समय कुरेर बसेका स्वदेशी तथा विदेशी स्वार्थ समूहले घुसपैठ गरेर, विद्यार्थी पोशाक आफैं लगाएर, भीडभित्र पसेर अन्धाधुन्द गोली चलाएर १९ जना निर्दोष विद्यार्थीहरूको ज्यान लिन्छ । संसदभवनमा आगो लगाई दिन्छन् । सबै दोष जति जेनजी युवामाथि थोपरी दिन्छन् । यो अकल्पनीय दुःखद घटना पछि भोलिपल्ट २४ गते ११ वजेदेखि बेलुका ७ बजे सम्ममा नेपालको इतिहास नामेट हुनेगरी भौतिक सम्पत्तीमाथि आगो लगाइन्छ ।
सिंहदरवार सर्वोच्च अदालत, जिल्ला अदालत, जिल्ला प्रसासन कार्यालय नगरपालिका भवन, प्रहरी चौकी नेताका घरहरू छानीछानी आगो लगाएर ध्वस्त पारिन्छ । प्रधानमन्त्री ओली, देउवा लगायतको घर खरानी बनाएर उनीहरूलाई घर न घाटको बनाइन्छ । देउवा र आरजुलाई अपमानित ढंगले कुटपिट गरिन्छ । प्रहरीलाई (३ जना) कुटी कुटी मारिन्छ । देश भरिका १५ हजार कैदीवन्दी कारागार फोरेर निकालिन्छ । मिनबहादुर गुरूङका १५ वटा भाटभटेनी जलाएर खरानी बनाइन्छ । भाटभटेनी जलाउन गएका ७ जना जती त्यहिँ जलेर खरानी बन्छन् । देश भरि ७६ जनाको कारुणिक मृत्यु हुन्छ । यो सबै खरानी बनाएको जेन्जीपुस्ताले हो भन्ने भाष्य यत्रतत्र सर्वत्र फैलाइन्छ । देशमा तीन तहका सुरक्षा निकाय आत्मसमर्पण गर्न बाध्य हुन्छन् । नेपाली सेना मुक–दर्शक बन्दछ । देशको ऐतिहासिक दस्तावेज, सन्धि–सम्झौता, अभिलेख, इतिहास सबै केवल ७ घण्टामा जलेर खरानी बन्दछ । यसै विषम् परिस्थितिमा सत्ता कब्जा कस्ले गर्ने भन्ने दौडधुप चल्छ । फेरि सत्ताको फोहोरी खेलमा जेन्जी भित्र गुट, उपगुट र फुट देखा पर्न थाल्छ ।
निस्वार्थ निस्कपट देशलाई माया गर्ने सच्चा देशभक्तले सत्ताको नेतृत्व लिनु पर्ने हल्ला चल्दछ । त्यहि हल्लै–हल्लाका भरमा हर्कबहादुर आफूलाई योग्य ठान्छ । एक जोर खाँडीका दौरा सुरूवाल बोकेर, कफ्र्यु तोड्दै, दर्केपानीमा छाता ओढ्दै, देश बनाउने सपना बोकेर दौडन्छ राजधानीको धमिलो पानीमा माछा पो मर्छ कि भनेर । उसलाई के थाहा ? राजधानी जलिरहँदा सेता विष्कुटमा रमाएर कुम्भकर्ण निन्द्रामा मस्तराम निदाएका आफ्नै साथीबाट तिरस्कृत हुनुपर्छ भनेर । हर्कबहादुरको हर्ष, प्रतिवद्वता, जिम्वेवारी, इमान्दारी क्षणभरमै सिंहदरवार जस्तै खरानी भयो । उसलाई उल्टै उडाउन थाले गुँइठेऽऽऽ यस्तो ... ले कुर्सी पाईंदैन भन्दै । हर्कबहादुरको हर्ष क्षणभर मै चकानाचुर भयो । उनका भागमा पर्न लागेको अपुताली फेरि स्वाट्टै एउटी बुढीआमैको भागमा पर्यो । २८ वर्षे युवा जेन्जी समूहको नेतृत्व ७३ वर्षीया आमाले समाल्नु पर्ने भयो । हर्कबहादुरका सपना सपनामै बिलाए । विचरा हर्कबहादुर एकघण्टामा चालिसवटा स्टाटस लेख्दै आफूलाई जेनजी पुस्ताको अगुवा सावित गर्न तम्सियो, तर सकेन । समस्या झन्झन् जटील बन्दै गयो । उसलाई बालहठीको संज्ञा दिँदै कुटनीति नबुझेको सोझो प्राणीमा परिणत गरिदिए ।
देश विदेशको कुटनैतिक चालवाजी नबुझेको हर्कबहादुर विचरा कुर्सीदौडमा बुर्कुसी मार्दै लाखौ सपना झोलामा बोकेर दौडियो । अन्त्यमा मच्चियो मच्चियो थच्चियो भने झैं भयो । हिस्स बुढी हरिया दाँत भने झैं भयो । शासनको बागडोर समालेर भ्रष्टाचारको अन्त्य गर्न कुदेको बाघ भोकै, तिर्खै घर फर्कियो । सत्ता त स्यालको हुँइयाँ मात्र पो हो कि ? भन्दै शङ्का उपशङ्का गर्न थाल्यो हर्कबहादुर । मलाई आश देखाएर बोलाएपछि यसरी धोका दिन पाइन्छ ? भन्दै जिद्धी पनि गरिरह्यो । तर विचरा हाँसोको पात्रमात्र बन्यो ।
बेथितिको विरोध गर्दै थिति बसाउन अहोरात्र लागेको हर्कबहादुर परिणाममुखी श्रम संस्कृतिको प्रणेता हो । सर्दु खोलाका ढुङ्गा माटोले चिनेको, खालीखुट्टै हिँडेको, श्रम नै पूजा हो, निःस्वार्थ सेवाधर्म हो, सत्कर्म कर्तव्य हो भन्दै हिँडेको हर्कबहादुर यसपाली नराम्रोसँग हस्सियो । कलम समाउने कलिला हातहरूले बन्दुके खरानी रोज्दैन । राष्ट्र गौरवका भौतिक सम्पत्तीहरू इतिहास लेख्ने कलम समाउने कलिला हातहरूले यसरी खरानीमा परिणत गर्न सक्लान् ? भन्ने परिकल्पनानै गर्न सकिँदैन भन्दै हर्कबहादुर आफ्नै माटोमा श्रम रोप्न फर्कियो ।
पर्ख ! हर्क बहादुर ! हरेश पटक्कै नखाऊ । निराश नहोउ । तिमीले इमान्दारीताको अश्त्रले भ्रष्टाचारको पर्खाल ढल्छ भन्ने ठान्यौ । तिमीले विदेशी प्रभुको आर्शीवाद लिन जानेनौ, स्वाभिमान बेच्न मानेनौ । कुटनीति, राजनीति, छलनीति, कपटनीति विना पासा पल्टिँदैन भन्ने बुझेनौ । सत्ताका लागि शक्तिका लागि जे सुकै गर्न सक्नु पर्छ भन्ने पटक्कै बुझेनौ । त्यसैले तिम्रो कुर्सी मोह अधुरै रहयो । पहिले आफ्नै सहरको जग बलियो बनाऊ । रहर त सबैको हुन्छ तर रहर पूरा गर्न लाखौ कहर काट्नु पर्छ भन्ने पनि बुझ्नु पर्छ । हतार गरेर सत्ताको सवरीमा डुबेर सबैको रसवरी बनेर स्वाभिमान बेच्नु हुन्न भन्ने हर्कबहादुरले राम्ररी बुझेको छ, नबुझेको भए अब त छर्लङ्गै बुझ्यौ होला । “आकाशको आगो पातालको केतु एकपटक नपरी कसरी चेतु” भने झै भए न त ? रहर पुरा गर्न समय, श्रम, साधना र धैर्यता चाहिन्छ । हतारमा पूरा भएको रहरले फुर्सदमा डर त्रास पनि उत्पन्न गर्न सक्छ । होसियार ! हर्कबहादुर, हतार नगर, समयले तिमीलाई पर्खिरहेको छ ।
हर्कबहादुर दूध र सेता विष्कुट पटक्कै खाँदैन । डिस्कोमा रमाउँन कहिल्यै जाँदैन । देश जलिरहँदा, देशको अस्तित्व खरानी हुँदा, देशको पहिचान हराउन लाग्दा हर्कबहादुर मस्तसँग कुम्भकर्ण निन्द्रा निदाउँदैन । श्रमजीवी किसान धर्तीका ज्यूँदा देवताहरुलाई फोहोरी कहिल्यै भन्दैन । कालो कोठरीमा कालो बस्त्र लगाएर कालो कर्तुत पूरा गर्ने कालो इतिहासको स्कृप्ट कहिल्यै लेख्दैन । हर्कबहादुर श्रम संस्कृति स्थापना गर्न चाहन्छ । माटोसँग पटक्कै घिन मान्दैन । त्यसैले ऊ माटोको माया गर्ने सच्चा देशभक्त हो । माटो दुःख्दा उसको मुटु दुःछ । हर्कबहादुरलाई देश दनदनी जलेपछि मन भत्भति पोलेको छ । सिंहदरबारको खरानीले उसलाई जुरूक्क उठ्न प्रोत्साहन गर्दछ । अब देशको रक्षा हर्कबहादुरहरूले मात्र गर्न सक्छन् भन्ने थाहा पाएर नै उसको हर्केहठ बढेको हो । ऊ नेपाली मन, नेपाली पन, नेपाली पहिचान जगाएर फेरि एकपटक देश जुरूक्क उठाउन चाहन्छ, हराउनै लागेको पहिचान जोगाउन चाहन्छ ।
विपतको समयमा देश जोगाउनु हरेक नागरिकको कर्तव्य हो भन्ने राम्ररी बुझेको हर्कबहादुर कठोरतासँग लड्न तयार छ । यहाँ दुलो भित्र लुकेका राष्ट्रियता जोगाउन ध्यान गरिरहेका डरपोकहरूसँग होसियार हुनुपर्छ । विपतमा परेको समयमा अगाडि बढ्न नसक्नु कायरता हो । काँतर भएर बाँच्नु निरिहता हो भन्ने राम्ररी बुझेको छ हर्कबहादुरले ।
अब सबै हर्कबहादुरहरू सचेत भएर उठौँ । तिमीहरू उठ्यौ भने खरानी भित्रको झिल्काले उज्यालो भविष्य बोकेर आउँछ । अब नवसिर्जनामा लाग्नु पर्छ । देश लुट्नेहरूलाई उठ्ने अवसर दिनुहुँदैन । निर्दोषहरूलाई न्याय दिनुपर्छ । हजारौँ वर्षको इतिहास पुनर्लेखन गर्नुपर्छ । भ्रष्टाचार निर्मुल पारेर सदाचारको सिर्जना गर्ने जेनजी युवापुस्ताको सपनामाथि दुष्मनलाई खेल्न दिनु हुँदैन । “समृद्ध नेपाल, सदाचारी नेपाली संस्कार”को सपना साकार पार्न हर्कबहादुरहरू निराश होइन उत्साही बनेर उठ । यो देशलाई तिम्रो खाँचो छ । अब हर्कबहादुरहरू स्वार्थको दाउपेचमा चेपिएर, हेपिएर बस्नु हुँदैन । नवक्रान्ति, नवसिर्जना, नौलो चेतना बोकेर श्रम संस्कृतिलाई स्थापित गर्दै, माटोमा मोती उमार्दै उठ । तिमी उठे देश जुरूक्क उठ्नेछ ।
झापा, हाल– काठमाडौं
FzJEQJmiKtTjISJ
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो