मुन्धुमविद् डा. चन्द्रकुमार शेर्माको निजी संग्राहलय : संरक्षणको प्रतीक्षा

खगेन्द्र कार्की

दमक । झापा–दमकको रोतपुल र फाल्गुनन्द चोक बीचको एक साधारण घरको माथिल्लो तलामा हजारौँ पुस्तक र सयौँ पुराना सामग्रीको थुप्रो देखिन्छ। त्यो न त कुनै पुस्तक पसल हो, न त सरकारी संग्राहलय। यो त नेपालका प्रख्यात मुन्धुमविद् डा. चन्द्रकुमार शेर्माको निजी प्रयासमा जोगाइराखिएको जीवित इतिहासको कोठा हो।

डा= शेर्माले दशौँ वर्षदेखि किराँत सभ्यता, संस्कृति र धार्मिक दर्शनसँग सम्बन्धित ग्रन्थ, अभिलेख र वस्तुहरू संकलन गर्दै आएका छन्। उनका अनुसार यो संग्रहमा हजारौँ पुस्तक र दस्तावेज छन्, जसमा कतिपय दुर्लभ र अन्यत्र नपाइने सामग्री पनि समावेश छन्। उनी भन्छन्, “संख्या गनेको छैन, तर कतिपय पुस्तकहरू यस्तो छन्, जुन अब नेपालमा कतै भेटिँदैन।”

८० वर्ष उमेरमा प्रवेश गर्न लागेका शेर्मा अहिले आफ्नो जीवनभरको संग्रह कसरी दीगो रूपमा सुरक्षित गर्ने भन्ने चिन्तामा छन्। “मैले त जोगाएको मात्रै हो, तर अब यो सम्पत्ति समाजकै हो। सरकार वा समुदायले पुस्तकालय वा संग्राहलय बनाएर संरक्षण गर्न सके राम्रो हुन्थ्यो,” उनले भने।

२००७ साल पुष ३ गते पाँचथरको ओलनेमा जन्मेका शेर्मा किराँत मुन्धुम, दर्शन र आदिवासी आध्यात्मिक परम्पराका गहिरा अध्येता हुन्। उनले किशोरावस्थामै प्रशासनिक जिम्मेवारी सम्हालेका थिए र पछि पञ्चायती शासनकालमा तीनपटक प्रधानपञ्च र एकपटक अञ्चल सभापति समेत बने।

तर २०३० सालपछि किरात धर्मगुरु आत्मनन्द लिङ्देनसँगको नजिकतापछि उनले राजनीतिको बाटो छोडेर धर्म, संस्कृति र अध्ययनको यात्रामा लागे। ६२ वर्षको उमेरमा भारतको कलकत्तास्थित विश्वज्योती विद्यापीठबाट ज्योतिषशास्त्रमा विद्यावारिधी गरेका उनी अहिले पनि लेखन र अध्ययनमा सक्रिय छन्।

उनको निजी संग्रहमा दोश्रो विश्वयुद्धका समयमा उनका पिताले प्रयोग गरेको फोनबाजा, नेपाली ग्रामिण जीवनका पुराना उपकरण, विभिन्न देशका व्यक्तिबाट प्राप्त सम्मानपत्र र चिनोहरू, साथै १० हजारभन्दा बढी पुस्तक र ग्रन्थहरू समावेश छन्।

डा. शेर्माले आफूले जीवनभर सङ्कलन गरेको सम्पत्ति समुदायको नाममा हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेका छन्। उनका शब्दमा, “यो मेरो होइन, हाम्रो सभ्यताको सम्पत्ति हो। समाजले यसलाई उपयोग र संरक्षण गर्न सके भने म सन्तुष्ट हुनेछु।”

खगेन्द्र कार्की
प्रतिक्रिया