स्थानीय मौलिकता, व्यवहारिक र शीपमूलक शिक्षा आजको आवश्यकता

फाष्ट मिडिया नेपाल संवाददाता

‘देश बदल्न शिक्षा बदल्नु पर्छ, शिक्षा बदल्न सोच, चिन्तन, भिजन, नीति र नियम बदल्नुपर्छ ।’ तबमात्र समाज सुन्दर, शान्त र विशाल बन्छ । समाजमा घट्ने हरेक प्रकारका अपराधिक घटनाहरु निरुतसाहित हुन्छन । त्यो बदलिएको शिक्षाले रोजगारी सृजना गर्नुपर्छ र आम मानिसलाई रोजगारीमा लीन हुने अवसर प्राप्त गरेको खण्डमा उनीहरुका फुर्सदीला समय बेफुर्सदमा परिणत भईदिँदा समाज सहि ट्रयाकमा दौडन्छ, त्यतिबेला सबैले आ–आफ्नो जिम्मेवारीको कामको बोध पनि हुन्छ । 

यतिखेर शिक्षा मौलिकता बोकेको हुनुपर्छ । स्थानीय स्तरमा जहाँ शिक्षा लिइन्छ त्यहाँको हावापानी, वस्तुस्थिति र परिवेश सुहाउँदो हुन आवश्यक देखिएका बहस पनि चलिरहेका छन् । यसैको सेरोफेरोमा रहेर हरेक पालिकाको शिक्षा शाखाले सोही अनुसारको पाठ्यक्रम बनाउँदै पठनपाठनमा प्रयोग गर्न थालिसकेका छन् । 

‘१८ औं शताब्दीको पाठ्यक्रमले २१ औं शताब्दीको चेतनाको नेतृत्व गर्न सक्दैन’ भन्ने आवाजलाई अब शिक्षा क्षेत्रले समेट्न सक्नुपर्दछ । अनुत्पादक, अव्यवहारिक, केवल सैद्धान्तिक शिक्षा अव नचाइने भन्दै बैज्ञानिक, उत्पादनमूलक, खोजमूलक, सिर्जनशील, आत्मनिर्भर, सीपमूलक शिक्षा प्रणालीको आवश्यक रहेको औंल्याउने गरेका छन् । ‘हालको नेपालको शिक्षा प्रणाली विदेशीको प्रयोगशाला बनेको आरोप पनि लाग्ने गरेको छ । नेपालको मौलिकताका आधारमा प्रबिधि, जल, कृषि र पर्यटनमैत्री शिक्षा प्रणाली हुन आवश्यक छ ।’

शिक्षा समयसापेक्ष हुनुपर्दछ । अहिलेको शिक्षाबाट बेरोजगारीपन किन बढायो र वैदेशिक रोजगारीमा आकर्षित किन गरायो भन्ने गहन अध्ययन, अनुसन्धानसहित नीति निर्माणको पर्खाइमा छ । शिक्षाको नाममा हुने व्यापारिकरण, राजनीतिकरण बन्द गरेर विशुद्ध शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने टड्कालो आवश्यकता छ । एसईई वा कक्षा १२ सक्ने वित्तिकै नेपाली विद्यार्थीहरु शिक्षाकै लागि पनि विदेशिने गरेका छन् । नेपालको ठूलो धनराशी शिक्षाका नाममा बाहिरिएको छ । त्यसरी बाहिरिएका विद्यार्थी, तिनले पढेका विषयवस्तु, तिनको ज्ञान, सीप र क्षमता अनि लगानीलाई सरकारले तथ्याङ्क राख्न पनि सकेको देखिँदैन । कति विद्यार्थी बाहिरिए, कति रकम बाहिरियो र ति बाहरिएका विद्यार्थीको उपलब्धी के हुँदैछ भन्ने हेक्का सरकारले राख्न जरुरी छ । ति विद्यार्थीलाई ल्याएर बहस, छलफल गराएर सबैको सहभागितामा देशको शैक्षिक नीति बन्न आवश्यक देखिन्छ ।

विद्यालय तहदेखि विश्वविद्यालय सम्मको अध्ययनले शिक्षित वर्गमा कुनै पनि व्यवसाय रोज्ने, खोज्ने, टिकाउने  र आय आर्जनको सिर्जना गर्न सक्ने क्षमताको विकास गर्नु जरुरी छ । शिक्षित प्रमाणपत्रधारी युवाशक्ति आफ्ना सर्टिफिकेटहरु घरमा थन्क्याएर कामको खोजीको लागि अन्तराष्टिूय बजारमा जान वाध्य भएका छन् । गाउँघरका खेतबारीहरु बाँझिएका छन् । बाँझिदै छन् । यस सन्दर्भमा शिक्षालाई कृषि, पशुपालन, प्राकृतिक स्रोत साधन, खानी खजनाहरुको अनुसन्धान, उत्खनन्, प्रयोग र व्यवसायीकरण गर्न सक्ने प्रयोगात्मक ज्ञान र सीपमैत्री गुणस्तरीय शिक्षा समयको माग हो । यसो भएमा शिक्षाले व्यक्ति, समाज र देशको गरिबीलाई हटाउन सक्छ । शिक्षा प्रविधियुक्त, स्वरोजगार मैत्री र व्यवसायी बन्न सक्दछ । संसार बदल्न सक्ने शिक्षाले हाम्रा शिक्षार्थी, समुदाय र देशलाई बदल्न नसक्नु दुःखको कुरा हो । एकातिर हाम्रो देशको पाठ्यक्रम, पाठ्यपस्तक एव मूल्यांकन प्रकृयामा व्यापक सुधारको खाँचो देखिन्छ भने अर्कोतिर देशको शिक्षण सिकाइ परिपाटी परम्परागत शास्त्रीय शैलीको छ । हाम्रा गुरुजनहरु आधुनिक शिक्षण सीपहरुमा अपडेट हुन नसकेको अवस्था छ । 

गुणस्तरीय शिक्षण सिकाइ शिक्षाको मेरुदण्ड हो । अहिले देशका केही अपवादमा पर्ने बाहेकका सरकारी विद्यालयहरुको पठनपाठन गुणस्तरीय नभएको जनगुनासो छ । राज्यबाट सञ्चालित विद्यालयहरु लथालिङ्ग हुनु र शिक्षकहरुले पनि केवल जागिर पचाउने मात्रै भूमिका निर्वाह गर्नु दुखद पक्ष हो । यो अवस्थामा सरकारी शिक्षालयतर्फ जनविश्वास घट्दै गएको प्रति अब शैक्षिक निकाय, विद्यालय, विद्यार्थी र अभिभावक चनाखो बन्न जरुरी छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया