पाँचथरका सडकमा डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

खगेन्द्र कार्की

पाँचथर । अस्थायी डाइभर्सन वर्षायाम सुरु नहुँदै बाढीले बगाउन थालेपछि पाँचथरका विभिन्न सडकखण्डमा आवतजावत प्रभावित बनेको छ ।
सडक पुल निर्माणाधीन रहेका नदी तथा खोलामा बनाइएका त्यस्ता डाइभर्सन बगाउदाँ यात्रु र सवारी चालकले सास्ती खेपिरहेका छन्।
पूर्वी पहाडलाई तराईसँग छोटो दूरीमा जोड्ने तमोर करिडोरअन्तर्गत आठ वटा खोलामा पुल निर्माण भइरहेको छ । तर निर्माण सम्पन्न नहुँदासम्म सञ्चालनमा ल्याइएका अस्थायी डाइभर्सन बाढीको मारमा परेका छन्। फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित हेँवा खोला तथा पाँचथर–धनकुटा सीमाको नावा खोलामा बाढीले बारम्बार अवरोध सिर्जना गर्दै आएको छ ।
विशेषगरी नावा खोलामा सामान्यभन्दा ठूलो वर्षा हुनासाथ सवारीसाधन आवतजावत ठप्प हुने गरेको छ। दुई पाङ्ग्रे सवारीसाधन झोलुङ्गे पुलबाट वारपार गरिए पनि अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाटै पार गर्नुपर्ने अवस्था छ ।
तुम्बेवा गाउँपालिका–२ का राजकुमार देवानका अनुसार खोलामा एक्कासी पानीको बहाव बढ्ने भएकाले यात्रा जोखिमपूर्ण बनेको छ । उनका अनुसार डाइभर्सन निर्माण गरिए पनि कहिले बाढीले बगाउने हो भन्ने निश्चित हुँदैन् ।
ताप्लेजुङ, तेह्रथुम र पाँचथरका सयौं सवारीसाधन तथा ढुवानीका साधन दैनिक रूपमा तमोर करिडोर हुँदै सञ्चालन भइरहेका छन्। यद्यपि नावा लगायतका खोलामा पुल निर्माणको काम भने अघि बढिरहेको छ ।
तमोर करिडोरअन्तर्गत हेँवा खोलाको माझीटार क्षेत्रमा पनि बाढीले पटकपटक डाइभर्सन बगाउने गरेको छ। स्थानीयका अनुसार हेँवा खोलाको जलाधार क्षेत्र ठूलो भएकाले वर्षायाममा निरन्तर बाढी आउने समस्या छ। यस वर्ष त चैत महिनादेखि नै बाढीले डाइभर्सन क्षति पु¥याउन थालेको छ ।
हिलिहाङ–७ का रामकुमार माझीका अनुसार अघिल्ला वर्षहरूमा असारसम्म डाइभर्सन सञ्चालनमा रहने गरे पनि यस वर्ष चैतदेखि नै यातायात अवरुद्ध हुने क्रम सुरु भएको छ।
हेँवा खोलामा डाइभर्सन सञ्चालनमा नरहँदा ताप्लेजुङ तथा उत्तरी पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाबाट तराईतर्फ जाने सवारीसाधनलाई मेची राजमार्ग हुँदै फिदिम–शिवादोभान भएर लामो दूरी घुम्नुपर्ने बाध्यता छ ।
हिलिहाङ–५ का वीरेन्द्र मंग्रातीका अनुसार तमोर करिडोर सडक आयोजना र निर्माण कम्पनीले डाइभर्सनको नियमित मर्मत तथा दीर्घकालीन संरचना निर्माणमा पर्याप्त चासो नदिँदा समस्या झन् जटिल बनेको छ। उनका अनुसार बाढीले डाइभर्सन बगाएपछि लामो समयसम्म मर्मत नहुँदा छोटो दूरीको सडकको उपयोग हुन सकेको छैन् ।
उता, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा बनाइएको डाइभर्सन पनि बाढीको उच्च जोखिममा छ। तीन वर्षअघि आएको बाढीले सडक पुल बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएको छ। तर बाढीले बारम्बार डाइभर्सन बगाउँदा यात्रुहरू समस्यामा परेका छन्।
गत जेठ ८ गतेको अविरल वर्षापछि आएको बाढीले पनि उक्त डाइभर्सन बगाएको थियो। याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार सडक लामो समय बन्द हुन नदिन पानीको बहाव घट्नेबित्तिकै डाइभर्सन पुनः निर्माण गरिन्छ। तर जति पटक बनाइए पनि बाढीले बगाइरहने समस्या दोहोरिएको छ।
मेवा खोलामा निर्माणाधीन नयाँ पुल पनि यस वर्षको बाढीले क्षति पु¥याएपछि स्थानीयमा चिन्ता बढेको छ। याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार वर्षायाम सुरु नहुँदै बाढीपहिरोको जोखिम बढेको छ भने खोला तर्नसमेत कठिन अवस्था सिर्जना भएको छ।
यसैबीच, बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डाइभर्सन नहुँदा अवरुद्ध बनेका सडक नियमित सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ। समितिले सम्बन्धित स्थानीय तह, आयोजना कार्यालय र निर्माण व्यवसायीलाई आवश्यक समन्वय र पहल गर्न आग्रह गर्ने जनाएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया